विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले गत चैत ११ गतेदेखि मुलुक लकडाउन गरेको छ। कोरोनाबाट बच्न उत्तम बिकल्प नै घर भित्रै रहनू भन्दै सरकारले कसलै अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन उर्दी जारी गरेको छ।
पछिल्लो समय नेपालमा पनि तिब्र रूपमा कोरोना संक्रमण फैलिएको छ। ३ जनाको मृत्यु हुनुका साथै ४ सय भन्दा बढीमा संक्रमण फेला परिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
एकातर कोरोनाका बिरामीहरू बढ्दै जानु र अर्कोतिर भएका उद्योगधन्दा कलकारखाना बन्द भएर बेरोजगार भएपछि हजारौ मान्छे भोकमरीको चपेटामा परेका छन्।
दैनिक ज्याला मजदुरी गरेर छाक टार्नेहरुका लागि त यो लकडाउन कोरोना भन्दा ठूलो भएर देखापरेको छ।
दैनिक छाक टार्नसमेत मुश्किल भएपछि कयौंले बिकल्प खोज्न थालेका छन्। सरकारले दिएको राहत २ दिनमै सकियो। लकडाउन झन्डै दुई महिना पुग्न लागिसक्यो।
यस्तो अवस्थामा पेट पाल्नकै लागस अधिकांश श्रमिक बिकल्पको खोजिमा भौतारिरहेका छन्। कति भोकभोकै लामो यात्रा तय गरेको घर फर्किएका छन् भने कति अलपत्र अवस्थामा छन्। यसकै एक प्रतिनिधि पात्र हुन्-प्रमोध पासी।
पासीलाई साँझ बिहान रूपन्देहीको सडक किनारमा ठेलामा राखेर फलफूल र तरकारी बेच्न भ्याइ नभ्याई हुन्छ। उनलाई सरकारले गरेको लकडाउनको बारेमा जानकारी छ। तर पनि उनले आफ्नो काम छोडेका छैनन्।
बन्दाबन्दीको समयमा पनि फलफूल राखिएको ठेला धकेल्दै रमवापुरबाट सेमरीहुँदै गुरवनियासम्म पुग्छन्।
दिनको दुईदेखि तीनहजारसम्मको व्यापार हुने गरेको उनले बताए। जिल्लामै भित्रिसकेको कोरोना भाइरसबाट आफूलाई डर लागेपनि परिवार पाल्नकै लागि जोखिम मोलेर सडकमा निस्किएको उनले बिएल नेपाली सेवासँग बताए।
रूपन्देही मायाँदेवि गाउँपालिका-४ रमवापुरमा बस्दै आएका प्रमोदको एक दाजु र चार दिदी छन्। दिदीहरूको विवाह भइसकेपछि आमासँगै बस्दै आएका प्रमोदको बुबाको तीन वर्ष अघिनै मृत्यु भएको थियो।
दाइहरू छुट्टिएपछि आमा र आफूलाई नहेरेपछि सानो तिनो व्यवसाय गरेर बसेको उनले बताए।
मनमा कोरोनाको त्रास पालेर पनि ठेला धकेल्दै अन्य गाउँमा जादा कहिले पुलिसको लट्ठी खाइने हो कि भन्दै डराई डराई हिड्ने गरेका छन्। ‘सरकारले हामी जस्तो दैनिक ज्याला मजदुरी गरेर खानेलाई उचित राहतको व्यवस्था गर्ने हो भने यो ताता घाममा कोरोनाको त्रासबिच सडकमा भौतारिएर हिँड्ने थिइनँ’, उनले भने,‘काम नगरी माम आउँदैन के गर्ने काम त गर्नै पर्यो नि।’
बन्दाबन्दी हुनु अगाडि उनी एउटा पेपर मिलमा काम गर्ने गरेका थिए। बन्दाबन्दी भएसँगै मिल पनि बन्द भएपछि आफूहरूको गाँस खोसिदिएको उनले बताए।
