भक्तपुरको नयाँ ठिमी चोकमा टिपरको ठक्करबाट डिउटीमा रहेका एक प्रहरीको मृत्यु भएको छ।
सोमबार राति करिब साढे नौ बजे बा ४ ख ४७०१ नं को टिपर र पछिपछिसँगै आउँदै गरेको बा ४ ख ४३१८ नम्बर को टिपरहरु एकैसाथ नयाँठिमी बालकुमारी चोकको बीचको रेलिङमा ठक्कर दिँदै अनियन्त्रित भएकाे थियाे।
अनियन्त्रित टिपरले ठक्कर दिँदा महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा कार्यरत रहेका प्रहरी नायब निरीक्षक निमबहादुर घर्ती घाइते भएका थिए। उनको उपचारका क्रममा मंगलबार बिहान नर्भिक अस्पतालमा मृत्यु भएको हो।
दुर्घटना गराउने दुवै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बा ४ ख ४३१८ नम्बरको टिपरका चालक राकेश सैँजुले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ।