राजपा नेताहरु विधेयक दर्ता गर्न गएनन्, संसद्का महासचिव पर्खेको पर्ख्यै

महासचिव डा. भरतराज गौतम।

संविधान संशोधनका लागि गैरसरकारी विधेयक संसद् सचिवालयमा छाडेर हिँडेका राजपा नेताहरु आइतबार दर्ताका लागि संसद सचिवालय नैै गएनन् । त्यसैले उक्त विधेयक आइतबार पनि दर्ता भएन । संसद्का महासचिव डा. भरतराज गौतम भने राजपा नेताहरु आउने भनेर बिहान १० बजे नै संघीय संसद् सचिवालय पुगेर बसेका थिए ।

गैरसरकारी विधेयक निर्धारित ढाँचामा नलगी शुक्रबार ठाडो निवेदन लिएर गएका कारण दर्ता हुन नसकेको उक्त विधेयकलाई ‘तीन महले’ फर्म्याटमा तयार पारी आज १० बजे नै दर्ता गर्ने तय भएको थियो । 

त्यही अनुसार, ११ बजे संसद् सुरु हुने भए पनि महासचिव गौतम त्यसअघि नै सिंहदरबार पुगेका थिए । सदन सुरु गर्न बानेश्वर पुगेका महासचिव गौतम त्यसपछि पुनः सिंहदरबार गएका थिए । तर, कोही नआएपछि उनी फर्केको सचिवालय स्रोतले जनाएको छ।

अपरान्ह सिंहदरबार पुगेका सो दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्ण समाजवादीको संसदीय दलको कार्यालयमा राजेन्द्र श्रेष्ठसँग भेट गरी फर्केका थिए ।  काेही पनि नेता संसदीय दलकाे कार्यालय नआएको राजपा संसदीय दलका एक कर्मचारीले बताए ।

संसद्का कानूनी सल्लाहकार अर्जुन खड्काले उक्त विधेयक शुक्रबार ‘फर्म्याट’ नमिलेकाले दर्ता हुन नसकेको बताउँदै दर्ता गर्न कुनै पनि कानूनी बाधा नभएको बताए । अपरान्ह उनले आश्चर्य व्यक्त गरे, ‘बिहानै दर्ता गर्ने कुरो थियो, अहिलेसम्म त भइसक्नुपर्ने ?’ अर्को काममा व्यस्त रहेका उनले दर्ता गर्न कुनै समस्या नभएको बताएका थिए ।
राजपासँग  पार्टी एकता घोषणा गरिसकेको समाजवादी पार्टीले भने राजपाको संशोधनमा सहमति जनाइसकेको छैन । राजपाको गैरसरकारी संविधान संशोधन विधेयक दर्ता गर्न शुक्रबार जाँदा पनि समाजवादीका कोही पनि गएका थिएनन् । राजपा र समाजवादीका नेताहरुबीच पद व्यवस्थापनको कुरा नमिल्दा पार्टी एकता नै कानूनी रुपमा हुन सकेको छैन । 

विधेयक प्रस्तुत, यस्तो छ प्रक्रिया 
उता, प्रतिनिधिसभामा सरकारी विधेयक भने टेबल भएको छ । टेबल गरिएको तीस दिनभित्र भोलिको गोरखापत्रमा उक्त विधेयक प्रकाशित हुनेछ । त्यसको सात दिनपछि सैद्धान्तिक छलफलका लागि प्रस्तुत हुने, ‘विचार गरियोस्’ भन्ने प्रस्ताव पारित गरेपछि संशोधनका लागि ७२ घन्टाको समय दिइने छ । एउटा मात्र बुँदा भएकाले त्यसमा संशोधन नपर्ने भएकाले त्यसपछि समिति गठन नहुने सीधै मतविभाजन गरी पारित गरिने छ । यसका लागि जेठ महिनाभरिको समय लाग्ने छ । 

प्रकाशित मिति: : 2020-05-31 20:17:27

प्रतिकृया दिनुहोस्