आइतबार नेपालमा थप १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार यो सँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ६०३ पुगेको छ।
डा. देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्।
डा देवकोटाका अनुसार हालसम्म ८९ जना अहिले संक्रमणमुक्त भएका छन् भने ३ जना संक्रमितको भने मृत्यु भइसकेको छ।
नुवाकोटमा पनि भेटिए संक्रमित
नुवाकोटमा पनि एक जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
ककनी गाउँपालिका वडा नम्बर ३ का एक युवामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
नुवाकोटमा कोरोना संक्रमण पुष्टि भएको पहिलो पटक हो।
ती संक्रमितलाई काठमाडौं पठाउने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए।
थप १९ जना डिस्चार्ज
वीरगञ्जस्थित नारायणी अस्पताल र बुटवलस्थित धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालबाट एकैसाथ १७ जना डिस्चार्ज भएका छन्।
उनीहरु सबै शनिबार बेलुका डिस्चार्ज भएका हुन्।
नारायणी अस्पतालबाट डिस्चार्ज हुनेमध्ये बाराका २ जना, रौतहटका ३ जना र पर्साका ३ जना रहेका छन्। यसैगरी एक जना भारतीय नागरिक समेत संक्रमण निको भएर डिस्चार्ज भएका छन्। १९ देखि ५१ वर्षसम्मका उनीहरु सबै पुरुष हुन्।
यससँगै नेपालमा कोरोना संक्रमण निको भइ निको हुनेको संख्या ७९ जना पुगेको छ।
यता कपिलवस्तुका १० जना संक्रमित निको भएर घर फर्किएका छन्।
दुई साताअघि अस्पताल भर्ना भएका संक्रमितको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोरोना विशेष अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले बताए।