भारतले पहिलोपटक चार्टर उडान गरेर काठमाडौंबाट आफ्ना नागरिकलाई फिर्ता लगेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बुधबार पौने १ बजे एयर इन्डियाको विमानले काठमाडौंमा रहेका १ सय ६५ यात्रुलाई दिल्ली लिएर गएको हाे।
यो चार्टर उडान भारतीय दूतावासले गराएको हो। दिल्लीबाट रित्तै आएको एयर इन्डियाको एयरबस ३२० फर्किंदा भारतीय नागरिकमात्रै लिएर फर्केको हो।
सरकारले चैत ९ गते राति १२ बजेपछि सबै अन्तर्राष्ट्रिय उडानलाई रोक लगाएको थियो। उक्त निर्णय भएको ६० औं दिनमा बुधबार भारतीय ध्वजावाहकको पहिलो चार्टर उडान भएको विमानस्थलस्थित टर्मिनल कार्यालयले जनाएको छ।
बुधबारसम्म ७१ वटा अन्तर्राष्ट्रिय चार्टर उडान भए। जस्मा मेडिकल कार्गो र उद्धार उडान मात्रै हुन्। व्यावसायिक उडानमा भने रोक लगाइएको छ।