मे २८ अर्थात ‘अन्तर्राष्ट्रिय महिनावारी दिवस’। आज याे दिवस मनाइरहँदा मनमा विभिन्न प्रश्नले डेरा जमाएकाे छ। के हाम्रा दिदीबहिनी वा म आफै पनि याे प्राकृतिक प्रक्रियाकाे विषयमा खुलेर चर्चा गर्न सकिरहेका छाै त?
महिनावारीकाे कुरा गर्दा यस वर्ष ‘मेन्सुरेसन टक’ र ‘डिग्निटी फर्स्ट’ काे नारासहित विश्वका सबै महिलाहरुले ‘अन्तर्राष्ट्रिय महिनावारी दिवस’ मनाइरहेका छन्।
सबैलाई थाहा भएकाे विषय हाे, महिनावारी एक प्राकृतिक प्रक्रिया हो, जुन हरेक महिलाको प्रजनन् प्रक्रियासँग जोडिएको हुन्छ। यो भनेको शारीरिक परिवर्तन मध्ययको एक परिवर्तन हो। साधारणतय महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरु हुन्छ र हरेक महिना देखा पर्छ तथा ४५ देखि ५० वर्षको उमेर सम्म रोकिन्छ। यो हाम्रो शरीरमा भएको हार्मोन्सको कारणले हुन्छ। महिनावारीको समयमा अत्याधिक रक्तस्राव, हात खुट्टा झम्झमाउने, वाकवाक लाग्ने, आलस्यता आउने, थकाई महसुस हुने गर्दछ।
महिनावारी हुनु भनेको कुनै पाप होइन, यो महिला हुनुको विशेषता हो। यसलाई सामान्य रुपमा नलिएको कारण धेरैले दु:ख भोगिरहेका हुन्छ्न्।
समाजिक दृष्टिकोण
आजको २१ औं शताब्दीमा पनि हाम्रो समाज महिनावारीकाे बिषयमा खुलेर कुरा गर्न हिचकिचाइँ रहेको हुन्छ। आजै पनि महिनावारीको समस्याले छुवाछुतको प्रथा धेरै ठाउमा देख्छौ, आफनै घरसमेतमा देख्छौ, महिनावारी भएको बेलामा यो कोठामा नछिर, भान्सामा नपस् आदि सुन्ने गर्छौ।
महिनावारीलाई अन्धविश्वास, धार्मिक एवं नाकारात्मक दृष्टिकोणले हेर्ने गर्छौ। छाउपडी प्रथा त क्रमश: हट्दै छ, तरपनि यसका धारणा फेरिएका छैनन्।
महिनावारीको बेलामा अचार छोयो भने बिग्रिन्छ रे, यो समयमा महिलाहरु फोहरी हुन्छन् अरे, अशुद्ध हुन्छन् भन्ने सोच समाजमा विकसित भएको छ, जुन एकदम गलत हो। अझै पनि बिकट जिल्लामा महिनावारीको समयमा बिद्यालय जानबाट किशाेरीहरु बन्चित गरिन्छन्।
चेतनाको अभाव र सामाजिक धार्मिक कुरीतिको कारण महिलाहरुले आझैपनि हिनताबोध महसुस गर्ने गरेका छन्।
महिनावारीमा सरसफाईमा ध्यान राख्नु एकदम आवश्यक हुन्छ, यसमा ध्यान नदिए विभिन्न किसिमका समस्या र रोग लाग्न सक्छ। महिनावारीमा सरसफाईमा ध्यान नदिँदा पाठेघरको क्यान्सर समेत हुन सक्छ। महिनावारीको बेलामा देखापर्ने समस्याहरु जस्तै तल्लो पेट दुख्नु, थकान महसुस हुनु, पेट कराउनु आदि हुन्छ ।
यी सबै समस्यालाई नियन्त्रण गर्न निम्न लिखित कार्यहरु गर्न जरुरी छ।
सर्वप्रथम, महिनावारीको समयमा सरसफाईमा ध्यान दिनुपर्ने हुन्छ। सरसफ़ाईको लागि स्यानेटरी प्याडको प्रयोग गर्नुपर्छ, जसलाई ४ घण्टाभन्दा बढी प्रयोग गर्नु हुँदैन र चेन्ज गर्नुपर्छ। नेपालको धेरै बिकट गाउँमा अझै पनि प्याडको सट्टा कपडाको प्रयोग गरेको पाइन्छ। यदि कपडा प्रयोग गर्ने हो भने सुतीको सफा कपडाको प्रयोग गर्न सकिन्छ। कपडालाई राम्रोसँग धोएर घाममा सुकाएर मात्र प्रयोग गर्नु उपयुक्त हुन्छ। यसो गर्दा मात्र इन्फेक्सनबाट बचन सकिन्छ।
महिनावारीको बेला प्रयोग गर्नको लागि छुट्टै अन्डरवेयर राख्नुपर्छ। प्रयोग गरेका प्याडको व्यवस्थापन राम्रोसँग गर्नुपर्छ।
आफ्नो गोप्य एवम् संबेदनशील अंगलाई दिसा-पिसाबपछि हरेक पटक सफा गर्नु उपयुक्त हुन्छ।
तल्लो पेट दु:खेको र ढाड दु:खेमा तातोपानीले सेक्नुपर्छ वा तातोपानीमा खुट्टा डुबाएर बस्न पनि सकिन्छ।
नियमित रुपमा आफूले गर्ने कार्य गर्नुपर्छ, व्यायाम पनि सधै गर्नुपर्छ।
आफ्नो शरीरलाइ जुन अवस्थामा राख्दा आराम हुन्छ त्यसरी बस्नुपर्छ।
साथै महिनावारीको बेला देखिने शारीरिक समस्याले आफू मानसिक रुपमा कमजोर हुनु हुँदैन।
महिनावारीको समयमा बढी रक्तास्राब भयो भने, धेरै पेट दु:खेमा, महिनामा २ पटकसम्म महिनावारी भएमा वा अरु कुनै समस्याहरु देखा परेमा तुरुन्त महिला प्रसुति रोग बिशेषज्ञसँग परामर्श गर्नु उचित हुन्छ।
अन्त्यमा महिनावारी भनेको महिलाको लागि श्राप होइन यो त महिलाको लागि बरदान हो। सबै मिलेर महिनावारीको पक्षमा आवाज बनौ, आफ्नो सोच बदलौ र स्वस्थ रहौं।
(घिमिरे ‘अरु दिनमा घरको रानी र यो पाँच दिन किन मैले छोएको पानी नखानी’ कि लेखिका हुन्।)