फ्रान्सले कोरोना भाइरस संक्रमितकाे उपचारका लागि प्रयाेग गरिने हाइड्रोक्सिक्लोरोक्वीन औषधीमाथि औपचारिक रुपमा प्रतिबन्ध लगाएको छ।
साधारणतया हाइड्रोक्सिक्लोरोक्विन र क्लोरोक्विनको प्रयोग मलेरियाका रोग जस्तो अटोइम्युन बिरामीमा प्रयोग गरिन्छ।
याे औषधि कोरोना भाइरसको उपचारमा हानिकारक रहेको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले बिरामीलाई प्रयोग गर्न अस्थायी रुपले प्रतिबन्ध लगाएको छ।
फ्रान्सका दुईवटा स्वास्थ्य निकायहरु एचसीएसपी र एएनएसएमले कोविड–१९ को उपचारमा हाइड्रोक्सिक्लोरोक्वीनको प्रयोग गर्न नहुने सल्लाह दिएको एक दिनपछि फ्रान्सले उक्त निर्णय गरेको हो।
फ्रान्समा यस औषधिको क्लिनिकल परीक्षणमाथि पनि प्रतिबन्ध लगाइएको छ। फ्रान्सको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै कोविड–१९ का विरामीलाई औलो विरुद्धको औषधि हाइड्रोक्सिक्लोरोक्वीन सिफारिस गर्न प्रतिबन्ध लगाइएको जनाएको छ।
कोरोनासँग बच्न भनेर जहाँ हाइड्रोक्सिक्लोरोक्विन औषधि दिइएको छ, त्यहाँ मृत्युको खतरा धेरै रहेको निष्कर्षयुक्त एक अनुसन्धान रिपोर्ट हालै साइन्स जर्नल ‘ल्यासेन्ट’मा प्रकाशित भएको थियो।
यो अध्ययन निष्कर्ष सार्वजनिक भएपछि डब्ल्यूएचओको सोलिड्यारिटी ट्रायल (डब्ल्यूएचओको निगरानीमा भइरहेको कोरोना क्लिनिकल ट्रायल)को कार्यकारी समूहको बैठक बसेको थियो।
१० सदस्य देशका प्रतिनिधि रहेको यो समूहको बैठकपछि हाइड्रोक्सिक्लोरोक्विन औषधिसँग सम्बन्धित विश्वभर भइरहेको क्लिनिकल ट्रायललाई अस्थायी रुपमा रोक्ने निर्णय डब्ल्यूएचओले गरेको थियाे। साथै यो औषधि प्रयोग गर्दाको नतिजा पनि विश्लेषण गर्ने निर्णयसमेत भएको छ।
यसअघि नै फ्रान्सले गत मार्चमा यस औषधिलाई कोविड–१९ का विरामीले सेवन गर्न सक्ने भन्दै अनुमति दिएको थियो।
तर पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोले कोरोना भाइरसको उपचारका लागि हाइड्रोक्लोरोक्वीनको प्रयोगलाई प्रबद्र्धन गरिरहेका छन्। दुबै देशमा कोरोना संक्रमितको संख्या बढी छ।