सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई निर्देशन

बिएल संवाददाता

काठमाडाै‌ं

संसदीय समितिले ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता नरोक्न सरकारलाई निर्देशन दिएको छ।

सरकारले सामाजिक सुरक्षा ऐन २०७५ मा त्रुटि रहेको र यसमा हेरफेर गर्नुपर्ने भन्दै ६० वर्ष मुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्ता रोकेको छ।

संघीय संसद, प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकले विपन्न, अशक्त र असाहय अवस्थामा रहेका ६० वर्षभन्दा मुनिका एकल महिला, फरक क्षमता भएका, बालबालिका, लोपोन्मुख जातिका नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षा वापतको भत्ता नरोक्न नेपाल सरकार गृहमन्त्रालयलाई निर्देशन दिएको हो। 

समिति सभापति निरुदेवी पालले सरकारले सामाजिक सुरक्षा भत्ताको सम्बन्धमा यसअघि गर्दै आएका कामहरुको विवरण समितिमा उपलब्ध गराउन र उपलब्ध गराउँदै आएको सुविधालाई निरन्न्तरता दिन निर्देशन दिइएको बताइन्।

बैठकमा सांसदहरुले विपन्न, अशक्त र असाहय अवस्थामा रहेका व्यक्तिहरुलाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता रोक्न लागिएको भन्दै विरोध गरेका छन्। ६० वर्ष भन्दा कम उमेरका एकल महिला तथा अपाङ्गता भएका व्यक्तिको भत्ता सरकारले रोकेको भन्दै उक्त कदमलाई समितिले रोक्नुपर्ने बताए। 

सरकारी तथ्याङ्कअनुसार देशभर २ लाख व्यक्तिले अपाङ्गता परिचयपत्र लिएका छन्। त्यसमध्ये ५१ हजार ९ सय ४ जना पूर्ण अपाङ्गता भएका  र ९७ हजार जना अति अशक्त अपाङ्गता भएका व्यक्तिले सामाजिक सुरक्षा भत्ता पाउँदै आएका छन्। यस्तै करिब ६ लाखको संख्यामा एकल महिला रहेका छन्। 

प्रकाशित मिति: : 2020-05-22 16:58:08

प्रतिकृया दिनुहोस्