असार मासको एक सुनसान मध्येरात । त्यतिखेर भाते निन्द्रा पातलिंदै गएर म तन्द्रामा उत्रेको थिएँ । यसो कोल्टो फेर्न लाग्दा सुनें, ढोका ढकढक्याएको आवाज आइरहेछ । के होला त्यो ? हावाको कडा झोंक्का ? भोको कुकुर ? कि चोर ? आः जेसुकै होस्, म निदाउन खोजें । तर ढोकाबाट कसैको स्वर आएझैँलाग्यो, “अङ्कल ! अङ्कल !”
मेरो मनमा आशङ्का र डरले अड्डा जमाएको थियो । मध्ये रातमा यतिखेर को हो त्यो बाहिर ? दकस मान्दै ढोका थोरै उघारेर यसोक्क बाहिर चियाएँ । कोही बिरानो तन्नेरी त्यहाँ धमिलो छायाँझैँउभिएको रहेछ ।
“त्याँ को हो ?”
“म, अङ्कल ।”
“को म ?”
“म दीपेन्द्र ।”
हँ दीपेन्द्र ? युवराज दीपेन्द्र मेरो घरमा ? उसमाथि यो चकमन्न मध्ये रातमा ? मलाई अचम्मको सपना देखेजस्तो लाग्यो । छाँटले त्यो ठिटो एकदमै डराएको थियो । चङ्ख हुँदै पछि फर्केर तर्सेका आँखाले उसले यसो वातावरण नियाल्यो । अनि अताल्लिंदै हुरीझैँहान्निएर ऊ भित्र पस्यो ।
म वाल्ल परें । चिन्नु न जान्नु, त्यो त भित्र पसिनै सक्यो । बाहिर लखेटुँ, त्यो डराएजस्तो छ । नलखेटुँ त्यो को हो, त्यो के हो ? म परें बडो धर्मसङ्कटमा ।
“भन, तिमी साँच्चिनै को हौ ?”
“म दीपेन्द्र, अङ्कल ।”
“कुन दीपेन्द्र ? युवराजधिराज ?”