पर्वतको कुश्मा नगरपालिकाले सार्वजनिक व्यायामशाला निर्माण गरेको छ।
बजारको बाक्लो बस्ती र व्यस्त दैनिकीका कारण मानिसले व्यायाम गर्न सहज बनाउन नगरपालिकाले सार्वजनिक चौरमा सो स्थल निर्माण गरेको वडाध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिए।
नगरपालिकाले बजारको खानपानबाट शरीरलाई स्वस्थ राख्न अनिवार्य व्यायाम आवश्यक रहेकोले वडा नं ७ को गोदामचौरमा सार्वजनिक व्यायामस्थल निर्माण गरेको बताउदैं उनले भने, 'गोदामचौरको नौ रोपनी क्षेत्रफल रहेको सार्वजनिक चौरलाई उपयोग गरेर सो निर्माण गरेका हौं।'
अव्यवस्थित रहेको चौरलाई सम्माएर समथर बनाइएको छ। वरिपरि तारजाली लगाएर खुलाचौरलाई खेलमैदानका रूपमा विकास गरिएको छ।
एक दर्जनभन्दा बढी सामग्रीसहित पार्क निर्माण गरेर सार्वजनिक व्यायामस्थल निर्माण गरेको भन्दै पौडेलले भने, 'भलिबल, क्रिकेट तथा चमच्चा पिङसहितको सबै वर्गमा मानिसले उपयोग गर्न सक्ने गरी निर्माण थालिएको छ।'
बजारमा घरभित्र रहेका व्यायामशालामा शुल्क लाग्ने र सर्वसाधरणको पहुँचमा नपुग्ने भन्दै नगरवासी तथा सर्वसाधरणका लागि सार्वजनिकस्थलमा व्यायमस्थल निर्माण गरिएको नगरप्रमुख रामचन्द्र जोशीको भनाइ छ।
नगरपालिकाले रु १० लाख बजेट खर्चिएर चौरमा व्यायामशालासहित अन्य पूर्वाधार निर्माण गरेको जनाएको छ। बजार नजिकैको उच्च भेग गोदाममा रमणीय दृश्यसहित वनको हरियालीसँगै शारीरिक अभ्यास गर्न पाउने भएपछि स्थानीय पनि खुशी देखिन्छन्। धवलागिरिमै पहिलोपटक यसरी सरकारी तवरबाट खुला व्यायमस्थल निर्माण भएको हो।
व्यायामशालामा व्यायम सामग्री जडानको काम भइरहेको छ। यो मैदानलाई खेलमैदानका रूपमा विकास गरिए पनि जारी लकडाउनको बेला भने सबै खेलकूद र व्यायामका कार्यक्रम भने पूर्णतः रोक लगाइएको वडाध्यक्ष पौडेलले बताए।