विश्वव्यापी कोरोना संक्रमण सूचीकाे एघारौं स्थानमा भारत, चीनसमेत पछि पर्‍याे

भारतले कोरोना संक्रमणमा चीनलाई उछिनेको छ। भारतमा शुक्रबारको पछिल्लो बिरामी संख्या चीनभन्दा १३९ जना बढी छ।

भारतमा ८३ हजार ०७२ जनामा संक्रमण पुष्टि भएको छ। चीनमा अहिलेसम्म ८२ हजार ९३३ जना संक्रमित छन्। शुक्रबार एक दिनमै भारतमा १ हजार ०७५ जनामा संक्रमण फेला परेको छ।

भारतको कोरोना मृत्यु भने चीनको तुलनामा झन्डै आधा छ। चीनमा अहिलेसम्म ४ हजार ६३३ जनाले ज्यान गुमाएका छन्। भारतमा यो संख्या २ हजार ६६२ छ। पछिल्लो २४ घन्टामै भारतमा सय जनाभन्दा बढीले ज्यान गुमाएका छन्।

योसँगै विश्वव्यापी कोरोना संक्रमण सूचीमा भारत एघारौं स्थानमा पुगेको छ। यसअघि चीनभन्दा एक स्थान तल थियो। भारतमा कुल बिरामीमध्ये ५१ हजार ६१८ जनामा काेराेना भाइरस सक्रिय रहेको तथ्यांकले देखाउँछ। 

महाराष्ट्र भारतकै कोरोना  भाइरसकाे ‘हटस्पट’ हो।  यहाँ अहिलेसम्म २७ हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ। चौथो स्थानमा रहेको दिल्लीमा ८ हजार  ४७० जना बिरामी छन् भने सातौं स्थानको उत्तरप्रदेशमा ३ हजार ९०२, आठौं स्थानको पश्चिम बंगालमा २ हजार ३७७ र दसौं स्थानको पञ्जाबमा १ हजार ९३५ जना संक्रमित छन्।

 मुम्बईमा १६ हजार ७३८ जना कोरोना बिरामी रहेको छन्।

भारतमा केही दिनयताको कोरोना परीक्षणमा त्यस्ता व्यक्ति बढी संक्रमित पाइएका छन्, जो हालसालै अर्को कुनै ठाउँबाट फर्केका थिए। नेपालसँग सीमा जोडिएका बिहार, उत्तरप्रदेशसहित झारखण्ड, उडिसा, छत्तीसगढ, आन्ध्राप्रदेश, तेलंगना, गोवा लगायत राज्यमा यही अवस्था छ।

बिहारमा मात्र बिहीबार ४७ जना नयाँ बिरामी फेला परेका छन्।  बिहार सरकारले विभिन्न राज्यबाट फर्केका कामदारमध्ये ४ हजार २७५ जनामा कोरोना परीक्षण गर्दा ३२० जनामा ‘पोजिटिभ’ नतिजा आएको थियो। 

भारतका २८ राज्यमध्ये बिहारमा कोरोना संक्रमित संख्या उच्च दरले बढिरहेको छ। अहिलेसम्म यहाँ हजार जना बिरामी फेला परेको छ।

शुक्रबार साँझसम्म संसारभरि कोरोना संक्रमण संख्या ४५ लाख नाघेको छ भने ३ लाख ४ हजारभन्दा बढीको ज्यान गएको छ। यीमध्ये १७ लाखभन्दा बढी निको भइसकेका छन्।

प्रकाशित मिति: : 2020-05-15 21:53:06

प्रतिकृया दिनुहोस्