पेपर मिलमा फलाम उठाइरहेको बेला दुई वर्ष अगाडि प्रमोदको कम्मरमा फलाम खसेर घाइते भए।
आमाले मेलापात गर्ने बताउने पासी कहिलेकाही फलफूल नबिक्ने र कुहिने हुँदा तनाव हुने बताउँछन्।
बन्दाबन्दी बढ्दै गएपछि दश हजार रूपैया तिरेर ठेला किनेका उनले सुरूसुरूमा फलफूल बेच्दै हिड्दा लाज लागेको बताए। ‘सुरू सुरूमा ठेलामा फलफूल राखेर डुलाउँदा लाज लाग्थ्यो। अहिले त बानी परिसकेँ’, उनले भने।
उनको ठेलामा रहेका केरा, अङ्गुर, खर्बुजा, आँप र स्याउजस्ता फलफूलहरू भैरहवा र बेथरीबाट ल्याउने गरेको बताए।
आर्थिक अभावले उनले कक्षा सातसम्म पढ्दा पढ्दै बिचमै पढाई छोडिदिए।
पछिल्लो समय कोरोना सङ्क्रमित बढ्दै गएकोपछि प्रहरीले उनलाई ठेला नचलाउन भनिरहेको छ।
‘पुलिसले अहिले गाडा चलाउनसमेत दिइरहेको छैन, लुकी छिपी चलाउनुपर्छ। गाडा नचलाएमा पापि पेट कसरि पाल्ने भन्ने पिर पासिको छ’, एकवर्ष अघि विवाह गरेका उनले बिएलसँग भने,‘अब कसरी परिवार पाल्ने उपाय देखिरहेको छैन।’
यस्तै बेचन पासीको व्यथा अलि फरक छ। बन्दाबन्दी हुनुअघि खेतिकिसानी गर्ने उनी घर बनाउने काममा पनि सिपालु छन्।
लकडाउन भएसँगै घर बनाउने काम पाउन छोडेको छ। तर बारीमा फलेका साग सब्जी साइकलमा राखेर गाउँ गाउँसम्म डुलाउने गरेका छन्।
छोरा बुहारी र श्रीमतीसँग बस्दै आएका रमवापुरका पासीले आफूले उत्पादन गरेका तरकारीले उचित बजार नपाउँदा तरकारिहरू बारिमै कुहिन थालेपछि साइकलमा राखेर डुलाउने गरेको बताए।
यस्तै बन्दाबन्दी अगाडिसम्म हाट बजारमा ठेलामा मःमः चाउमिन लगायत खाजा बेच्दै आएका उनी अहिले फुर्सदिला भएका छन्।
कपाल काट्नसमेत जानेका उनले अहिले मान्छेको घर घरमा गएर कपाल काट्ने काम रोजेका छन्।
बन्दाबन्दीका बेला बजारमा शैलुनसमेत बन्द भएपछि उनी अहिले गाउँ गाउँसम्म पुगेर मानिसहरूको कपाल काट्ने काम गरिरहेका छन्।
‘लकडाउनले पसल बन्द भयो, पेट पाल्नै परो त्यसैले गाउँ बजारमा पुगेर अरूको दाह्री कपाल काटेर जिविको चलाइरहेको छु’, उनले बिएल नेपाली सेवासँग भने,‘लकडाउन खुलेपछि फेरि मःमः, चाउमिन बेच्ने काममा फर्कन्छु।’
त्यसैगरि बन्दाबन्दी अगाडि ट्याक्टर चलाउँदै आएका उमेश पासीलाई पनि दैनिक छाक टार्न समस्या भइरहेको छ।
त्यसपछि रमवापुरमा एउटा चिया पसल खोलेर जीवन चलाइरहेका छन्। चिटिक्क परेको चियाको सानो कटेजमा उनले सामाजिक दूरी कायम गरेर चिया बेचिरहेको बताए।
दोकान खोल्दा पुलिसले कहिलेकाही थर्काउने गरेको उनले बताए। श्रीमति र दुई बच्चासँगै बस्दै आएका उनी लकडाउन भएपछि ६० हजार लगानी गरेर चिया पसल खोलेको बताए। लकडाउन खुलेपछि यसैलाई अलि व्यवस्थीत बनाउने उनको चाहना छ।
यो पनि हेर्नुहोस्