सुरक्षा र स्वास्थ्यकर्मीलाई घरबेटीले प्रवेश रोके कारबाही गरिने

बिएल संवाददाता

काठमाडाै‌ं

गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रणका क्रममा अग्र भागमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गरिए प्रशासनिक कारबाही गर्ने चेतावनी दिएको छ। 

घर भाडामा बस्‍ने तथा दिउँसो ड्युटी गरेर फर्कने सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई घरबेटीले प्रवेश रोक्‍ने र घरबाटै निस्कन धम्की दिने जस्ता गुनासो आएको भन्दै गृह मन्त्रालयले त्यसप्रति आफ्‍नो ध्यानाकर्षण भएको जनाएको छ।

यस्ता किसिमका अमानवीय घटना भएमा तत्काल संलग्‍नमाथि कारबाही गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए।

यस्तै विभिन्‍न जिल्लामा कोठा भाडामा बसेकालाई ई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवागमनका क्रममा दुर्व्यवहार गर्ने, कानून विपरितका कार्यहरु गरी निजहरुको मनोबल गिराउने, स्थानीय केही व्यक्तिहरुबाट स्वास्थ्य सुरक्षा सर्तकताको नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि बाधा पुर्‍याउने जस्ता गतिविधि तत्‍काल नियन्त्रण गर्न देशभरका प्रशासन कार्यालाई निर्देशन दिएको छ। 

यस्ता गतिविधिमा संलग्नहरुलाई संक्रामक रोग २०२० र स्थानीय प्रशासन ऐन २०२८ तथा मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार कारबाही गर्न सकिने व्यवस्था भएको उनले बताए।

प्रकाशित मिति: : 2020-05-17 21:22:41

प्रतिकृया दिनुहोस्