‘नक्सा निकाल्ने बित्तिकै भारतले मेरो गल्ती भयो भनेर मान्छ भन्ने ठान्नु यथार्थवादी हुँदैन’

रातोपाटी

काठमाडौँ

फणिन्द्र नेपाल

 लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको अतिक्रिमित नेपाली भूमि समेटेर नेपालले राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि यसबारे नेपाल भारत दुवैतर्फ चर्चा परिचर्चा भइरहेको छ । नेपालको यो कदमलाई नेपाली जनताले सकारात्मक कदम भन्दै स्वागत गरिरहेका बेला भारतले भने नेपालको उक्त कदम अस्वीकार्य रहेको प्रतिक्रिया दिएको छ । यस्तो अवस्थामा अब नेपाल भारतबीच कसरी संवादको प्रक्रिया अघि बढ्ला र भारतले नेपालको भूमि कसरी छोड्ला वा के यही कारण नेपाल भारत सम्बन्धमा दरार आउला ? भन्ने सर्वत्र चासोको विषय बनेको छ । यसै सन्दर्भमा पूर्वपरराष्ट्रमन्त्री समेत रहेका राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीसँग रातोपाटीले प्रश्न गरेको छ । प्रस्तुत छ डा लोहनीसँगको छोटो कुराकानी :

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको भूमि समेटेर नेपालले राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारतले दिएको प्रतिक्रियाले के संकेत गर्छ ?

नेपालले नक्सा सार्वजनिक गरेपछि भारतले दिएको प्रतिक्रियालाई म अश्वभाविक मान्दिनँ । किनभने उनीहरुले केही दिनअघि मात्रै त्यो जमिन आफ्नो भनेर आफ्नो काम अघि बढाएको हामी सबैले थाहा पाएको कुरा हो । यस्तो वेला त्यो भारतको गल्ती भयो भनेर हामीले नक्सा निकालिसकेपछि तुरुन्तै उसले मेरो गल्ती भएछ भनेर मान्ने वा नेपालको दावीलाई स्वीकार्ने भन्ने (रियलस्टिक) यथार्थवादी हुँदैन । त्यसले त्यो जमिन मेरै हो भनेर भनेको कुरालाई अन्यथा लिन हुँदैन । किनभने त्यो जमिन हामीले पनि हाम्रो भनेको र उसले पनि आफ्नो भनेको अवस्था छ । तर भारतले पनि त्यो समस्या समाधान गर्न कुटनीतिक वार्ता गरौँ भनेको छ । हामीले पनि कुटनीतिक वार्ता गरौँ भनेका छौ । त्यसकारण सीमा विवाद भयो, अब दुवै राष्ट्रहरु बसेर अघि जाने बाटो खुल्छ । त्यसकारण अहिले नै उसले के भन्यो भनेर अस्वभाविक लिनुपर्ने आवश्यक्ता छैन ।

प्रकाशित मिति: : 2020-05-21 20:50:10

प्रतिकृया दिनुहोस्