प्रदेश नं. २ मा विशेष आर्थिक प्याकेज उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग

मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं. २ लाई विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग माग गरेका छन्।

मुख्यमन्त्री राउतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखी कोरोना विरुद्धको लडाईका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गरेका हुन्।

उनले भारतसँगको खुला सीमाना तथा भारतमा रोजगारी गर्दै आएका नागरिकको स्वदेश फिर्ताले प्रदेशमा कोरोनाको संक्रमण बढ्ने खतरा रहेको अवस्थामा हालको व्यवस्थापन अपुग देखिएकोले थप व्यवस्थापनका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गरेको जानकारी दिए।

मुख्यमन्त्री राउतले लामो लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या भोगिरहेका नागरिकलाई प्रदेश सरकारले स्थानीय तहको समन्वयमा दुई चरणको राहत वितरण गरे पनि लकडाउन थपिदै जाँदा प्रदेशको भौगोलिक अवस्था, जनसांख्यीक बनोट, मानव विकास सूचकाङ्क र सामाजिक विकासको अवस्था समेतका आधारमा प्रदेश सरकारले मात्र खाद्यान्न सहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण रहेकोले संघीय सरकारबाट ठोस कार्यक्रम ल्याउन आग्रह गरेका छन्।

उनले कोरोना परीक्षणका लागि प्रदेश सरकारले तीन स्थानमा रियल टाइम पिसिआर सञ्चालन गरे पनि भिटिएम किटको अभावमा अपेक्षीत परीक्षण गर्न नसकिएकोले संघ सरकारलाई यथाशीघ्र भिटिएम किट, आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउन समेत माग गरेका छन्। यसका साथै वैदेशिक रोजगारीमा रहेका प्रदेशका करिब १० लाख युवा स्वदेश फिर्ता हुन सक्ने सम्भावनालाई दृष्टिगत गर्दै प्रदेशमा युवा रोजगार कार्यक्रम, कृषि केन्द्रित विशेष योजनाका लागी समेत विशेष आर्थिक प्याकेज उपलब्ध गराउन मुख्यमन्त्रीको माग रहेको छ ।

प्रकाशित मिति: : 2020-05-28 08:49:27

प्रतिकृया दिनुहोस्