संस्मरण
हामी पृथ्वीका दुई दिने पाहुना न हौं। कति सुन्दर छ प्रकृति ! कति रमाइलो छ मानव चोला। सुखदुःख एकै सिक्काका दुई पाटा। जीवनमा उतारचढाव भइरहन्छ नै। आधुनिक गीत ‘फूलैफूल मात्र पनि होइन रहेछ जीवन, काँडाबीच फूल्ने फूल रैच जीवन’ भनेझैं।
हामीले जीवनमा आइपर्ने बाधासँग जुध्नुपर्छ। प्रिय चीज गुमाउँदा सबैलाई दुःख लाग्छ। मान्छे जन्मेपछि एक दिन मर्नै पर्छ। यो प्रकृतिको नियम हो। मलाई लाग्छ जीवन भनेकै एउटा सम्झौता हो। आफैंसँग गर्ने सम्झौता। मौसम जस्तै मान्छेको मन पनि चौबिस घण्टामा धेरैपटक बदलिन्छ। चञ्चले मनलाई स्थिर बनाउने रिमोट कन्ट्रोलचाहिँ हाम्रै हातमा हुन्छ। वास्तवमा हामीसँग जे छ त्यसैमा सन्तुष्ट हुन सके दुःखी भइन्न।
ईष्र्याडाह गर्नु भनेको आफैंलाई दुःखी बनाउनु हो। सबैसित आफन्ती व्यवहार गर्नु महानता हो। मानिस जन्मन्छ। अभिभावकले दुःख गरेर हुर्काउँछन्। हरेक अभिभावक आफ्ना आँखाका नानीहरूको भविष्य उज्ज्वल होस् भन्ने चाहन्छन्। राम्रो शिक्षादिक्षा मिलोस्। राम्रो जागिर मिलोस। घरबार राम्रो होस् र मानसम्मान बढोस् भनेर खटिन्छन्।
प्रत्येक मानिसको जीवन कता मोड्ने भनेर दिशानिर्देश गर्ने उमेर भनेको पन्ध्रदेखि पच्चीस वर्षसम्म हो। हामीले यस उमेरमा जीवनलाई राम्ररी अवतरण गर्न दुःखैदुःख गर्नुपर्छ। भाग्य भन्ने कुरा हाम्रै हातमा हुन्छ। हामीले खोजेमा भाग्यले पनि साथ दिन्छ, अन्यथा सफल भइन्नँ। त्यसैले बूढापाका भन्छन्, ‘भाग्यमा छ भन्दैमा डोकामा दूध अड्दैन।’
सोच्छु हाम्रा पुर्खाहरू आफ्नो भाग्य तथा कर्म खोज्न गामबेंसी गर्थे। उनीहरू मुग्लानसम्म पुग्थे। विदेशिनु बाध्यतै छ अझै हाम्रो। घरआँगनमै सुन फलाउन सके को जान्थ्यो र विदेश ?
विदेश पलायन हुनुलाई कसरी नराम्रो भनूँ ? आधुनिकताको बलले एक्काइसौं शताब्दीमा विश्व ‘ग्लोवल भिलेज’ बनेको छ। सूचना, प्रविधि र विज्ञानले गर्दा कोही टाढा छैन। जो जहाँ रहे पनि नजिकै भएको अनुभूति हुन्छ।
विदेशमा राम्रो जागिर पाउनु, शिक्षादिक्षा पाउनु र स्वदेशमा रेमिट्यान्स भित्र्याउनु सकारात्मक पक्ष हुन्। यस्तै गाउँहरू रित्तिँदै जानु, युवाविहीन बन्दै जानु, उर्वर जमिन बाँझो हुँदै जानु र विकृति÷विसंगति मौलाउनुचाहिँ नकारात्मक कुरा हुन्। यसमा सरकार गम्भीर हुनुपर्छ। विशेषतः सरकारले आफ्ना नागरिकका लागि स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्छ।
यसो भनिरहँदा मलाई त्यो जुनेली रातको सम्झना आउँछ। दुई दशकभन्दा अघिको त्यो रातभर शोकका आँसु झारेका थियौं हामीले। अहिले सम्झँदा पनि आँखा रसाउँछ। सम्झन चाहन्न म नमिठो खबर बोकेर आएको त्यो रात।
उहाँ पनि आफ्नो भाग्य खोज्न, परिवारको खुसीका लागि बीस वर्षे जवानीमा भारतीय सेनामा भर्ती हुनुभयो। बाउबाजेको बिँडो थाम्न लाहुरे बनेपछि जसको नून खायो उसको सोझो त गर्नै प¥यो। भारतको लदाखमा सीमा रक्षार्थ खटिँदा उहाँ बित्नु भएछ।
जुनेली रात, म मामाघरमा सुतेको थिएँ। राति बिउँभिंmदा सबै रुँदै थिए। त्यो देखेर म छक्क परें। मलाई असाध्य माया गर्ने साइँला मामा वीरबल गुरुङ बित्नुभएको रहेछ !
रातभरि आँसु बगिरह्यो। त्यसरी म कहिल्यै रोएको थिइनँ। ती मामाले अलइन्डिया रेडियोबाट बोल्दा गाउँमा भएका हामी सबै खुसी भएका थियौं। उहाँले हामीलाई उपहार दिनुहुन्थ्यो। गाउँमा हुने साँस्कृतिक कार्यक्रमहरूमा कम्मर मर्काइमर्काइ नाच्नुहुन्थ्यो। ती दृश्य क्यामेराको रिलझै दिमागमा फनफनी घुमिरहन्छ अहिले पनि।
सत्य हो, जन्मेपछि मर्नु पर्छ। तर, कसैको मृत्यु भुल्नै नसकिने ज्यादै दुःखद हुँदो रहेछ। यो संसारमै मामा हुनुहुन्न। तर, उहाँको आत्माचाहिँ हामीसँगै बसिरहेको जस्तो लाग्छ।
त्यतिबेला गाउँमा टेलिफोन वा इन्टरनेट सुविधा थिएन। पोखराबाट हुलाकी दाइ थैलामा चिठी बोकेर हाम्रामा आउँथे। मामा बितेको खबर लिएर उनी राति आइपुगेका रहेछन्। उनले ल्याएको दुखद खबरले मावलीलाई मात्र होइन, सिंगो गाउँलाई नै रुवायो।
निर्दयी दैवले अकालमै टिप्यो मामालाई। उहाँसँगका अनुभूतिहरू सम्झनाका डायरीमा सुनौला अक्षर बनेर सजिएका छन्। मामा, तपाईंलाई हामी सम्झिरहेका छौं !
(गुरुङ हिमालय मिलन मावि ताङतिङ, कास्कीका प्रधानाध्यापक हुन्।)