अमेरिकी संसदमा दोस्रोपटक १,२०० राहत दिने विधेयक पारित, सिनेटमा के होला ?

बिएल संवाददाता

वासिङ्टन डीसी- अमेरिका

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सले दोस्रोपटक एकहजार दुईसय डलर राहत दिने प्रस्तावसहितको दि हिरोज एक्ट पारित गरेको छ। रिमोट मतदान गरी पारित गरिएको विधेयकको पक्षमा २०८ र विपक्षमा १९९ मत परेको थियो ।

धेरैजसो सांसदले मतदान पार्टी लाइनमै गरे पनि एकजना रिपब्लिकन र १४ जना डेमोक्रेट्सले फ्लोर क्रस गरेका थिए ।आआफ्नो निर्वाचन क्षेत्रका मतदाताको झुकावअनुसार उनीहरूले फ्लोर क्रस गरेका थिए।

तीन खर्व डलरको द हिरोज बिल अब संसदको माथिल्लो सदन सिनेटमा पठाइने छ। तर, रिपब्लिकन बहुल रहेको सिनेटमा यो बिल प्रस्तुत गरिनेमै आशंका गरिएको छ। राष्ट्रपति ट्रम्प र उनका कट्टर समर्थक सिनेटरले यसलाई यसअघि नै मृत विलको संज्ञा दिइसकेका छन्। 

बिलमा प्रति परिवारलाई ६ हजार डलरसम्म पाउनेगरी दोश्रो चरणको राहत रकम करदाताको खातामा पठाउने, कोरोनाका कारण काम गुमाएकालाई जनवरीसम्म साप्ताहिक ६०० अमेरिकी डलर दिने, एक खर्ब डलर राज्य सरकार र स्थानीय सरकारलाई उपलब्ध गराउने, अत्यावश्यक कामदारका लागि २०० बिलियन डलर दिने, ७५ बिलियन कोरोना भाइरस टेस्टमा उपलब्ध गराउनेलगायतका विषय समावेश गरिएका छन्।

प्रकाशित मिति: : 2020-05-16 05:58:42

प्रतिकृया दिनुहोस्