कोरोना भाइरसपछि विश्वलाई अर्को खतरा, अमेजन जंगलबाट नयाँ महामारी उत्पन्न हुने दाबी

बिएल संवाददाता

रियाे दि जेनेरियाे

कोरोना भाइरसपछि अर्को महामारी संसारमा उत्पन्न हुने आँकल गरिएको छ। यो नयाँ महामारी अमेजन जंगलबाट उत्पन्न हुन सक्ने एक विज्ञ जनाएका छन्। 

ब्राजिलका वातावरणीय विज्ञ डेभिड लापोलाले यो आँकलन गरेको हुन्। उनले भने,‘कोरोना भाइरसको प्रकोपको बेला गरिएकाे जंगलको कटाइले याे खतरा हुनेछ।’

उनका अनुसार जंगल क्षेत्रको सहरीकरणले जुनोटिक रोगहरू निम्त्याउन सक्छ, जुन जनावरहरूबाट मानिसमा फैलिन्छ।  ३८ वर्षीय लापोलाले अमेजन जंगल भाइरसहरूको ठूलो भण्डार भएको बताए।

‘विश्वको सबैभन्दा ठूलो वर्षावन तिव्र गतिमा समाप्त हुँदैछ। राष्ट्रपति जयर बोल्सोनारोको कार्यकालको पहिलो वर्षमा अमेजनमा जंगल फँडानी ८४ प्रतिशतले बढ्यो। ठूलो रूखहरूको फँडानी जारी छ,’उनले भने।

जनवरीदेखि अप्रिलसम्म ब्राजिलको अन्तरिक्ष अनुसन्धान एजेन्सी (आईएनपीई)का अनुसार याे वर्ष १२०२ वर्ग किलोमिटरसम्मका रूखहरू फँडानी भएकाे छ। यो वर्षको पहिलो चार महिनामा नयाँ रेकर्ड हाे। लापोलाले भने,‘ यो ग्रहका लागि मात्र नभई मानव स्वास्थ्यको लागि पनि नराम्रो समाचार हो। जब पारिस्थितिक प्रणलीमा असमानता सिर्जना हुन्छ, तब भाइरस जनावरबाट मानिसमा उत्पन्न हुन सक्छ। एचआईभी, इबोला,डेंगु  र ज्वरोलगायतका राेगहरु पनि उही तरीकाले जन्मेकाे उनले दाबी हाे।’  

उनले अगाडि भने,‘अहिलेसम्म प्रायजसो प्रकोप दक्षिण एसिया र अफ्रिकामा केन्द्रित रहेको छ र प्रायः यो ब्याक्टोरी केही प्रजातिहरूसँग सम्बन्धित छ। तर अमेजनको विशाल जैवक विविधताले यस क्षेत्रलाई विश्वको सबैभन्दा ठूलो कोरोना भाइरस जस्तै क्षेत्र बनाउन सक्छ।’

उनले अहिले अमेजनमा भइररहेको फँडानी रोक्नुपर्ने समेत बताए। ‘अमेजनका जंगलहरू जे भइरहेको छ ती हुनु हुँदैन। अर्को कुरा अवैध किसान, खानीकर्मी र काठकर्मीहरूले निजि स्वार्थ पुरा गर्दा वन फँडानी बढेको हो। हामीले हाम्रो समाज र वनजंगलबिचको सम्बन्धलाई सुदृढ पार्नु आवश्यक छ। अन्यथा, विश्वले अझ ठूलो प्रकोपको सामना गर्नुपर्दछ।’

अमेजन फँडानी बढेपछि सेना परिचालन 

ब्राजिलको घनाजंगल अमेजन फँडानी बढेपछि त्यहाँको सरकारले सेना परिचालन गरेको छ। अवैध काठ तस्करी तथा खानी उत्खनन नियन्त्रणका लागि अमेजनमा सैनिक पठाएको हो। यो साताको सुरुमा अमेजनमा भइरहेको फँडानी नियन्त्रणका लागि सेना परिचालन गर्न ब्राजिल सरकारले आदेश जारी गरेको थियो।   

अमेजन जंगललाई पृथ्वीको अक्सिजनको मुख्य स्रोत मानिन्छ। तर, पछिल्ला वर्षहरूमा यसको फँडानी अनियन्त्रित छ। 

राष्ट्रपति बोल्सोनारोका नीति तथा अभिव्यक्तिहरूले अवैध गतिविधिलाई प्रोत्साहित गरेका कारण पनि जंगल फँडानी बढेको वातावरणविद्को भनाइ छ। तर, बोल्सोनारोले यो आरोप अस्वीकार गर्दै आएका छन्। 

ब्राजिलको नेसनल इन्स्टिच्युट अफ स्पेस रिसर्च (इनपे) का अनुसार अप्रिलमा अमेजनको चार सय पाँच स्क्वायर किलोमिटरभन्दा बढी क्षेत्र फँडानी भएको छ। गत वर्षको अप्रिलमा दुई सय ४८ स्क्वायर किलोमिटर क्षेत्र फँडानी भएको थियो। 

यस वर्षको जनवरीदेखि अप्रिलसम्म एक हजार दुई सय दुई स्क्वायर किलोमिटर वन फँडानी भएको छ। 

यो जंगलले कार्बन संश्लेषणबाट विश्वव्यापी तापमान वृद्धि नियन्त्रणमा सहयोग पुऱ्याउँछ, तर तीव्र रूपमा बढ्दै गइरहेको जंगलको विनाश चिन्ताजनक छ। 

संरक्षणवादीहरूले कोरोना भाइरसको संक्रमण फैलिएदेखि वनको सुरक्षाकर्मी कम परिचालन भएका कारण पनि वन फँडानी भएको बताएका छन्। 

ब्राजिलमा कोरोना भाइरसको संक्रमणका कारण एक लाख ९६ हजार मानिस संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या १४ हजार नजिक छ। भाइरस नियन्त्रणका लागि ब्राजिल लकडाउन पनि गरिएको छ। 

प्रकाशित मिति: : 2020-05-14 22:34:03

प्रतिकृया दिनुहोस्