ब्राजिली राष्ट्रपति बोल्सोनारोले कोरोना महामारीलाई गम्भीर रुपमा लिएनन्, फेरि गरे लकडाउन उल्लघंन

बिएल संवाददाता

रियाे दि जेनेरियाे

विश्वमै सबैभन्दा धेरै कोरोना भाइरस संक्रमित हुने देशको सूचिमा दक्षिण अमेरिकी देश ब्राजिल चौथो स्थानमा पुगेको छ। 

ब्राजिलमा दैनिक १५ हजार हाराहारीमा मानिस संक्रमित भएका छन्। ब्राजिलमा अहिलेसम्म दुई लाख ४१ हजार ८० जनामा संक्रमण पुष्टि भएको छ। 

त्यसमध्ये ९४ हजार १२२ जना संक्रमण मुक्त भएर घर फर्किएका छन्। ब्राजिलमा हालसम्म कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या १६ हजार ११८ पुगेको छ।

ब्राजिलका स्वास्थ्य विज्ञहरुले संक्रमितको वास्तविक संख्या अहिले बाहिर आए भन्दा धेरै हुन सक्ने बताएका छन्। पर्याप्त मात्रामा परीक्षण नभएकाले संक्रमितको संख्या बढी भए पनि थाहा नभएको हुन सक्ने बताइएको छ।

राष्ट्रपति जायर बोल्सोनारोले कोरोना भाइरस महामारीलाई गम्भीर रुपमा लिएका छैनन्। 

उनले लकडाउन आवश्यक नरहेको र कोरोना भाइरस ‘सामान्य फ्लु’ जस्तै रहेको बताउने गरेका छन्। उच्च जोखिमबीच पनि राष्ट्रपति बोल्सोनारोले व्यायामशाला तथा सैलुनहरू खोल्न आदेश दिएका छन्।

बोल्सानारो लकडाउन हटाएर व्यवसायहरू सञ्चालन गर्ने पक्षमा रहँदै आएका छन्। सोही कारण ब्राजिल भित्रै र अन्तर्राष्ट्रिय तहमा पनि उनको आलोचना भइरहेको छ।

आइतबार राजधानी साओ पाउलोमा आफ्ना समर्थक र बालबालिकासँग तस्बिर खिचाउने क्रममा सामाजिक दूरी कायम गर्न भनि गरिएको आग्रह उनले अस्वीकार गरे।

साओ पाउलोका मेयर ब्रुनो कोभासले शहरमा कडा लकडाउन लागु गर्नु पर्ने माग गरेका छन्। त्यसका लागि आफूले राज्यका गभर्नरसँग कुरा गरिरहेको बताएका छन्। प्रहरीको नियन्त्रण गभर्नरको हातमा छ। लकडाउन प्रभावकारी बनाउन गभर्नरको साथ र उनका सहयोगीको समर्थन चाहिन्छ।

प्रकाशित मिति: : 2020-05-18 08:48:07

प्रतिकृया दिनुहोस्