गणतन्त्र दिवसको अवसरमा प्रदेश २ बाट १२ जना कैदी रिहा

१३ औँ गणतन्त्र दिवसको अवसरमा प्रदेश २ बाट कुल १२ जना कैदी रिहा हुँदैछन्। प्रदेशमा रहेको वीरगन्ज कारागारबाट ७ जना, सप्तरी कारागारबाट २ जना, सिराहा कारागारबाट १ जना र महोत्तरी कारागारबाट २ जना गरी जम्मा १२ जना कैदी गणतन्त्र दिवसको अवसरमा रिहा भएको पर्सा कारागारले सूचना जारी गर्दै जानकारी दिएको छ।

मन्त्रिपरिषदले गृह मन्त्रालयको प्रस्तावमा गणतन्त्र दिवसका उपलक्ष्यमा ५० प्रतिशत कैद सजाय भुक्तान गरिसकेका कैदीको बाँकी कैद सजाय मिनाहा गरी रिहा गर्ने निर्णय गरेको हो। जसमध्ये रिहा हुनेमा असल चाल चलन भएको र नकारात्मक सूचीको मुद्दामा नपरेको कैदीहरुलाई मात्र रिहा गरीएको पर्सा कारागार प्रमुख श्रवण पोखरेलले बताए ।

वीरगन्ज कारागारबाट रिहा हुनेमा सवारी ज्यान मुद्दाका ३ जना, कर्तव्य ज्यान मुद्दाका  १ जना ,दस्तखत किर्ते मुद्दा का १ जना, बन पैदावार मुद्दाका १ जना , अङग्भङ्ग मुद्दाका १ जना रहेको पर्सा कारागारको सूचनामा जनाइएको छ।  ‘राष्ट्रिय उत्सवको अवसरमा ५० प्रतिशत कैद भुक्तान गरिसकेका कैदीलाई रिहा गर्न सकिने कानुनी प्रावधान छ । तर, गम्भीर प्रकृतिको अपराधमा सजाय भुक्तान गरिरहेका कैदीले भने यस्तो कैद सजायको छुट पाउने छैनन्’,उनले भने ।’

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहिबार देशभरीकै कारागारबाट  २ सय ३३ कैदी रिहाको बाँकी कैद सजाय मिनाहा गरेकी हुन्।

प्रकाशित मिति: : 2020-05-28 09:19:04

प्रतिकृया दिनुहोस्