भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाली भूमिमा निर्माणाधीन सडकको अनलाइन उद्घाटन गरेसँगै पुनः एकपटक नेपालमा (#GoBackIndia), कालापानी, लिम्पियाधुरा लिपुलेख हाम्रै हो भन्ने नारा घन्किएका छन्।
टेलिभिजन, रेडियो, पत्रपत्रिकामा पनि भारतीय अतिक्रमणको चर्को आलोचना सुनिन्छ, पढिन्छ र देखिन्छ पनि। माइतीघर मण्डला लगायतका देशका विभिन्न ठाउँमा भारतीय विस्तारवादी प्रवृत्तिको विरुद्ध स्वरूप नारा लगाउने, पुतला जलाउने काम भएको छ। राज्यको तर्फबाट परराष्ट्र मन्त्रालयले असन्तुष्टि जनाउँदै हस्ताक्षर बिनाको प्रेस विज्ञप्ति निकाल्यो।
त्यसलगत्तै भारतीय राजदूत विनय महोन क्वात्रालाई मन्त्रालयमा बोलाएर कुटनैतिक पत्र हस्तान्तरण गर्यो। प्रेस विज्ञप्ति तथा कुटनैतिक पत्रको मुलसार वार्ता मार्फत सुल्झाउ, वार्तामा बसौं, यसरी एकतर्फी रुपमा विवादित भू–भाग मिच्न पाइँदैन थियो। नरम प्रकृतिको भए पनि नेपाल सरकारले आफ्नो धारण व्यक्त गर्यो। नेपाल सरकार कछुवा गतिमा प्रस्तुत भइरहँदा भारत सरकारले नेपालको कुटनीतिक पत्रको भने वास्ता गरेको पाइएन। भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत भारतले आफ्नै भूमिमा सडक बनाएको हो। यसमा कुनै विवाद भए कोरोनाको संकट टरेपछि वार्तामा बसौंला भन्ने, वास्तानै नगरिएको जवाफ दिएको छ।
सिमा विवाद चर्किएसँगै सरकारको तिव्र आलोचना भएको छ। सदन सडकमा सरकार विरोधी आवज उठेको छ। सरकार शान्त देखिन्छ, नेतृत्व तहबाट ‘सिमा विवाद नयाँ होइन यो पुरानो विषय हो। यसको हल वार्तामार्फत हुन्छ’ भन्ने जवाफ आएको छ। केही सामाजिक अभियान्ता र नागरिक अगुवाले सिमा विवादलाई अन्तर्राष्ट्रिय अदालत लैजानुपर्ने पर्छ भन्ने अभिव्यक्ति दिएका छन्। माहाकाली क्षेत्रमा सिमा विवादको जड सन् १९४२ सुरु भएको हो। राजा महेन्द्रले भारती पक्षलाई कालापानी क्षेत्रमा बस्न दिएको अनुमतिले आज यो अवस्था निम्त्याएको हो। सन् १९४२ को सिमा समस्या अहिले २०२० सम्म पनि जिउँको तिहुँ छ।
यस अवधिमा राज्यले विभिन्न राजनीतिक परिवर्तन देख्यो। राजतन्त्रको अन्त्य, गणतन्त्रको स्थापना, संविधान सभामार्फत संविधान जारी भयो तर सिमा समस्याको कुनै हल भएन। यता सिमा अतिक्रमको समाचार थाहा पाएपछि काठमाडौं तथा देशका विभिन्न जिल्लामा विद्यार्थी संगठन, नागरिक समाजबाट नारा जुलुस हुने। प्रहरी र प्रदर्शनकारी बीच झडप हुने र सरकारी तहबाट झारो टार्ने प्रेस विज्ञप्तिले आलटाल गर्ने प्रवृत्ति रहेको छ। सिमा विवादमा नेपाली नेताको लाचारीपन उदाङ्गो देखिन्छ। किन मौन बस्छन् नेपाली नेता ?
