चैत महिनाको पहिलो हप्तादेखि औपचारिक शिक्षाको माध्यम ठप्प छ। विद्यालय र कलेजका शैक्षिक सत्रको वार्षिक परीक्षा लगभग सकिएको थियो भने एसईई परीक्षा सुरु हुन पाएन। विश्वलाई नै आक्रान्त पारेको कोभिड– १९ भाइरसको महामारीबाट बच्न र बचाउन नेपालमा पनि गत चैत ११ गतेदेखि लकडाउन अर्थात् बन्दाबन्दी लगाइयो।
संसारभरमा यो रोगको संक्रमण शैली हेर्ने हो भने यो रोगले कुन रूप, कति संख्यासम्म र कहिलेसम्म प्रभाव पार्छ भनेर आकलन गर्न मुस्किल छ। स्वास्थ्य प्रमुख प्राथमिकता हो, त्यसैले सम्भावित महामारीलाई निर्मूल पार्न हर तरहको कोसिस जरुरी छ। अत्यावश्यक सेवासमेत खुकुलो हुन नसकेको स्थितिमा अति संवेदनशील शिक्षा क्षेत्र छिटै सुचारु हुने अवस्थामा छैन। यस्तो लाग्छ– अर्को एक वर्ष पनि स्कुल–कलेजका नियमित कक्षा नहुन सक्छन्। विदेशमा कतिपय विश्वविद्यालयले आगामी शैक्षिक वर्षसम्म कलेज आउनुनपर्ने गराइसकेका छन्।
विगत दुई महिनादेखि बन्द भएको शैक्षिक क्षेत्रलाई लिएर अभिभावक वर्गमा चिन्ता छाउनु स्वाभाविक हो। एकातिर ज्यानको माया भने अर्कातिर पढाइ। विद्यार्थी भर्नाको काम हुन सकेन भने पठनपाठन पनि ठप्प हुने पक्का छ। कतिपय विद्यालय, शैक्षिक संस्थाहरूले इन्टरनेटको माध्यमबाट डिस्ट्यान्स लर्निंङ सुरु गरेका छन्, जुन सबैका लागि सम्भावना छैन। सहरका केही विद्यार्थीमा सीमित यस्ता कक्षाले निकट भविष्यमै समस्या ल्याउने पक्का छ।