‘टोपी लगाउने केपी ओली कि धोती लगाउने राजेन्द्र महतोले सीमा रक्षा गर्ने?’

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले सरकार सीमा रक्षा गर्न असफल भएको बताएका छन् । शुक्रबार संघीय संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम माथि शुरु भएको छलफलमा भाग लिदै नेता महतोले सरकार सीमा रक्षा गर्न असफल भएको बताएका हुन् ।

“७० वर्षदेखि मिचिएको सीमा रक्षा गर्न कसले रोक्यो” महतोले प्रश्न गरे, “सीमा रक्षा गर्न नसक्ने सरकारलाई के भन्ने ?” उनले सीमा सुरक्षा सरकारले गर्नुपर्ने बताए ।

महतोले भने, “दौरासुरुवाल र टोपी लगाउने केपी ओलीले गर्ने कि धोती लगाउने राजेन्द्र महतोले गर्ने सीमा गर्नुपर्ने हो ?” मधेशी दलहरु सीमा अतिक्रमणबारे नबोलेको प्रसंग उठाउँदै उनले भने, “सीमा जोगाउन नसकेर सरकारले राष्ट्रघाती काम गरेको छ ।”

महतोले यो सरकार असफल, नालायक, अपराधी भएको आरोप नै लगाए । नीति तथा कार्यक्रमलाई भने महतोले रामायण र महाभारतको संज्ञा दिए । “अहिले महाभारत र रामायण पढ्ने बेला हो ?”, उनको प्रश्न थियो ।

२७६ बुँदामा आएको नीति तथा कार्यक्रमलाई महतोले इतिहासकै लामो भएको र अनावश्यक भद्दा बनाइएको बताए । “देशका सवै अंग, मजदुर, किसान, व्यापारी देखि भिखारीसम्म महामारीबाट आक्रान्त छ । तर, नीति तथा कार्यक्रमले यसबारे ध्यान दिएको छैन”, उनले भने ।

सरकार झिनामसिना कुरातिर लागेको महतोले बताए । “कुर्सी जोगाउनेतिर मात्रै ध्यान गएको छ । संकट जोगाउनेतिर ध्यान छैन”, उनले भने ।

घोषणापत्र नेकपाको घोषणापत्र जस्तो भएको टिप्पणी गरे । “राजनीतिक स्थीरताबारे कुरा गरिएको छ । तर, सरकारले अध्यादेश ल्याउँछ । यसरी संविधान र लोकतन्त्रको सुरक्षा हुन्छ ?”, उनले भने ।

प्रकाशित मिति: : 2020-05-17 14:05:00

प्रतिकृया दिनुहोस्