कोरोना अस्पताल बेलझुण्डीमा १८ जनाको उपचार हुँदै

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा आज कोरोना परीक्षणमा पाँच जनाको पोजेटिभ देखिएको छ।  बर्दियाका एक  र बाँकेका चार जनाको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको विज्ञप्तिजमा जनाइएको छ। 

आज फेला परेकाहरुमा बर्दिया, बाँसगढी गाउँपालिकाका २५ वर्षीय तथा बाँके दुधवा राप्तीसोनारी गाउँपालकिाका १६,  २३, २३ र २४ वर्षीय छन्।   यसैबीच  दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा चार जिल्लाका १८ संक्रमितलाई भर्ना गरिएको छ।   

पछिल्लो समय आइतबार  प्रतिष्ठानमा परीक्षण गर्दा कोरोना देखिएका बर्दिया बढैयातालका १९ वर्षीय एक पुरुषलाई आइसोलेशनमा राखिएको छ। अस्पतालमा अन्यमा बाँके नरैनापुरका आठ, कपिलवस्तुका छ  र दाङका तीन जनाको उपचार भइरहेको छ। संक्रमितको स्वास्थ्यावस्था सामान्य रहेको अस्पतालका प्रमुख  डा सर्वेश शर्माले जानकारी दिए।  स्वाब परीक्षणमा कोरोना देखिए पनि उनीहरुमा कुनै लक्षण नदेखिएको अस्पतालको भनाइ छ। बेलझुण्डी कोरोना अस्पतालमा एक सय शय्या तयारी अवस्थामा राखिएको छ।

भित्रिए तीन हजार
हालसम्म दाङमा मात्रै तीन हजार ३२६ नागरिक सम्बन्धित स्थानीय तहमा भित्रिएको तथ्याङ्क छ। बन्दाबन्दीमा  भारत र अन्य मुलुकबाट घोराही उपमहानगरपालिका भित्रिने ६७५ पुगिसकेको उपमहानगरका स्वास्थ्य शाखा संयोजक नारायणप्रसाद घर्तीले जानकारी दिए। उनले आज थप दुई सय नागरिक विभिन्न नाका हुँदै आउन लागेको बताए।

जिल्लाका १० वटै स्थानीय तहमध्ये सबैभन्दा धेरै नागरिक राप्ती गाउँपालिकामा भित्रिएका छन्। आठ सय नागरिक भारत तथा अन्य मुलुकबाट आएको गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले जानकारी दिए। हालसम्म तुलसीपुर उपमहानगरपालिका १३४ तथा  गाउँपालिकामध्ये बंगलाचुली गाउँपालिकामा ५५०, बबईमा ४७७, दंगीशरणमा ३३ , शान्तिनगरमा ८५ , राजपुरमा २२ र गढवामा २५० जना आएका छन्।

प्रकाशित मिति: : 2020-05-25 13:32:33

प्रतिकृया दिनुहोस्