नारायणी अस्पतालमा कार्यरत नर्समा पनि काेराेना पुष्टि

बुधबार कोरोना भाइरसको संक्रमण पुष्टि भएकी एक ३६ वर्षीय महिला पनि नर्स भएको खुलेको छ।

उनी वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत रहेकाे जिल्ला प्रशासन कार्यलय पर्साका सहायक सिडियाे ललितकुमार बस्नेतले पुष्टि गरेका हुन्।

अस्पताल स्रोतका अनुसार उनी बैशाखको दोस्रो साताबाट कोरोना भाइरस संक्रमितहरुको उपचारमा खटिएकी थिइन्।  संक्रमण देखिएको नर्सको अवस्था सामान्य छ। उनमा हालसम्म कुनै पनि लक्षण पनि देखिएको छैन।

अस्पतालमा हाल ७० जना कोरोना भाइरस संक्रमितको उपचार भइरहेको छ। उपचाररत सबैको अवस्था सामान्य रहेको बताइएको छ।

यसअघि मंगलबार कपिलवस्तुको तौलिहवा अस्पतालमा कार्यरत नर्समा कोरोना भाइरस पोजेटिभ रहेको पुष्टि भएको थियो। योसँगै नेपालमा दुई जना नर्समा कोरोना पुष्टि भएको छ। 

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीका अनुसार अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो। बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ।

कपिलवस्तु नगरपालिका वडा १ की उनलाई कसरी संक्रमण भएको हो भन्नेबारे खुलेको छैन। तर कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा उनलाई कोरोना भाइरस सरेको अनुमान गरिएको छ।

उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन्। संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसी आफ्नै घरमा जाने गरेकी थिइन्। संक्रमित स्वास्थ्यकर्मीसहित अरुको स्वाब संकलन गरिए पनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन।

प्रकाशित मिति: : 2020-05-13 22:41:32

प्रतिकृया दिनुहोस्