नरैनापुरमा उच्च सर्तकता: मृतकको दाह संस्कार आजै

जिल्लास्थित नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २४ वर्षीय युवाको मृत्यु भएपछि उच्च सर्तकता अपनाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसबाट मृत्यु भएको पुष्टि गरेसँगै गाउँपालिकामा उच्च सतर्कता अपनाइएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेलगत्तै बसेको गाउँकार्यपालिकाको आकस्मिक बैठकले  नरैनापुरमा रहेका १२ वटै क्वारेन्टाइनलाई उच्च सुरक्षाका साथ २४ सैं घण्टा स्वास्थ्यकर्मीको निगरानीमा राख्ने निर्णय गरेको छ।

गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले आकस्मिक बैठक बसेर उच्च सर्तकताका साथै सावधानी अपनाउने, क्वारेन्टाइनमा अनिवार्य स्वास्थ्यकर्मी परिचालन तथा सेना परिचालनको लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरिएको जानकारी दिए। अहिले त्यहाँ शसस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ। ‘एक जनाको मृत्यु भएसँगै उच्च जोखिमको महशुस भएको छ। सेना परिचालनदेखि शिल गर्ने सम्मका विषयमा कुराकानी भइरहेको छ। दुई वटा एम्बुलेन्स पूर्वतयारी अवस्थामा राखेका छौ,’ बिएल नेपाली सेवासँग कुराकानी गर्दै उनले भने। यसअघि प्रत्येक क्वारेन्टाईनमा दुई जना स्वास्थ्यकर्मी खटिदै आएको भए पनि स्वास्थ्यकर्मीलाई उच्च सर्तकताका साथ  परिचालन गर्ने समेत निर्णय भएको उनले बताए।

अध्यक्ष शाहले  तीन सदस्सीय उच्च हाइ अलर्ट समिति बनाइएको बताए। उक्त समितिले गाउँपालिका भरि रहेको क्वारेन्टाइनको अवस्थाको विषयमा  जानकारी आदान प्रदान गर्ने  उनको भनाई छ। यस्तै प्रत्येक क्वारेन्टाइनमा फोकल पर्सन समेत तोकिएको छ। 

मृतकका भाई समेत क्वारेन्टाइनमा

आइतबार बिहान मृत्यु भएका २४ वर्षिय पुरूष नरैनापुर–५ नयाँ बस्तीका हुन्। उनका भाइ समेत  उक्त क्वारेन्टाइनमा बसेका छन्। दुवै जना भारतमा मजदुरी गर्थे।  दुवै जना भारतको मुम्बईबाट नेपाल आएका थिए।  उनीहरु गत वैशाख ३० गते दिपेन्द्र मावि भोजभगवानपुरमा रहेको क्वारेन्टाइनमा राखिएको थियो।  

क्वारेन्टाइनमा दाइको मृत्यु भएपछि उनका भाइले आफ्ना दाइको अन्तिम पटक भए पनि मुख हेर्न पाउनुपर्ने माग समेत गरेको बताइएको छ। उनले गाउँपालिकाका अध्यक्षलाई नै दाह संस्कार गर्नुभन्दा पहिला एक पटक अनिवार्य दाइलाई हेर्न पाउनुपर्ने इच्छा जायर गरेका छन्।  मृतकका श्रीमती र बच्चासमेत रहेको गाउँपालिकाले जनाएको छ।

स्वास्थ्य कार्यालय बाँकेले ती युवामा उच्च ज्वरोको समस्या रहेको जनाइएको छ। आइतबार बिहान मृत्यु हुनअघि उनले लगातार चार पटकसम्म वान्तासमेत गरेका थिए। यता क्वारेन्टाइनमा राम्रो व्यवस्था नभएको भन्दै विरोध समेत जनाएका थिए। गाउँपालिकाले अब सबै क्वारेन्टाइन व्यवस्थित बनाउने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष शाहले उनको उच्च सर्तकताका साथ आजै अन्त्यष्टि गरिने जानकारी दिए।

प्रकाशित मिति: : 2020-05-17 18:41:14

प्रतिकृया दिनुहोस्