बाँकेको कोहलपुर–३ स्थित किरणनाला नजिकै रहेको तारे होटल ‘होटल सेन्टर प्लाजा’ मा काम गर्छिन्, सिता विक (शाही)। कोरोना भाइरसको संक्रमणका देशमा कारण ‘बन्दाबन्दी’ नहुँदो त उनी दैनिक १० घण्टा ड्यूटी गरिरहेकी हुन्थिन्। बिहान आठ बजे ड्यूटीमा जाने साँझ ६ बजे कोठामा फर्किने दैनिक कार्यतालिका थियो। आजाभोलि उनको दैनिकीमा ब्रेक लागेको छ।
विगत चैत ११ गतेदेखि उनी कोठामा थुनिएर बसेकी छन्। उनको प्रमुख जिविकोपार्जनको स्रोत त्यही नोकरी नै थियो। बन्दाबन्दीका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरु पीडामा छन्। चार वर्षदेखि होटलमा काम गरेर भाइसहित दुई जना छोराको सम्पूर्ण खर्च जोहो गर्दै आएकी उनी अहिले बेरोजगार भएर भएकी छन्। ‘काम नगरेपछि होटलले तलब समेत दिएन। लामो समय देखिको बन्दाबन्दी खुल्ने सम्भावना छैन। दैनिक गुजारा गर्न हम्मेहम्मे पर्न थालिसक्यो,’ उनले बिएल नेपाली सेवासँग भनिन्।
उनी भाडामा बस्ने वडाले भाडामा बस्नेहरुको नाम टिपेर लिएको थियो। हप्तादिन पछि राहत दियो। उनले १५ केजी चामल राहत पाइन्। वडाले दिएको राहत सकिएको साता बितिसकेको छ। ‘दुई महिना हुन लाग्यो काममा नगएको। यो बीचमा वडाले दिएको राहतले चल्यो। अझै कति दिन बिना काम बस्नु पर्ने हो थाहा छैन। भोकमरी र बेरोजगारी सँगै आउँला जस्तो छ,’ उनले भनिन्, ‘लामो समयको बन्दाबन्दीले पूर्ण रुपमा कामविहीन बनाइदिएपछि अरुसँग मागेर खानु पर्ने अवस्था आएको छ। तीन महिनादेखि कोठा भाडा समेत तिर्न सकेकी छैन।’
एकल महिला समेत रहेकी उनले थपिन्, ‘घरधनीले भाडा मागिरहेका छन्। दैनिक गुजारा चलाउन सकस भइसक्यो। काममा जान पाइएको छैन। छोराहरुले पनि नयाँ नयाँ कुरा माग्छन्। अझै कति बस्नु पर्ने थाहा छैन। हामी जस्ता मजदुरी गरेर खाने मान्छेहरुको त बिजोग नै भएको छ।’
बन्दाबन्दी मात्रै बढ्दै गएको छैन उनलाई चिन्ताले सताउँन थालेको छ। कोरोनाका कारण जति लकडाउन बढदै गएमा उनले फेरि काममा फर्किने सम्भावना निकै कम छ।
एक वर्षअघि दुर्घटनामा परि उनका श्रीमानको मृत्यु भयो। त्यसपछि सम्पूर्ण जिम्मेवारी उनको काँधमा छ। ‘एउटा आशा भनेको त्यहि काम थियो। त्यो पनि छिटो सुरु हुने छाँटकाँट छैन। होटलले फेरी काममा बोलाउने सम्भावना पनि कम भइरहेको छ,’ उनले निराश हुँदै भनिन्।
कोरोना भाइरस एक भयंकर दुर्घटना भएर आएको छ। यो उनको लागि जीवनको दोस्रो ‘दुर्घटना’ हो। २०७५ चैत १५ गते उनका श्रीमानको मोटरसाइकल दुर्घटनामा परि निधन भएको थियो। त्यसलाई उनले पहिलो भनिन्। श्रीमानसँग बिछोडको पीडा र भोगिरहेको माहामारी बीच खासै अन्तर देखिदैन।
‘अब त वडाले फेरि राहत दिए खाने नत्र भोकै बस्ने त होला। यो कोरोना भाइरसको रोगले भन्दा भोकले मर्न अवस्थामा हामी पुगेका छौं। दुःख गरेर खानेका लागि सरकारले राहत प्याकेज ल्याए हुने थियो,’ विकल्पै नभएको पीडा ओकलिन्।
छाक टार्नै सकस
अहिले सबैभन्दा ठूलो मारमा अनौपचारिक क्षेत्रका श्रमिक छन्। बन्दाबन्दीले उनीहरूको दैनिक रोजरोटी गर्ने माध्यम नै ठप्प भएको छ। सोही कारण उनीहरुलाई दैनिकी चलाउन हम्मेहम्मे भएको छ। कोहलपुरमा फुटपातमा कपडा बेचेर जिविकोपार्जन गर्दै आएकी कमल गिरी भन्छिन्, ‘लामो समयको बन्दाबन्दीले हाम्रो चुल्हो बल्न छोड्यो। साहुको ऋण गरेर खरिद् गरेर ल्याएको कपडा कोठामा थन्किएको छ। कमाउने यो बाहेक अर्को विकल्प छैन।’ सुर्खेत स्थायी घर भएकी उनी तीन वर्षदेखि कोहलपुरमा श्रीमानसँग बस्दै आएकी छन्। श्रीमान पनि एक अण्डा सप्लाई गर्ने उद्योगमा काम गर्थे। लामो समयको लकडाउनका कारण उनी काममा जान पाएका छैनन्। काममा नगएपछि साहुले पैसा पनि दिदैन। ‘पहिला नगरपालिकाले एकै ठाउँमा बसेर कमाउन दिएन। अहिले यस्तो दुःखको बेला न सरकारले हेरेको छ न त नगरपालिकाले। हामी काम गरि खानेहरुलाई त कहिले यो कोरोना जाला भन्ने भएको छ,’ उनी आफ्नो दुख सुनाइन्। त्यसो भए उनले कसरी दैनिक कसरी टाक टारिरहेकी छिन् त ?
