बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले संक्रमितकाे भर्ना लिन नमान्नु लापरवाहीको पराकाष्टा: मन्त्री घिमिरे

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले झापाको कचनकवल गाउँपालिकाबाट धरान पठाइएका काेराेना भाइरसका संक्रमितलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नगर्नु लापरवाहीको पराकाष्टा भएको टिप्पणी गरेका छन्।

धरान पठाइएका २७ जना संक्रमितलाई प्रतिष्ठानले भर्ना नगरी रातभर बाहिरै राखेपछि उनले यो प्रतिकृया दिएका हुन्। 

शुक्रबार राति करिब १० बजे झापाबाट २७ जना कोरोना संक्रमित धरान आइपुगेका थिए। अस्पतालले भर्ना नलिएपछि उनीहरु रातभर गाडीमै बसिरहन बाध्य भएका थिए। संक्रमितहरु ल्याएर आएको गाडीलाई प्रतिष्ठानको पार्किङ क्षेत्रमा राखिएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६७ जना संक्रमित छन्। अस्पतालमा तयारी अवस्थाको बेड ७० वटा मात्र भएकाले भर्ना लिन समस्या भएको प्रतिष्ठानका प्रवक्ता डा. निर्देश सापकोटाले बताए।

तर बिहीबार अस्पताल प्रशासनसँगको छलफल गर्दा उपकुलपति डा‍. ज्ञानेन्द्र गिरीले अस्पतालका २०० बेडमध्ये १५० वटा खाली रहेको आफूलाई जानकारी दिएको उनले बताए।  ‘अस्ति छलफल गर्दा डेढ सय वेड खाली रहेको उपकुलपति डा‍. ज्ञानेन्द्र गिरीले जानकारी दिनुभएको थियो। वेड खालि छैन वा संक्रमितलाई राख्न समस्या भए मलाई भन्नुपर्छ,  यो लापरवाहीको पराकाष्टा हो,’उनले भने। 

संक्रमण बढ्दै गएका कारण बिहीबार मन्त्री घिमिरेले थप तीन सय बेड तयार गर्न प्रतिष्ठानलाई निर्देशन दिएका थिए। तर शुक्रबार आएका विरामीलाई प्रवेश गर्न नदिइएको जानकारी पाएपछि मन्त्री घिमिरे आफैं धरान पुगेका छन्। 

यता प्रतिष्ठानले भने गाउँपालिकाबाट समन्वय नगरी आएका कारण समस्या भएको बताएको छ। प्रतिष्ठानले झापाबाट संक्रमितहरु आएपछि रातभर बेडको व्यवस्था गरेको र अब भर्ना लिइने जानकारी गराएको छ। 

प्रकाशित मिति: : 2020-05-30 09:25:16

प्रतिकृया दिनुहोस्