बगैंचा, हजारौँ फूलरूपि भावना र सृजनशील मनहरुको एउटा सुन्दर बस्ती हो। जहाँ शान्ति, संवेदनशीलता, मेलमिलाप, सौहार्दता र चेतनशीलताको भरपुर आनन्द लिन सकिन्छ। हरेक बगैंचाले समाजमा बुद्धत्व छरिरहेका छन्। बगैंचामा मार्क्स, आइनस्टाइन, मण्डेला, ओबामा, गान्धी, नाइटिङ्गेल्स, बी.पीरूपि फूलहरु सुन्दर तरिकाले सजिएका हुन्छन्। सिग्मण्ड भन्छन्, ‘फूलहरु शान्त हुन्छन्। उनीहरुमा दयाभाव र रिषराग केही हुँदैन। काँडाहरुको बीचमा पनि सुन्दर गुलाफ फुल्नु, हिलोमा कमल फुल्नु जस्ता कुरा जसलाई शुद्धताको प्रतीक मानिन्छ।'
नेपाल नामको एउटा बगैंचा जो वर्षौंदेखिको खडेरी खाए झैँ भएको छ। बगैंचाका फूलहरु जति फक्रनुपर्ने हो, जति फुल्नु पर्ने हो, त्यति नफक्रीएको र नफुलेको उस्को घट्दै गरेको सौन्दर्यताले देखाइरहेको थियो। सायद उसको ‘राणा’ नामको मालीले हेरचाह गर्न हेलचक्र्याईं गरिरहेको छ। उसले न फक्रने गरी मलजल गर्यो न त फुल्नेगरि गोडमेल नै। जसका साक्षी वरिपरिका बगैंचाहरु थिए।
यस्तैमा कांग्रेस नामको माली जो उक्त बगैंचाको दक्षिण पट्टिको बगैंचामा काम सिकिरहेको थियो। उसले आफ्नो बगैंचा माथि दक्षिण तिरको मालीलाई राज गर्ने इच्छा व्यक्त गर्छ। दक्षिणको बगैंचाले केही बेर मनन गर्यो र खडेरी परिरहेको बगैंचाको मालीलाई अनेकन बहानामा निकालियो र दक्षिणको बगैंचामा काम सिकिरहेको कांग्रेस नामक मालीले बगैंचा सम्हाल्यो। केही दिन, केही महिना हुँदै वर्षौंसम्म त्यो मालिले बगैंचा राम्रै चलायो। आम्दानी पनि गर्यो तर अब पैसा देख्दा महादेवका त तीन नेत्र खुल्छन रे माली त मान्छे थियो।
अप्रत्यक्ष रुपमा बगैंचा माथी नजर लगाइरहेको शाह नामको मालीले उत्तर पट्टिको बगैंचाको सहयोगमा काँग्रेस नामको मालीलाई परास्त गरी आफू माली भयो। नयाँ ढंगले केही वर्ष बगैंचाका फूलहरुले मलजल पाए, गोडमेल भयो तर ती मध्ये कै केही फूलहरु अपत्यारिलो ढंगले ओइलाएपछि ओइलाएका फूलहरु मध्येबाटै माली परिवर्तनको आवाज आउन थाल्यो।
कांग्रेस नामको माली जो पहिले परास्त भए देखि नै रिसाएको थियो। यत्तिकैमा कम्युनिष्ट नामको माली र रिसाएको कांग्रेस मिलेर शाहलाई हटाएर बगैंचामा राज गर्न संघर्षमा उत्रिए। उनीहरुले शाहलाई हटाउन त सकेनन् तर शाहसँगै मिलेर काँग्रेसको हेरचाह र गोडमेल गर्ने मौका पाए। केही वर्ष शान्त भए। केही मानिसहरुको स्वभाव नै सत्ता, शक्ति र सम्मान आफ्नै वरिपरि घुमिरहोस् भन्ने चाहना हुन्छ। त्यो पायो भने तैँ चुप मै चुप झै हुन्छ रे। त्यस्तै भयो जब मिलेर खाने सम्झौता भयो काँग्रेस, कम्युनिस्ट र शाह बीच।
जेन तेन काँग्रेस ठिक ठाक चल्दै गयो। न त उत्तर पट्टिको बगैंचाले लाभ लिन पायो न त दक्षिण पट्टिको बगैंचाले नै केही नाफा लिन पाएको थियो। अब दुबै पट्टिका बगैंचालाई नाफा दिलाइदिने मालीको खाँचो खडि्करहेका बेला माओवादी नामको मालीले दुबैतिरका मालीहरुलाई झुक्यायो र दुबैको प्यारो भयो। अब उसले बगैंचाको अहिलेको मालि जसले काँग्रेस र कम्युनिष्टलाई चलाइरहेको थियो, त्यसको अन्त्य गरेर आफूमा राज गर्ने सपना सजायो।
उसलाई सिध्याउने र दुबैतिरका काँग्रेसहरुलाई फाइदा गरिदिने वाचा गर्यो। निकै लामो अन्तरसंघर्षमा थुप्रै फूलका बोटहरु थिचिए। थुप्रै फूलहरु फक्रन नपाउँदै चुँडिए। अन्ततः शाह नामको मालिलाई फालेर आफू माली भयो। माली भएपछि माओवादीको घमण्ड यति चुलियो कि उसले दुबैतिरका काँग्रेसहरुसँग गरेको वाचा बिर्सियो या सम्झन चाहेन। त्यो घमण्ड धेरैबेर टिकेन, त्यो पनि फालियो। सबै मिलेर केही गरी हात खुट्टा ढोगी दुबै पट्टिकालाई सम्झाइ बुझाइ गरेर सबै मिलेर दुबैलाई फाइदा गर्दिने वाचा गरे। अब यसरी बाँडीचुँडी खाने निर्णय गरेपछि कहिले उत्तर पट्टीको भनेको नमान्दा माली परिवर्तन भए त कहिले दक्षिण पट्टिको माली रिसाउँदा परिवर्तन भए। काँग्रेसमा खडेरी लागिरह्यो।
फूलहरु पनि झन् झन् ओइलाउन थाले। मालीलाई मन पर्ने फूलहरुले भने राम्रै मलजल पाए। राम्रै गोडमेल पाएर फक्रेर फूले पनि। तर विडम्बना अझैँ पनि समान रुपले फूलहरुले गोडमेल, मलजल पाएका छैनन्। कहिल्यै फूलहरुको समस्या बुझिएन। मालीहरुले अब त बिस्तारै दक्षिण र उत्तर पट्टिका बगैंचाले केही फूलहरु उखेलेर आफ्नो बगैंचाको फूलहरु फूलाउन थालिसकेको रत्तिभर पनि छनक पाएका छैनन्। भनिन्छ नि अचानाको पीर खुकुरीले जाँन्दैन भने झैँ यस बगैंचाको मर्म कहिल्यै कसैले बुझेनन्, र बुझ्न पनि चाहेनन्। अझैँ कतिन्जेल बगैंचाले असल, निडर, नैतिकवान, दयालु स्वभावको माली कुरिरहनुपर्ने होला, थाहा छैन।