कमला भन्छिन्, ‘घरबेटीले वडा कार्यालयमा आग्रह गरेपछि १० किलो चामल दिएका थिए। त्यो पनि सकियो। घरबेटी साह्रै मनकारी छिन्। हाम्रो दुःख देख्न नसकेर उधारो एक कट्टी चामल दिएकी छन्। नून, तेल पनि सकिन लाग्यो।’ उनले फुटपातमा कपडा बेचे बापत नगरपालिका मासिक रुपमा कर तिर्छिन्। कपडा बेच्ने समूहका नाइकेलाई समेत रुपैयाँ दिनुपर्छ। दुख गरेर अलिअलि कमाएको पैसा बचत गर्दै आएको उनको भनाई छ। ‘सहकारी पनि बन्द छ। भोकै मर्ने अवस्था आएको छ। बचत झिकेर केही दिन हुन्थ्यो होला।’ उनको झिनो आशा।
दुःख गरेर कमाएको रुपैयाँबाट कर लिने सरकारले महामारीको समयमा कुनै पनि किसिमको भर दिन नसकेको छैन। बरु बिना विकल्प घर थुनिरहेको छ।
कस्टकर दैनिकी
बाँकेको नेपालगन्ज क्षेत्र कोरोना संक्रमण जोखिमको ‘रेड जोन’मा छ। अहिलेसम्म २५ जना कोरोना संक्रमित भेटिएका छन्। कोरोना संक्रमित भेटिएपछि दैनिकी झन् कष्टकर बनेको खजुरा गाउँपालिकाको सिम्मलघारीकी लङकला सुनार बताउँछिन्। उनका अनुसार स्थानीय सरकार र प्रहरीले घरभित्र भोकभोकै थुनेर राखेको छ। प्रहरीले बाहिर निकस्न दिदैनन्। स्थानीय सरकारले राहत होइन आहत दिएको छ। ‘एक छोरो विदेशमा छ। अरु छोरा र बुहारी जुम्लामा छन्। म एक्लै बस्छु। यतै ज्याला मजदुरी गर्दै आएकी थिए। बन्दाबन्दी सुरु भएदेखि कोठाबाट बाहिर निस्केको छैन,’ बिएल नेपाली सेवासँगको टेलिफोन सम्पर्कमा उनले आफ्नो कस्टकर दैनिकीको पोखा फुकालिन। दमकी रोगी उनले दैनिक औषधि सेवन गरिहनु पर्छ। औषधि सकिएको एक महिना पुगिसक्यो। तर औषधि किन्ने पैसा नभएर दम झन् बढेको छ।
औषधि किन्नको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर जानु पर्छ। तर बन्दाबन्दीले त्यो पनि सम्भव छैन। सरकारले दिने सामाजिक सुरक्षा भत्ता लिन नेपालगन्जमा रहेका बैंकमा जनुपर्छ तर आउँन नदिएको उनले समस्या बढेको बताइन्। यस्तो बेला सरकारले समाजमा रहेका एकल महिला, बृद्धबृद्धा तथा विपन्नलाई प्राथमिकता दिनु पथ्र्यो। सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गरेपनि बाँकेमा लकडाउन खुकुलो बनाइएको छैन। यहाँका होटल, उद्योग, कलकारखाना अझै खुलेका छैनन्। तर यतिका लामो समयसम्म पनि सरकारले राहत प्याकेज घोषणाका साथै खास विपन्न नागरिकहरुको लागि व्यवस्था नगर्दा कामगरि खाने वर्गको दैनिकी झन् जटिल र कष्टकर बन्दै गएको हो।
आम मानिसका अनुसार संघीय सरकारले बन्दाबन्दी बढाउने बाहेक ठोस काम गर्न सकेको छैन। प्रदेश सरकारको भूमिका खासै प्रभावकारी छैन। केही हदमा स्थानीय सरकारले राहत वितरण गरे पनि वास्तविक पीडितले पाउन सकेका छैनन्। यसरी लकडाउन बढिरहने तर सरकारले आम जनताको विषयमा नसोच्ने हो भने अवस्था झन् भयानक हुने देखिन्छ। एक तथ्याङ्क अनुसार कोरोना महामारीको मारमा देशका करिब ६० लाख अनौपचारिक क्षेत्रका श्रमिक र दैनिक ज्यालादारी गर्ने कामले प्रभावित भएका छन्। नेपालको कुल जनसंख्याको १८. ५ प्रतिशत निरपेक्ष गरिबीमा छ। भने २८.६ प्रतिशत मानिस बहुआयमिक गरिबीमा छन्। बन्दाबन्दीको करिब दुई महिनाको अवधिमा लाखौंले अनौपचारिक रोजगारी गुमाएकोले पनि यसको अवस्था झन् भयावह आउने बिज्ञहरुले चतावनि दिएका छन्।