आजको बैठकमा संविधान संशोधन विधेयक पेश गर्ने तयारी

बिएल संवाददाता

काठमाडाै‌ं

प्रतिनिधिसभाको आज आइतबारको बैठकमा सरकारले संविधान संशोधन विधेयक पेश गर्ने तयारी गरेको छ। कानुनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संविधान संशोधन विधेयक पेश गर्ने संसदको सम्भावित कार्यसूची छ।

निशान छापमा नेपालको अध्यावधिक नक्सा राख्नका लागि संविधान संशोधन गर्न लागिएको हो। गत बुधबार सम्भावित कार्यसूचीमा परेर अन्तिम कार्यसूची तय गर्दा झिकिएको यो विधेयक आइतबारको सम्भावित कार्यसूचीमा फेरि राखिएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन प्रस्तावलाई सर्वसम्मत पारित गराउन गृहकार्य गर्नुपर्ने भनेपछि र प्रमुख प्रतिपक्षी कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गर्छौं भनेपछि यही जेठ १४ गतेको कार्यसूचीबाट संविधान संशोधनको विषय झिकिएको थियो।

प्रमुख प्रतिपक्षी कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले संविधान संशोधनको पक्षमा उभिने निर्णय गरेको छ।

सरकारले यही जेठ ९ गते दर्ता गरेको संशोधन विधेयक आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा प्रस्तुत हुने गरी सभामुख अग्नि सापकोटाले संभावित कार्यसूची राख्न अनुमति दिएको संसद सचिवालयले जनाएको छ।

कानुनमन्त्री शिवमाया तुम्बाहाम्फेले आइतबार बिहान ११ बजे बस्ने बैठकमा लिम्पियाधुरासहितको नेपालको नक्सा संविधानको अनुसूची–३ मा समावेश गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछिन्।

संविधानको अनुसूचीमा फरक नक्सा पर्न गएकाले सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नयाँ नक्सा राख्ने प्रस्तावसहित विधेयक ल्याएको छ।


 

प्रकाशित मिति: : 2020-05-31 07:44:04

प्रतिकृया दिनुहोस्