विदेशमा रहेका नेपालीलाई सहयाेग गर्न कुटनीतिक पहल गर्दैछाैं: परराष्ट्रमन्त्री

बिएल संवाददाता

काठमाडाै‌ं

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसका कारण विदेशमा रहेका नेपालीको समस्या समाधान गर्न सरकार प्रयासरत रहेको बताएका छन्। 

नेकपा काठमाडौं क्षेत्र नम्बर १ का इन्चार्ज अनिल शर्मा नेतृत्वको टोलीले बुधबार परराष्ट्र मन्त्रालयमा यसबारे ध्यानाकर्षण गराएपछि मन्त्री ज्ञवालीले यस्तो जानकारी दिएका हुन्। उनले यसका लागि सरकारले कुटनीतिक पहलका साथै अन्य आवश्यक तयारी गरिरहेको बताए।

भेटका क्रममा शर्माले काठमाडौंसहित देशभरबाट हाल अध्ययन तथा रोजगारीको सिलसिलामा विदेशमा पुगेका नागरिकमा समस्या परेकाले परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराएका थिए। 

सो क्रममा मन्त्री ज्ञवालीले विदेशमा अध्ययन एवम् रोजगारीमा रहेका नेपालीहरु कोरोना महामारीको कारण समस्यामा परेको बारे सरकार जानकार रहेको र उनीहरुको समस्या समाधानमा लागिपरेका बताएका थिए। 

अध्ययन एवम् रोजगारीको सिलसिलमा जापान, अस्ट्रेलिया, क्यानडा, अमेरिकासहित युरोपियन मुलुकमा पुगेकाहरूलाई प्राथमिकतामा आधारमा उद्दार गर्ने तथा बाँकीलाई एक वर्षसम्मको भाडा छुटका लागि कुटनीतिक तबरबाट सम्बन्धित देशसँग कुराकानी भइरहेको उनले जानकारी दिए।

 यस्तै  नेपालबाट खर्च पठाउन सहज गर्ने, विदेशमै पनि तत्काल फी तिर्न नपर्ने व्यवस्था गरिदिन पहल गर्नै जस्ता कार्य भइरहेको उनको भनाइ छ।

यस्तै खाडीमा पुगेका युवाहरूका लागि  रोजगारी, राहत, उपचार र फिर्ता ल्याउने विषयमा छलफल भइरहेको भन्दै उनले समस्यामा परेकालाई सरकारले स्वदेश नै फर्काउने बताए। 

 यसका लागि क्याबिनेटले निर्णय समेत गरिसकेको र निर्णयअनुसार कार्यविधि बनाएर उनीहरुको हित अनुरुप सरकारले कार्य गर्ने ज्ञवालीले प्रष्ट पारे। 

प्रकाशित मिति: : 2020-05-27 18:40:11

प्रतिकृया दिनुहोस्