विगत तीन महिनादेखि सारा विश्वमा अति प्रज्वलनशील इन्धनमा सल्केको आगोझैं एक्कासी फैलिएको कोरोना भाइरस (कोभिड–१९) नामक रोगबाट सम्पूर्ण विश्व आक्रान्त भइ आच्छु..ऐयाको स्थितिमा पुगिसकेको तथ्य जगजाहेर छ।
यसको आतङ्कबाट सम्पूर्ण विश्व त्राहीमाम् तथा भूइँमा इन्तु न चिन्तु अवस्थामा सोत्तर भइसकेको छ। हालसम्म विश्वभरिका विभिन्न देशका नागरिकहरू अनाहकमा तीन लाखको हाराहारीमा आफ्नो प्राण गुमाइसकेका छन्, लाखौं लाख मानिसहरू यस भाइरसबाट संक्रमित छन् भने केही हजार मानिसहरू यस भाइरसमाथि विजय पाएर अस्पतालबाट सकुशल घर पनि फर्किसकेका छन्।
अस्पतालमा उपचाररत विरामीमा कोही धनी छन् कोही गरिब पनि छन्। शिशु पनि छन्, युवा पनि छन्, अझै वृद्ध–वृद्धा पनि छन्। यो रोगले धनीलाइ मात्र आक्रान्त र क्षति पुर्याउँछ, गरिबलाइ क्षति पुर्याउँदैन भने छैन। यस भाइरसबाट कुनै पनि वयका प्राणीलाई क्षति पुर्याउन बिराएको हालसम्म देखिएको छैन।
शिशु, युवा तथा वृद्ध–वृद्धाको रासमा उधिनेर यस भाइरसले कुनै पनि किसिमको भेदभाव गरेको तथ्य फेला परेको छैन। नेपालका कविशिरोमणी पं.लेखनाथ पौडेलले लेखेको ‘काल महिमा’ कवितामा भने झै– थुप्रोमा उधिनी मिठो र नमिठो रोजे छान्दैन त्यो। राजा रंक सबै समान उसका वैषम्य गर्दैन त्यो। यसै क्रममा हालसम्म सम्पूर्ण विश्व लगभग हतासको अवस्थामा पुगिसकेको अवस्थामा देखा परिसकेको छ।
यस स्थितिको भयावहता झन के पनि कुराले उग्रता लिएको छ भन्ने हालसम्म यसको उग्रतालाई मत्थर वा समाप्त पार्ने कुनै पनि किसिमको औषधि वा खोपको अनुसन्धान भइसकेको छैन। सम्पूर्ण विश्वका नागरिकको जनजीवन प्रायः ठप्प छ।
कुनै पनि किसिमको कल कारखाना, उद्योग धन्दा वा कुनै पनि किसिमको आर्थिक गतिविधि गतिहीन अवस्थामा पुगिसकेका छन्। कुनै पनि राष्ट्रको उज्वल भविष्यका प्रतीक युवा पिढी तथा विद्यार्थिको पठनपाठन ठप्प भइसकेको तथा उनीहरुको भविष्य अन्धकारमय देखिदै छ। विश्वका धेरैजसो राष्ट्रमा सरकारद्वारा सम्पूर्ण लकडाउनको घोषणा भएको तथा ती राष्ट्रका नागरिकहरू त्यस लकडाउनको कडा पालना गरिरहेका छन्।
यस्तो अवस्थाबाट सम्पूर्ण विश्व गुज्रिरहेको बेला हाल आएर विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको टीका वा औषधिको खोज भइनसकेको हुनाले यो भाइरस हामीसितै जीवनभरि रहिनै रहनेछ।
विगतमा फैलिने बिफर, हैजा, निमोनिया, टी.बी. जस्ता महामारीको टीका तथा औषधिको अविष्कार भएकाले ती महामारीको रोकथाममा सहयोग पाइएको थियो तर केही महामारीको उचित औषधि वा टीका फेला परेको थिएन जसको कारण केही प्राणघातक रोगहरु मानिसको जीवनमा आजसम्म पनि विद्यमान छ।
उदाहरणको रूपमा एच.आइ. भी. एड्स, इबोला भाइरस, वा विभिन्न खाले फ्लूलाई लिन सकिन्छ। ती भाइरस जनित रोगको उन्मूलन आजसम्म पनि भइनसकेको अवस्था छ। ती रोगबाट जोगिन विभिन्न खाले सावधानी तथा उपचारका साथै बस्नुपर्ने बाध्यता छ। अब आएर सम्पूर्ण मानव समाजले यस अवाञ्छित तथा डरलाग्दो साथीसित बस्नुपर्ने अनुकूलता उत्पन्न गर्नुपर्ने अवस्था आइपरेको छ। यस अवस्थामा यस अवाञ्छित तथा डरलाग्दो साथीसित बस्नुपर्ने बाध्यता भएको हुनाले यसको प्रभावबाट जोगिनको लागि दृढ सावधानी, चुस्त सतर्कता, दृढ इच्छाशक्ति तथा धैर्यरूपी अस्त्र धारण गरि राख्नुपर्ने हुन्छ।
यसबाहेक दैवीय आस्थाको संबल त हामीसित छँदै छ, त्यो संबल झन दृढ होवोस्। यसको भयावहताको सामना गर्नकोलागि यी सम्पूर्ण अस्त्र–शस्त्रहरुको साथ कोरोना भाइरसको साथमा जीवन यापन गर्ने बानी बसालौं। यस्तो डरलाग्दो साथी कहिले पनि शत्रुबाहेक मित्रु हुनै सक्दैन। यो अचूक मन्त्र कहिले पनि बिर्सौं। यसलाई सखाप पार्ने औषधि वा टीकाको खोजिमा अहोरात्र खटिपरेका विश्वभरिका वैज्ञानिकको भागिरथ प्रयासको कारणले निकट भविष्य मै केही सुखद परिणाम अवश्य नै आउने छ, आशा गरौं। विभिन्न धार्मिक ग्रन्थहरुमा वर्णन गरिएको अनुसार सत्ययुग, त्रेता, द्वापर तथा कलियुगसम्मका मानिसहरुले न सुनेको, न देखेको, न चिताएको यस प्रकारको भाइरसको आक्रमण हेर्ने, भोग्ने तथा यस प्रकारको डरलाग्दो साथीसित जीवन बिताउने सौभाग्यशाली प्रतिनिधि हामी मात्र हौं कि? हामी वास्तवमै यस युगको भाग्यमानी प्रतिनिधि हौं कि अभागी प्रतिनिधि....? यो क्षूद्र पंक्तिकारले यसको निक्र्यौल त खुट्याउन सकेन है..!?