एसईई खारेज गर्न सांसद र शिक्षाविद्हरूको सुझाव

बिएल संवाददाता

काठमाडाै‌ं

शिक्षा मन्त्रालयले एसईईको विकल्प नखोजेकोमा सांसद र शिक्षाविद्हरूले आशंका व्यक्त गरेका छन्।

कक्षा १० र ११ को परीक्षा आन्तरिक मूल्यांकन र कक्षा १२ को परीक्षा राष्ट्रिय तहमा गर्नुपर्ने तयारीमा लाग्न छोडेर शिक्षामन्त्री गिरिराजमणि पोखरेलले जसरी पनि गर्ने अड्डि लिएकोमा संसदीय समितिको बैठकमा सांसद र शिक्षाविद्हरूले आंशका व्यक्त गरेका हुन्। 

कोरोना भाइरस (कोभिड-१९)को कारण एसईई, कक्षा ११ र १२ को परीक्षा स्थगित भएको अवस्थाबारे संघीय संसद् राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्त्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको आइतबारको बैठकमा सांसद र शिक्षाविद्हरूले परीक्षाको विकल्प खोज्न तथा विद्यालय स्तरको पठनपाठन सुचारु गर्ने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिनुपर्ने बताएका हुन्।

कोरोनाको कारण गत चैत पहिलो सातायता सबै तहको पठनपाठन स्थगित छ। सबै तहका परीक्षाहरू रद्द गरिएका छन्। लामो समयसम्म पठनपाठन बन्द गर्दा बालबालिकाको मनोविज्ञानमा असर पर्न सक्ने भन्दै कुनै न कुनै उपाय अपनाई विद्यालय सुचारु गर्न विज्ञहरूले सुझाव दिएका हुन्।

एसईईको परीक्षा स्थगित गर्न सुझाव

शिक्षाविद् विद्यानाथ कोइरालाले अध्यादेश जारी गरेर भएपनि कक्षा १० र ११ को परीक्षा हटाउनुपर्ने बताए। उनले कोरोनाको समयमा विद्यालय सञ्चालन गर्न कठीन भए उत्पादनसँग जोडेर शिक्षा प्रणालीको विकास गर्नुपर्ने बताए। 'जसरी हुन्छ कक्षा संचालन गर्नुस् भन्ने निर्देशन संसदीय समितिले दिनुपर्छ,' उनले भने।

नेकपा सांसद पम्फा भुसालले विद्यालय शिक्षालाई नियमित कसरी गर्ने, परिमार्जन कसरी गर्ने भन्ने विषयमा तत्काल निर्णय गर्नुपर्ने बताए। 

उनले एसईई परीक्षा हटाई कक्षा १२ को परीक्षा परीक्षा बोर्डबाट लिनुपर्ने बताइन्। उनले एसईई परीक्षा सञ्चालन गर्ने विषयभित्र आर्थिक स्वार्थसमेत लुकेको हुनसक्ने भन्दै यसलाई हटाई कक्षा १२ को परीक्षा मात्रै लिनुपर्ने बताइन्। 

गत चैत ११ गते देखि लकडाउन भएपछि एसईईको परीक्षा स्थागित भएको छ। लकडाउनका कारण विद्यालयहरू सञ्चालनमा आउन पनि सकेका छैनन्। यस्तै लामो समयसम्म कोरोना भाइरसको संक्रमणको जोखिम देखिने अवस्थामा विद्यालय शिक्षामा असर पर्ने पक्का छ।

 किनभने अधिकांश विद्यालयलाई क्वारेन्टाइनको रूपमा प्रयोग गरिएको छ। जसले गर्दा विद्यालयलाई तत्काल सुचारु गर्न कठिनाई हुनेछ। 

प्रकाशित मिति: : 2020-05-24 21:46:45

प्रतिकृया दिनुहोस्