संक्रमित भागे गोलीसम्म हान्न सक्ने सुरक्षाकर्मीलाई अधिकार

जिल्ला प्रशासन कार्यालय पर्सामा बिहीबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले संक्रमित अस्पतालबाट भाग्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिन गोली हान्नेसम्मको अधिकार सुरक्षाकर्मीलाई दिने निर्णय गरेको छ ।

बुधबार नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका दुई जना कोरोना संकमित व्यक्ति शौचालय जाने बहानामा शौचालयको भेन्टिलेटर फोडेर भागेका थिए । केन्द्रको बैठकमा यसरी भागेकालाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई परेको कठिनाई र उनीहरु सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचानमा समस्या भएको भन्दै कठोर निर्णय लिन परेको सहायक जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।

उनका अनुसार गोली हान्ने भन्दा पनि भाग्नेहरुलाई निरुत्साहित गर्न यस्तो निर्णय लिनु परेको हाे । उनले भने, “संक्रमित भाग्दा ठुलो क्षति हुने देखिएकाले नियन्त्रणका लागि गोली हान्नेसम्मको अधिकार दिइएको हो, तर गोली हानी हाल्ने भन्ने होइन ।”

बैठकले संक्रमित व्यक्ति भाग्न नदिन सुरक्षा निकायले उच्च सुरक्षा सतर्कता अपनाउने, भाग्न खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने र यसको लागि सुरक्षा निकायलाई गोली समेत चलाउने अधिकार प्रदान गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीको अध्यक्षतामा बसेको बैठकमा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगी, अस्पतालका मेसु डा. मदन उपाध्यायसहित चारै सुरक्षा निकायका जिल्ला प्रमुख उपस्थित बैठकले स्थानिय प्रशासन ऐन अनुसार सेना परिचालन समेतको निर्णय गरेको छ ।

बैठकले नारायणी अस्पताललाई कोभिड–१९ अस्पतालको रूपमा संचालनमा ल्याइएकोमा कोभिङ–१९ का संक्रमित व्यक्तिहरू बढन थालेपछि तत्कालको लागि कोभिड–१९ को संक्रमण पुष्टि भएता पनि कुनै लक्षण नदेखिएका व्यक्तिहरूको लागि सिद्धार्थ माविमा आइसोलेन वार्ड स्थापना गरी राख्ने निर्णय गरेको थियो ।

जिल्लामा कोभिड १९ संक्रमणका शंकास्पद व्यक्तिहरू बढ्दै गएकोले त्यस्ता व्यक्तिहरूमध्ये स्वास्थ्यकर्मीहरूलाई क्वारेन्टिनको रूपमा पहिचान गरिएका होटलमा र अन्य सबैलाई संकट व्यवस्थापन केन्द्रले तोकेको क्वारेन्टिनमा राख्ने व्यवस्था मिलाउन समेत बैठकमा निर्णय भएको थियो ।

यस्तै कोही कसैले तोकिएका शर्त र मापदण्ड पालना गर्ने र सुरक्षा निकायको निगरानीमा रहने गरी आफ्नै खर्चमा कुनै भवन भाडामा लिई समूहमा बस्न चाहेमा त्यस्ता भवनलाई पनि क्वारेन्टिनको रूपमा प्रयोग गर्न दिने निर्णय पर्सा सीसीएमसीले गरेको हो । यस्तै पीसीआर परीक्षणको लागि स्वाब दिएका तर क्वारेन्टिनमा नराखिएका व्यक्तिहरूलाई तत्काल राख्न निर्देशन दिएको छ ।

भारतबाट नेपाल प्रवेश गर्ने वीरगंज–रक्सौल सीमानाका, आइसीपि, सुख्खा बन्दरगाह व्यवस्थापनमा सहजीकरण गर्न भन्सार कार्यालयका कर्मचारी तथा भन्सार जाँचपाससँग सम्बन्धित भन्सार एजेन्ट, आयात एवं निर्यातकर्ता र तिनका कर्मचारीलाई पास वितरण गर्ने अधिकार सम्बन्धित भन्सार कार्यालयलाई दिने निर्णय बैठकले गरेको हो ।

संक्रमण देखिएका व्यक्तिहरूको कन्टयाक्ट ट्रेसिङ गर्नको लागि जिल्ला स्वास्थ्य कार्यालयको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सम्बन्धित स्थानीय तहका प्रतिनिधि रहेको कार्यदल गठन समेत गठन गरिएको छ ।

प्रकाशित मिति: : 2020-05-15 10:48:48

प्रतिकृया दिनुहोस्