तितो यथार्थ के हो भने नेपाल भारत सिमानामा हाम्रो भू–भाग लावरिस अवस्थामा छ। एकाध ठाउँ बाहेक धेरै ठाउँमा नेपाली जमिनको अवस्था ऐलानी जग्गाको जस्तो छ। उक्त जग्गामा नत सिमा रक्षक छन् न प्रशासनलाई चिन्ता छ। धेरै हिमाली तथा पहाडी भेगको सिमाना सुरक्षामा राज्यको उपस्थिति नै छैन। सिमानाका पिलरको केही टुंगो छैन। हिजो भएका आज देखिँदैनन्। सिमा पारि भारततिर सबै तयार अवस्थामा छन्। मौका छोपेर अतिक्रमण गरिहाल्छन्। जङ्गे पिलर रातारात गायब हुन्छ, सारिन्छ। फेरि भारत बलियो पनि छ। उसका एसएसबीले नेपाली नागरिकलाई थर्काउँछन्, बन्दुक ताक्छन्। त्यसको बाबुजुद स्थानीयले विरोध गर्छन् तर उसलाई खासै त्यसले असर गर्दैन। भारत आफ्नो विस्तारवादी अडानमा अडिग रहन्छ। कब्जाको अर्को विन्दुमा पुग्छ।
हाम्रो सरकार त्यस्तै हो, सधैं अलमल्लमा हुने। जनस्तरबाट दुईचार दिन जुलुस नाराबाजी चल्छ। केही दिनमै हामी बिर्सन्छौ तर भारत बिर्सिदैन फेरि अर्को ठाउँमा अतिक्रम गर्छ। यस्तो श्रृङखला दशकौंदेखि चलेको छ। हामी बारम्बार चुकिरहेका छौं। यो सब हुनुको पछाडि हामी कमजोर हुनु हो। हाम्रो लापरबाही पनि हो। घर सुरक्षित राख्न ढोकामा ताल्चा लगाउनु पर्छ। त्यस्तै सिमा रक्षाको लागि आफ्नो भू–भागमा काँडे तारबार लगाउनुपर्छ। हाम्रो घरको ढोकामा न ताल्चा छ न सिमानामा तारबार। घरको द्वार खुल्ला भए, सिमाना खुल्ला भए के हुन्छ भन्ने कुरा नेपाली जनताजति भुक्तभोगी को होला र ! भारतले नेपालका २६ जिल्लाका ७२ स्थानामा नेपाली जमिन अतिक्रमण गरेको छ।
सिमा विद बुद्धिनारायण श्रेष्ठ भन्छन्न्, “नेपाल र भारतबीच १ हजार ८८० किलोमीटर लामो सीमा रेखा छ। २००७ मा भंग भएको संयुक्त टोलीले सीमामा कुल ८ हजार ५५३ खम्बा गाड्नुपर्ने आंकलन गरिसकेको थियो। अहिलेसम्म ६ हजार जति मात्र खम्बा गाडिएका छन्। त्यसमध्ये करिब १ हजार ७०० थान खम्बा उखेल्ने, भत्काउने, खोलाले बगाउने र लोप पार्ने काम गरिसकिएको छ”। कालापानी, लिपुलेख, सुस्ता लगायतका धेरै तराईका जिल्लामा सिमा विवाद रहेको छ। दिनहुँ सिमानामा नेपाली जनताले भारती एसएसबीको दादागिरी एवम् ज्यादती सहनुपरेको छ। सिमा सारिने क्रम बढ्दो छ। यस्तो अवस्थामा भारतसँगको सिमा विवाद कहिले अन्त्य हुन्छ ? भन्ने प्रश्न आम नेपाली जनताको छ। यसको उत्तर दिने एकमात्र निकाय भनेको नेपाल सरकार हो। तर सरकारको काम कार्वाहीमा समस्या समाधान गर्ने छनक आजको मितिसम्म छैन।
नेपाल सरकार उसका मन्त्री बेलाबखत भारत भ्रमण गहिरहन्छन्। प्रायः नेपाली प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुन्छ। द्विपक्षीय सभा सम्मेलन हुन्छन्, विमेस्टिक तथा सार्क स्तरीय बैठक हुन्छन्। कयौं विषयमा छलफल हुन्छ, सन्धि सम्झौता हुन्छ तर भारतसँगको सिमा विवाद, उसको विस्तावादी हेपा प्रवृत्तिमा किन नेपाली नेता छलफल गर्दैनन् ? नेपाल आमामाथिको अतिक्रमणले सत्तामा बसेका हुनहार छोराछोरीको मन अलिकति पोलेको छैन र ? तमाम जनताको आँसुको भेलले यीनलाई छोएन र ? सत्तामा बसेका नेतृत्व तहको काम आफ्ना मानिसको संरक्षण गर्नुमात्र हो ? वर्तमान अवस्थामा त्यस्तै दृश्य देखिन्छ।
नेताहरु आफू अनुकूल लाभमा अल्झिएका छन्। यीनै अल्झन र स्वार्थको परिणाम आम नेपाली जनताले भोग्नुपरेको छ। दिनहुँ सिमानामा नेपाली जनताले भारतीय सिमा सुरक्षा बलको कुटपिट, सिमा मिचेको सरकारलाई दुख्दैन ? सिमानाका पिलर गायब भएको घटनाले पिल्सिदैन ? जनताको पीडा नबुझ्ने कस्तो राष्ट्रवादी नेतृत्व हो। सिमा रक्षामा सुरक्षा चुक्ने कस्तो राष्ट्र प्रेम हो। राष्ट्रवादीको मामिलामा नेताहरु कडा भाषणमा सिमित छन्। वास्तविक राष्ट्रवादी र देशप्रेम सिमाका जनतामा देखिन्छ। अहोरात्र सिमामा खटिएको छन्। मातृभूमिको रक्षाका निम्ति सधैं तयार छन्। खासमा राष्ट्रवादी को हुन् त ? राष्ट्रवादीको परिभाषा के हो त ?
