चीनको वुहानबाट महामारीका रूपमा विश्वभर फैलिएको कोभिड-१९ का कारण सारा संसार अस्तव्यस्त भएको छ।
नेपाल सरकारले पनि सम्भावित संक्रमण रोक्न भन्दै विगत चैत ११ गतेदेखि मुलुक लकडाउन गरेको छ। यसको प्रत्यक्ष मारमा दैनिक ज्याला मजदुरी गरेर खाने समुदाय परेको छ।
नेपालमा मात्र नभएर रोजागरीका लागि विदेसिएका नेपाली थप पीडामा छन्। सम्बन्धित देशको लकडाउनले रोजगारीमा रहेका नेपाली महिलाले विभिन्न समस्या झेल्न बाध्य भएका छन्।
रोजगारीका लागि विदेसिएका लाखौ नेपालीमध्ये केही संख्यामा मात्र रोजागार छन् भने बाँकी बेरोजगार भएर कोठामै बसिरहनुपरेको छ। यसै विषयमा विदेशमा रोजगारीका लागि गएका केही महिलासँग बिएल नेपाली सेवाका लागि ईश्वरी राईले कुरा गरेकी छन्।
जमुना भट्टराई
रोजगारीका लागि दक्षिण अफ्रिका पुगेकी जमुना भट्टराई पछिल्लो दुई महिनादेखि बेरोजगार भएर बसिरहेकी छन्।
अफ्रिकाको एक क्यासिनोमा सुपरभाइजरको रूपमा कार्यरत भट्टराई मासिक ६ सय अमेरिकी डलर तलबमा साढे दुई महिनाअघि मात्र त्यहाँ पुगेकी थिइन्।
सजिलो काम पाएकी उनी आफ्नो पेशामा खुबै रमाएकी थिइन्। तर कोभिड-१९ को संक्रमण रोक्न सरकारले गरेको लकडाउनपछि उनले काम गर्दै आएको क्यासिनो बन्द भयो। त्यसपछि उनी अहिले कोठैमा बसिरहेकी छन्।
‘एक हप्तासम्म मात्रै छुट्टि बस्दा रमाइलो हुन्छ। तर महिनौं दिनसम्म यसरी कोठामै बस्दा दिक्क लाग्दो रहेछ’, उनले बिएल नेपाली सेवासँगको टेलिफोन संवादमा भनिन्, 'पहिलेको समयमा रूमदेखि अफिस र अफिसदेखि रूम आउन पाउँदा रमाइलो लाग्थ्यो, तर अहिले सबै कोठामै रोकिएको छ।’
लकडाउनसँगै उनको कम्पनी बन्द भएपछि उनको कमाई पनि शून्य छ। 'काम हुँदो हो त, तलब आउँथ्यो। अहिले त कामै छैन कसरी तलब देओस् र कम्पनीले,’ उनले भनिन्।
लकडाउन भएर कामै नभए पनि उनलाई खान बस्नको कुनै समस्या छैन। सबै खर्च कम्पनील हेरिरहेको छ।
‘अरू देशमा घरमा बसेर खाएको सबै खर्च आफैंले व्यहोर्नुपर्छ। दुःख हुन्छ। तर हाम्रोमा त्यस्तो छैन्। खान बस्न सबै कम्पनीले व्यहोर्छ,' उनले भनिन्।
रोजगारीका लागि पलायन भएका अन्य नेपाली महिलाको तुलनामा आफू धेरै भाग्यमानी भएको उनले बताइन्। ‘मलाई त अहिलेसम्म कुनै समस्या भएको छैन। तर विदेशमा जति पनि नेपाली दिदिबहिनी दाजुभाइ दुःख पाएर बसिरहनुभएको छ। उहाँहरुका लागि नेपाल सरकारले केहि गर्नुपर्छ। दुःख पाउने नेपालीहरूको उद्दार गरिदिनुपर्छ,' उनले भनिन्।
विदेशी भूमिमा भोकभोकै बसिरहेका लाखौं नेपालीलाई सरकारले उचित व्यवस्था गरेर तत्काले स्वदेश झिकाउनुपर्ने बताइन्।
कोभिड-१९ बाट सुरक्षित रहन उनले सबै सुरक्षाका उपाय अपनाएपछि यतिबेला आफ्नो परिवारलाई धेरै मिस गरिरहहेको बताइन्।
‘यस्तो महासंकटको बेला सबै परिवारसँगै बस्न पाए हुन्थ्यो, तर के गर्नू अवस्था भनेजस्तो सहज छैन’, उनले गुनासो गरिन्।
पेम्बा शेर्पा
रोजगारीका क्रममा टर्की पुगेकी पेम्बा शेर्पालाई लकडाउनले केही प्रभाव पारेको छैन। उनको काम नियमित चलिरहेको छ। राज्यले महिनौ दिनदेखि विश्वव्यापी कोरोना रोकथामका लागि मुलुक लकडाउन गरे पनि घरेलु कामदारको रूपमा त्यहाँ पुगेकी उनी काममा दैनिक लागिरहेकी छन्।
२३ वर्षीय पेम्बा मासिक ५ सय अमेरिकी डलर तलबमा घरको काम अर्थात बच्चाको हेरचाहका लागि टर्की पुगेकी हुन्।
‘कुनैं कम्पनीको काम हुँदो हो त, म बेरोजगार हुन्थेँ होला। तर घरको काम भएकाले काममा कुनै रोकटोक छैन्,' बिएल नेपाली सेवासँग कुरा गर्दै उनले भनिन्,‘मलाई लकडाउनको असर अहिलेसम्म परेको छैन्। काम चाहिरहेको छ।'
