चीनको उहानमा जंगली जनावरको मासु खान प्रतिबन्ध लगाइएको छ। मासु पसलमाथि प्रतिबन्ध लगाइएको उहान सरकारको आधिकारिक वेभसाइटमा उल्लेख गरिएको छ।
कोरोना भाइरस पहिलो पटक देखिएको उहानमा जंगली जनावरको मासु खान आधिकारिक रुपमा रोक लगाइएको हो।
स्थानीय सरकारको यो निर्णयसँगै अब उहानमा जंगली जनावरको शिकार गरेर मासु बेचविखन गर्ने काम रोकिने विश्वास गरिएको छ।
उहानको यो मासु बजारमा विश्वका धेरै जंगली जनावरको मासु बेचबिखन हुने गर्दथ्यो। यो बजारमा सर्प, बिच्छी, कुकुरदेखि अनगिन्ती जंगली जनावरहरुको बिक्री गरिन्थ्यो।
चीनको उहान र हुबेई प्रान्त कोरोना संक्रमण देखिएसँगै विश्वभर चर्चामा रहेको छ। सुरु कोरोना संक्रमण यही मासु बजारबाट फैलिएको आशंका गरिन्छ।
गत वर्षको डिसेम्बरमा उहानमा पहिलो पटक कोभिड–१९ को संक्रमण देखिएको थियो। उहानबाट सुरु भएको कोरोना संक्रमण अहिले विश्वव्यापी बनेको छ।
कोरोना भाइरसका कारण विश्वभर तीन लाख ३४ हजार भन्दा धेरैले ज्यान गुमाएका छन्।