अब नेपालकाे कूल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ !

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ। सिंहदरबारस्थित मन्त्रलायमा भूमि व्यवस्थामन्त्री पद्मकुमारी अर्यालले  बुधबार आयोजित पत्रकार सम्मेलनमा नयाँ नक्शा सार्वजनिक गरेकी हुन्।

नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ। यसघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेर नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बताइन्। 

गत सोमबार मन्त्री अर्यालले उक्त नक्सा संसदमा पेश गरेकी थिइन्। सोही दिन मन्त्रिपरिषद्ले पारित गरेको थियो।

नेपालले नयाँ राजनितिक नक्सा पारित गरेसँगै नेपालको क्षेत्रफल पनि बढ्ने भएको छ। अहिलेसम्म नेपालको क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ वर्ग किलोमिटर छ। अबको नक्सामा ३ सय ३५ वर्ग किलोमिटर बढ्ने बताइएको छ। अर्थात अब नेपालकाे क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ हुनेछ।

अब सरकारी दस्तावेज र पाठ्यपुस्तकहरुम नयाँ संस्करणको नेपाली नक्सा नै प्रचलनमा ल्याउने मन्त्री अर्यालले बताइन्। सर्वसाधारणलाई पनि नयाँ संस्करणकै नक्सा प्रयोग गर्न उनले आग्रह गरिन्। 

सरकारले सो नक्साका आधारमा निशानछाप र लोगोसमेत प्रयोगमा ल्याउने निर्णय गरेको छ। सोका लागि संविधानको अनुसूचीमा संशोधन गर्न संसद्मा विधेयक पेश गर्ने तयारी पनि गरेको छ। 

यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएको भन्दै तीव्र आलोचना हुँदै आएको थियो।

नेपाल सरकारले भारतको उक्त कदम खेदजनक भएको बताएको थियो र कूटनीतिक तवरले नै अगाडि बढ्न आग्रह गरेको थियो। भारतीय सेना प्रमुखले भने नेपाल सरकार अरू कसैको निर्देशनमा चलेको टिप्पणी गरेको थियो। मन्त्री अर्यालले नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गरिन्।

प्रकाशित मिति: : 2020-05-20 15:01:09

प्रतिकृया दिनुहोस्