नेपालमा कोभिड-१९ बाट पहिलो मृत्यु पुष्टि, मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षिय महिला

काभ्रेको धुलिखेल अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको मृत्यु कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट भएको पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार अबेर साँझ यसको पुष्टि गरेको हो। मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै  सिन्धुपाल्चोक बाह्रविसेकी महिलाको मृत्यु कोरोना भाइरसबाट भएको पुष्टि गरेका छन्।

गत जेठ १ जेठ गते राति मृत्यु भएकी ती महिलामा धुलिखेल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको सबै परीक्षणमा कोभिड–१९ पुष्टि भएको थियो।

त्यसपछि उनको मृत्यु कोरोना भाइरस संक्रमणकै कारण या अन्य रोगले भएको हो भन्ने पत्ता लगाउन स्वास्थ्य मन्त्रालयले आज तीन जना चिकित्सकको टोलीसमेत धुलिखेल अस्पताल पठाएको थियो।

मन्त्रालयबाट खटिएको डा. दीपेन्द्ररमण सिंह, डा. गुणराज लोहनी र डा. प्रमोद सिंखडाको टोलीले ती महिलाको मृत्यु कोरोना भाइरस संक्रमणकै कारण भएको निष्कर्ष निकालेको हो।

गएको २४ वैशाखमा काठमाडौंको महाराजगञ्जस्थित् त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुत्केरी भएकी उनी त्यसको भोलिपल्ट डिस्चार्ज भएकी थिइन्।

त्यसपछि सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका-९, राम्चे (घर) गएकी उनमा उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि १ जेठमा बाह्रविसे स्वास्थ्य केन्द्र लगिएको थियो।

त्यहाँबाट रेफर गरिएकी उनको १ जेठमै राति ११ बजे धुलिखेल अस्पतालमा मृत्यु भएको थियो।

यो नेपालमा कोभिड–१९ कारण भएको मृत्युको पहिलो घटना हो। ती महिलाको शव दाहासंस्कारका लागि पशुपति आर्यघाट पुर्‍याइएको छ।

मृतकको शव नेपाल प्रहरी र सेनाको टोलीले ल्याएको हो। मृतकलाई शवबहानमा राखेर र अगाडि पछाडि सेना र प्रहरीले स्कर्टिङ गरेर पशुपति आर्यघाट ल्याइएको थियो।

माघ ९ पहिलोपटक नेपालमा कोरोना भाइरस संक्रमण देखिएको थियो। त्यसको करिब ४ महिना भित्रमा नेपालमा संक्रमितको संख्या २८१ पुगेको छ भने यसमध्ये ३६ जना निको भएर घर फर्किसकेका छन्। एक जनाको मृत्यु भएको हो।

प्रकाशित मिति: : 2020-05-16 21:23:20

प्रतिकृया दिनुहोस्