राष्ट्रपतिबाट २४१ जनाकाे कैद सजाय र दण्ड जरिवाना मिनाहा

बिएल संवाददाता

काठमाडाै‌ं

 सरकारले २ सय ४० जना कैदी बन्दीको सजाय मिनाहा गरेकाे छ। गणतन्त्र दिवसको अवसर पारेर सरकारले केन्द्रीय कारागार, डिल्लीबजार करागार,नख्खुसहित देशका विभिन्‍न करागाराबाट कैदीहरुको बाँकी कैद सजाय मिनाहा गरेकाे हाे। 

यस्तै आठ जना व्यक्तिहरुको कैद, दण्ड जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी पनि गरिएको छ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय मिनाहा र दण्ड जरिवाना माफी दिएकी हुन्।

रामबहादुर भन्ने रमेश विश्वकर्मासमेतका २३३ जना कैदीहरुको बाँकी कैद सजाय माफी मिनाहा भएको राष्ट्रपति कार्यालय शितल निवासबाट जारी विज्ञप्तिमा जनाइएकाे छ।

यसैगरी कपिल देव साह कानूसमेतका आठ जना व्यक्तिहरुलाई बिभिन्न अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायबाट बिभिन्न मितिमा भएका फैसलाबमोजिम लागेको कैद, दण्ड, जरिवाना, विगो, सर्वस्वलगायतको सजाय माफी भएको शितल निवासबाट जारी सूचनामा उल्लेख छ।

गणतन्त्र दिवससहित फागुन ७ गतेको प्रजातन्त्र दिवस र असोज ३ गते संविधान दिवसको अवसर पारेर पनि कैदीबन्दीहरुको सजाय मिनाहा गरिँदै आएको छ। गृह मन्त्रालयले विभिन्‍न अपराध अभियोगमा अदालतबाट दोषी ठहर भइ कैद भुक्तान गरिरहेकामध्ये 'नेगेटिभ लिस्ट'मा नपरेका बन्दीलाई रिहा गर्न गर्ने गरेकाे छ।

प्रकाशित मिति: : 2020-05-28 07:15:01

प्रतिकृया दिनुहोस्