वर्तमान समयमा कोविद-१९ कोरोना नामको अदृश्य जैविक विषाणु भनिएको महामारीले विश्व थर्किएको छ। यस प्रकोपबाट विश्वका तीन लाखभन्दा बढी मानिसले ज्यान गुमाएका छन्।
युरोपियन युनियनलगाएत अमेरिका जस्तो शक्तिशाली मुलुक धराशायीको संघारतिर लम्किरहेका छन्। विश्वका पैतालिस लाख भन्दा बढी मानिस यस संक्रमणका शिकार भएर उपचाररत छन्। दुई महिना काटिसक्यो दुनियाँ लकडाउनमा छन्। विश्वको आर्थिक स्थिति चरमराउन थाल्यो। उद्योग धन्दा ठप्प छ। भोलिको कहालीलाग्दो दृश्य आँखा अगाडि नाचिँरहेको छ । मानव भविष्य के हुने हो? कसैसँग उत्तर छैन।
अदृश्य रुपमा व्यक्तिबाट व्यक्तिमा सर्ने भनिएको यस संक्रमणबाट जोगिन दुई गजको फरक पारी परैबाट नमस्कार गर्ने, मुखमा मास्क लगाउने, खोकी-हाच्छियूँबाट जोगिनुपर्ने, हातमा ग्लोब लगाउनुपर्ने हुनाले प्रशासनले निश्चित समयका लागि घरैमा बसेर सुरक्षित रहनू भन्ने लकडाउनको कडा निर्देश गरेको छ।
टिभी, मोबाइल आदि विभिन्न सञ्चार माध्यमबाट छिन छिनमा आम नागरिकलाई संज्ञान दिई रहेको छ । एकातिर देशका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, प्रशासनका जिम्मेवार व्यक्तित्वहरू कोरोना योद्दाका रूपमा ज्यानको बाजि लगाएर पीडितका सेवामा युद्वस्तरमा खटिएका छन्। कति डाक्टर, नर्स, प्रहरी र सम्बन्धित सेवादलहरू सेवा कै क्रममा ज्यान गुमाइरहेका छन्।
अर्कोतिर उद्योग धन्दा व्यापार बाणिज्य बन्द भएको कारण देशका करोडौं मजदुरहरु भोकमरीका शिकार भएका छन्। घर फर्किने क्रममा विवश मजदुरहरू हजारौ किलोमिटर भारी र बच्चा बोकेर पैदल यात्रा गरिरहेका छन्। कोहीको बाटोमै देहान्त भएको छ।
यति हुँदाहुँदै पनि कोरोना-कहर थामिएको छैन। जाति, धर्म, सिमाना आदिको भेद नगरी यसले आफ्नो प्रभाव विस्तार गरिरहेको छ। भोलिका दिनमा मानव सभ्यता नै समाप्त हुने हो कि, डरलाग्दो अवस्थाले मुख बाईरहेको छ ।
यस कहरका माझमा उदार हृदयका धनी केही दानवीरहरू होडबाजीका साथमा भोका व्यक्तिहरूलाई भोजन पानीको सेवामा जुटेका छन्। अर्कालाई खुवाएर खुशी मान्ने जमातको पनि कमी देखिएको छैन। यसर्थ हामी पनि आफूले सकेको सेवा गरौं। आफ्ना सहयोगी हातहरूलाई एकपटक सेवा गर्ने अवसर दियौं। अहिलेको अवस्थामा धनी गरीब, ठूलो सानो, जात पात जस्ता भेदभावहरूले पनि यस महामारीको अगाडि आत्मसमर्पण गरिसकेका छन्। सरकारले दिएको निर्देशलाई इमानदारीपूर्वक पालन गरौं। चाँडै यस महामारीबाट राहत मिलोस्। परमपिता परमात्माले हामी सबैको कल्याण गरून्।