राष्ट्रवादी शब्द आफैमा पवित्र र महान छ। यसलाई आत्मसाथ गरेर हिड्ने मानिस अझ बढि पवित्र र महान हुन्छन्। नेपाली सन्दर्भमा राष्ट्रवादी शब्दको अर्थ विभिन्न काल खण्ड अनुसार फरक थिए र शासन सत्तासँगै राष्ट्रवादीको परिभाषा परिवर्तन भएको पाइन्छ। पहिला पहिला राजाको गुणगान जसले गायो त्यो मानिस विशिष्ट श्रेणीको राष्ट्रवादी मानिन्थ्यो। हिजो आज राष्ट्रवादीको व्याख्या विश्लेषण राजनीतिक दलगतको आ–आफ्नै किसिमको छ। काँग्रेसको आफ्नै व्याख्या छ। नेकपाको आफ्नै छ। मधेशवादी तथा राजावादीको आफू अनकुलको व्याख्या र विश्लेष्ण छ। विखण्डनकारी जमातको आफ्नै व्याख्या छ। यस्तो स्थितिमा असली रष्ट्रवादी कसलाई भन्ने ?
राष्ट्रियताको सवालमा त नेपाली समाज पुर्णरुपले विभाजित जस्तै छ। समान्यतया हाम्रो समाजमा पोशाक र भाषलाई राष्ट्रियताको मापन गर्ने माध्यमको रुपमा हेरिन्छ। गणतन्त्रभन्दा अगाडिको माहोलले त्यस्तै सिकायो। जुन व्यक्तिले बहुसंख्यक तथा मुलधार समुदायको पहिरन लगाउँछ त्यो व्यक्तिमा राष्ट्रियता झल्किएको मानिन्छ। अर्थात दौरा सुरुवाल टोपीमा सजिने जतिमा राष्ट्रियता झल्किने भयो भने अरुमा अराष्ट्रियता। धोति कुर्ता लगाउने, बक्खु दोचामा राष्ट्रियता देख्दैन हालको नेपाली समाजले। के यीनै कारक तत्व हुन् जसले राष्ट्रियता मापन गर्ने ? के दौरा सुरुवाल टोपी लगाउने मात्र सच्चा राष्ट्रवादी हुन् त ?