लकडाउनका कारण आफ्नो काम नखोसिए पनि आफू छुट्टि बस्न नपाएको गुनासो गरिन्। ‘पहिले पहिले महिनामा एक दिन हुने छुट्टि अहिले पाइएको छैन। जतिखेरै काममै व्यस्त हुँदा नमज्जा लाग्ने रहेछ' उनले भनिन्, 'विगतका दिनमा घुमफिर गरेर रमाइलो गरिन्थ्यो तर अहिले त्यो सम्भव छैन्।'
भाइरसका कारण जारी लकडाउन बिच अन्य मान्छे स्वदेश फर्कन चाहे पनि आफूलाई त्यस्तो सोच नआउको बताइन्। 'लकडाउन भएपनि मेरो काम रोकिएको छैन, तलब आइरहेकै छ, किन फर्कनु स्वदेश? कमाउन आएकी हुँ, कमाएरै फर्किन्छु। यतिबेलै नेपाल फर्कन मलाई कुनै हतार छैन,’ उनले भनिन्।
रिता तामाङ
कोभिड-१९ को संक्रमण नियन्त्रणका लागि दुबई सरकारले महिनौं दिनदेखि गरेको लकडाउनले नेपालकी रिता तामाङसहित लाखौंको रोजगारी गुम्यो।
२२ वर्षीय रिता जो दुई महिना अघिसम्म नियमित काममा जान्थिन्। कमाइ राम्रै थियो। तर केही महिनादेखि यहाँको सरकारले लकडाउन गेसँगै उनी बेरोजगार भइन्।
पैसा कमाउनका लागि विदेश पुगेकी उनी काम रोकिदा चिन्तित छन्। ‘कम्पनीले बस्ने सुविधा दिन्छ तर खाना आफै व्यवस्था गर्नुपर्छ’, उनले बिएल नेपाली सेवासँग भनिन्, 'खानको लागि सबै आफ्नै पैसा खर्च गर्नुपर्छ। केही महिना अघिदेखि आफूले बचत गरेको पैसापनि सकिन लाग्यो अब के गर्ने भन्ने चिन्ता लागिरहेको छ।’
लकडाउनका कारण यो अवधिभर आफ्नै पैसा खर्च गर्नु परेकोमा उनलाई दुःख लागेको छ। ‘विदेशमा आएर खान लगाउन मात्रै ठिक्क हुने हो भने किन आउनु पर्यो र? यसरी कसरी जिविका चलाउनु?' उनले भनिन्, 'यसरी त दुःख मात्रै पाइन्छ।'
लकडाउनका कारण बेरोजगार बन्न बाध्य उनलाई छिट्टै नै स्वदेश फर्कने चाहना छ। 'विमान सेवा बन्द छ। खुलेपछि स्वदेश फर्किहाल्छु। विदेशमा बसेर काम नै छैन्,' उनले भनिन्। काम नभएकै कारण स्वदेश फर्कने निर्णय बनाएको उनले बताइन्।
विगतका दिनमा काम गरेवापत नियमित तलब पाउने उनी अहिले काम नहुँदा रूममै बसिरहनु परेको छ। ‘काम बिना रूममै बसिरहँदा चिन्ता मात्रै लाग्दो रैछ, बरू नेपाल सरकारले चाँडै कुनै पहल गरे स्वदेश फर्कन पाउने थिएँ कि!’
सुनिता योञ्जन
६ महिना अघि कामका लागि बहराइनमा गएकी सुनीता योञ्जन विगत साढे २ महिनादेखि बेरोजगार छिन्।
विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ रोकथामका लागि बहराइन सरकारले गरेको लकडाउनले उनलाई यतिबेला रूममै बस्न बाध्य पारेको छ। विगतका दिनमा कम्पनीकै काम (सरसफाई) मा व्यस्त रहने उनी आजभोलि निक्कै फुर्सदिली बनेकी छन्।
लकडाउनमा आफ्नो दिनचर्चा खान बस्न र सुत्नमै बितिरहेको उनले बिएल नेपालीसेवासँग बताइन्। 'काम छैन्। बस्ने र खाने मात्रै हो,' उनले भनिन्।
लकडाउन भएको महिनौं बितिसक्दासमेत उनले आफ्नै पैसाले खाँदै आएको बताइन्। 'अहिलेसम्म आफ्नै पैसाले खादै आएकी छु। लकडाउन थपियो भने भन्न सकिन्नँ,’ उनले भनिन्।
'विदेशमा हुँदा बेरोजगार बसेकी थिइनँ। यो पहिलो पटक हो, उनले भनिन्। २ वर्षका निम्ति विदेश पलायन भएकी उनलाई अहिले नेपाल फर्किने चाहना छ। उनी भन्छिन्, 'विदेशमा बसेर काम छैन। स्वदेश फर्कन चाहन्छु।'
स्वदेश फर्कन चाहने आफूजस्ता लाखौं नेपालीलाई सरकारले सकुसल स्वदेश फर्काउन पहल गर्नुपर्ने बताइन्।
'हामी विदेशमा भएका नेपालीलाई सरकारले सहयोग गर्नुपर्छ। हामी यस्तो बेला नेपाल आउन चाहन्छौं सरकारले आवश्यक ध्यान देओस्’, उनले भनिन्।