बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले कोरोना भाइरसको सङ्कटमा अग्रभागमा खटिनेलाई कोरोना बीमा गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको सङ्कटमा अग्रभागमा खटिनेलाई निकै चुनौती भएकाले बीमा गर्ने निर्णय गरेको हो।
कोरोना रोकथाम, उपचार, सचेतना, बन्दाबन्दीको पालना गराउने तथा जनतालाई सुसूचित गर्नका लागि गाउँपालिकाभर अग्रभागमा खटिने १०० जनालाई कोरोना बीमा गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख कृष्णप्रसाद शर्माले जानकारी दिए।
कोरोना सङ्कटको बेला अग्रभागमा खटिने स्वास्थ्यकर्मीसहित १०० जनाको प्रतिव्यक्ति रु एक लाख बराबरको कोरोना बीमा गरिने उनले बताए।
'गाउँपलिकाले प्रत्येक व्यक्तिको रु एक लाखको कोरोना बीमा गर्दा रु ६०० प्रिमियम भुक्तिनी गर्ने छ'। कोरोना बीमाका लागि गाउँपालिकाले रु ६० हजार खर्च गर्नेछ' उनले भने।
गाउँपालिकाले स्वास्थ्यकर्मीसँगै स्वास्थ्य संस्थाका कार्यालय सहयोगी, जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी र पत्रकारहरुको लागि कोरोना बीमा गर्न थालेको अध्यक्ष शर्माले जानकारी दिए। 'गाउँपालिकाले ३० स्वास्थ्यकर्मी, १० पत्रकार, १५ कर्मचारी, पाँच सुरक्षाकर्मी र अन्य अग्रभागमा काम गर्ने जनप्रतिनिधि गरी १०० जनाको कोरोना बीमा गर्नेछ' उनले भने।
कोरोना सङ्कटको समयमा अग्रभागमा रहेर काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीलगायतकोे आत्मबल बढाउनका लागि गाउँपालिकाले कोरोना बीमा गर्न थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए।
'कोरोना कहरको समयमा आफ्नो ज्यानलाई जोखिममा राखी बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मी र राष्ट्रसेवक कर्मचारीलाई कामप्रति उत्तरदायी बनाउन हामीले कोरोना बीमा गर्न थालेका हौँ', उनले भने, 'कोरोना बीमासँगै स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकार उच्च मनोबलका साथ कार्यक्षेत्रमा खटिनेछन्।'
कोरोनाका कारण विश्वमा स्वास्थ्यकर्मी, कर्मचारी तथा पत्रकारसमेतको मृत्यु भइसकेको अवस्थामा उच्च मनोबलका साथ कोरोनासँग लड्नका लागि कोरोना बीमा गरिएको बरेङ गाउँपालिकाले जनाएको छ।