बाजुराको आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु

बाजुराको जिल्ला अस्पतालको आइसोलेसनमा २ वर्षीया बालिकाको मृत्यु भएको छ। स्वास्थ्यमा समस्या आएपछि बाजुराको जिल्ला अस्पतालमा भर्ना गरिएको थियो।

उपचारकै क्रममा शनिबार राति करिब २ बजे उनको मृत्यु भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुपचन्द्र बिकले बताए।

उनीहरु भारतबाट कैलालीका गौरिफन्टा नाका हुँदै ८ दिन पहिले आएका हुन्। गाउँको क्वारेन्टाइनमा ४ दिन बसेर समस्या आएपछि उनलाई अस्पताल ल्याइएको सुपरिटेन्डेन्ट डा बिकले जानकारी दिए।

‘१५ गते बालिकालाई अस्पताल भर्ना गरिएको थियो,’ उनले भने,‘भारतमा आउँदादेखि नै बालिकालाई ज्वारो आउने, बान्ता हुने गरेको थियो।’  बुडिगंगा १ को धुरालचैनमा क्वारेन्टाइनमा रहँदा सामान्य औषधि गर्दा पनि उनलाई निको नभएपछि अस्पताल ल्याइएको हो।

 ‘अस्पताल ल्याइ पुराउँदा बालिकामा कडा निमोनिया रहेको थियो। उनलाई स्वास फेर्न कठिन थियो र मुटुको चाल बढेको थियो,’ उनले भने। शनिबार बिहान बालिकासँगै उनका बुवा र आमाको पनि पीसीआर परीक्षणको लागि स्वाव संकलन गरिएको उनले बताए।
 

प्रकाशित मिति: : 2020-05-31 13:05:01

प्रतिकृया दिनुहोस्