वास्तवमा राष्ट्रवाद प्रत्येक मानिसको धर्म हुनुपर्छ । राष्ट्रियता प्रत्येक नागरिकको कर्ममा झल्कनुपर्छ। प्रत्येक मानिसले आफ्नो जीवनकालमा राष्ट्रको हित हुने काम गर्नुपर्छ। राष्ट्रलाई प्राण भन्दा प्यारो ठान्नुपर्छ। राष्ट्रिय स्वाधिन्ता र अखण्डताका निम्ति बलिदान दिन हरबखत तयार हुनुपर्छ। जुन नागरिकमा यस्तो भावना छ। देशप्रेम छ। क्षमता छ। त्यस्ता नागरिक राष्ट्रवादी हुन्। वैज्ञानिक लुजेन्द्र ओझाले मङगल ग्रहमा पानी रहेको तथ्य सार्वजनिक गरे। उक्त पानी रहेका ठाँउलाई नेपाली भुमीको नामकरण दिए। रारा, फेवा , मुस्ताङ इत्यादि। डा. सुन्दुक रुइत, भगवान कोइरालाले, विदेशी विलासीतालाई लत्याएर स्वदेशमै स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार ल्याए। त्यस्तै महाबिर पुन, अनुराधा कोइरालाले पनि नेपाली समाजको हित हुने कार्य गर्न सदैब तम्तयार छन्। नालापानीको लडाँइमा अमर सिंह थापाले, सप्तहरी तिलाँठीका देबनारायण यादबले मातृभुमीको र क्षाका लागि ज्यान दाउमा राखेर लडे। यी व्यक्तित्वहरु सच्चा राष्ट्रवादी हुन्। यी महान व्यक्तिका क्रियाकलापलाई राष्ट्रवादीको परिभाषामा समेट्नुपर्छ। व्यक्तिका पुतला जलाएर र नारा लगाएर राष्ट्रवादी हुँइदैन। राष्ट्रवादीको तक्मा पाउनलाई राष्ट्रप्रति त्याग, तपस्या र बलिदान दिन तम्तयार हुनुपर्छ।
राष्ट्रियताको विषयमा निश्चित भूगोल भेषभुषा, भाषा, रहन सहन, धर्म, संस्कृतिलाई मात्र मान्नु गलत हुन्छ। नेपाली भूभागमा बस्ने हरेक मानिसका भेषभुषा, भाषा, रहन सहन, धर्म, संस्कृतिलाई समान सम्मान हुनुपर्छ। सिमानामा बस्नेलाई पाखा र बीचमा बस्नेलाई काखा गरिनु हुँदैन। सबैका परमपरालाई समानरुपले हेरिनुपर्छ। यदि कसैले एकात्मक तवरले लाद्न खोजे त्यसको नतिजा राम्रो हुँदैन। यस्तै कुराले समाज विभाजित हुन्छ। संसारमा धेरै उदाहरण छन् यी भाषा, भेषभुसा, धर्मका कारणले विवाद उत्पन्न भएर राष्ट्र नै विभाजन भएको। दक्षिण सुडान र उत्तर सुडान यसको ज्वलन्त उदाहरण हो। त्यसैले राष्ट्रियताका नाम कसैले कसैलाई पनि दुर्ववहार गर्नुहुन्न। यदि कसैले त्यस्तो गर्छ भने त्यो अपराध हो। बहुसंख्याका आधारमा कसैमाथि तमासिनु, अपहेला गर्नु कानुन बिपरित हो। धार्मिक सैहिसुणता, स्वतन्त्रता, समनाताको रक्षा नै सच्चा राष्ट्रियताको मेरुदण्ड हो।
केही वर्ष अगाडि सप्तहरीको तिलाठीमा नेपाली जनताले भारतीय अतिक्रमणको प्रतिकार गर्दा, आफ्नो मातृभूमिको रक्षा गर्दा केही नेपाली घाइते भए। देभर उक्त घटनाले ठुलो स्थान पायो, घाइतेप्रति साहानुभुतिको भेलबाडी प्रकट भयो । धेरैले उनीहरुलाई राष्ट्रवादीको उपमा दिए। सोहि घटनाका घाइते देबनाराण यादवलाई उपचारका लागि काठमाडौं बोलाइयो। उनको चर्चा समाजिक सञ्जालमा अधिक भयो। देश विदेशबाट उनलाई सिघ्र स्वास्थ लाभको कामना गरियो। यहि क्रममा केहि व्यक्तिले उनको कार्यलाई सम्मान गर्न अस्पतालको सैयामा ढाका टोपी लगाइदिए। यस घटना पछि फेरी बहस सुरु भयो। के राष्ट्रवादी कहलिन, कहलाउनलाई ढाका टोपी लगाउन जरुरी छ ? राष्ट्रियतालाई बस्त्रसँग तुलना गर्दा धेरै समस्या उत्पन्न हुन्छ। राष्ट्रियता मनमा हुनुपर्दछ पहिरनमा होइन। समाजको प्रत्येक तहतप्कामा भएका मानिस सबै समान छन्। एउटा जात वर्ण, भाषा, लगालाई राष्ट्रियतासँग तुलना गर्नु न्याचित हुँदैन।
अन्ततः राष्ट्रको सिमा सुरक्षा सबै नागरिकको धर्म हो। के पहाड के हिमाल, तराई, सबै जनतामा देशप्रेमको, राष्ट्र विकासको भावना हुनुपर्छ। अनिमात्र राष्ट्र अग्रगामी हुन्छ। अनिमात्र सयौं थुङ्गा फूलको एउटा, अमर अनमोल र अविरल माला भइन्छ।