विश्वको सबैभन्दा पुरानो सभ्यता शिल्प (मानव) सभ्यता हो। जसलाई सिमान्तकृत शिल्पी (दलित) समुदायले विकास गरेका थिए। ईसापूर्व १८४० अगाडि विकास भएको यूनानी, हिब्रु, ग्रीक, इटालीको रोम, पछिल्लो खससभ्यता, इन्डोनेशयिाको वाली र वागमती सभ्यता हुन्। हरप्पा, मोहोन्जोड्दो सभ्यता द्रविड, शुद्रहरुले नै विकास गरेको थिए।
पुरातत्वविद्ध र वैज्ञानिकहरुले गरेको उत्खनन्बाट सिन्धुघाँटीको सभ्यता करिब ८ हजार वर्ष पुरानो मानिएको छ। ककेश पर्वत हुँदैं ई.पू. १५०० मा भारतीय उपमहाद्धीपमा प्रवेश गरेका आर्यहरुले पहिले नश्लको आधारमा यो क्षेत्रमा बसोबास गर्ने मूलबासी द्रविड, शुद्रहरु माथि विभेदको श्रृखंला लादे। आर्यहरुको प्रवेशले द्रविड, शुद्रहरुले विकास गरेको सभ्यता नष्ट पारिदिएका थिए। यहाँका मूलनिवासी द्रविड, शुद्रहरु आर्यको आक्रमणबाट विस्थापित भएका थिए। आर्यखसहरु छैटौं शताब्दीमा सुदूरपश्चिम र कर्णाली क्षेत्रमा आउनुभन्दा शताब्दीऔं अघिनै वर्तमान समयमा शिल्पी (दलित) भनिने जातीय समूहहरु यहाँ आइसकेको जनकलाल शर्मा, डा.केशवमान शाक्य, डा.सुरेन्द्र के.सी., डा.महेश्वर जोशी, स्व. प्रा.डा. जयराज पन्त, डिल्लीराज शर्मा र नवराज सुवेदी लगायत इतिहास, संस्कृतिविद्हरुले पुष्टि गरेका छन्। एक चर्चित भनाइ छ,‘कुनै जातिको अस्तित्व मेटाउनु छ भने उसको इतिहास र पहिचान मेटाइदिनुपर्छ।’
सीमान्तकृत शिल्पी (दलित) समुदायहरुले विश्वकै अनादिकालीन शिल्प (मानव) सभ्यताको विकास सुदूरपश्चिम र कर्णाली क्षेत्रमा विकास गरिसकेका थिए। विशेषगरी यस क्षेत्रमा खसआर्यको ठूलो समूहको प्रवेशपछि शिल्पी (दलित) समुदाय आफ्नो थात्थलो, राजकाज, संस्कृति र अनादिकालीन कर्णाली शिल्पसभ्यताबाट विस्थापित भए।
यी तथ्यहरुमाः अहिलेसम्म सुदूरपश्चिम र कर्णालीमा शिल्पी समुदायको जातीय नाममा दर्जनौ गढी, किल्ला कोटहरुको नामकरण हुनु, यस क्षेत्रमा ठूला र चर्चित देविदेवता शिल्पी समुदायकै पूर्खाहरुले प्राप्त गर्नु, अनादिकालीन कर्णाली शिल्पसभ्यता, कला र सास्कृतिक सम्पदा ९६ प्रतिशत भन्दा बढी यीनै समुदायको रहनु, विभिन्न ठाँउमा शिल्पी समुदाय अहिले पनि भूमिपति (मट्या) को रुपमा रहनु, झाँङ्ग्री विद्या र नाचगान कला–संस्कृति कुमशाल्या (कथित तल्ला जात) जातिहरुको हो भन्ने तथ्य इतिहासविद्हरुले इतिहासमा उल्लेख गर्नु, विभिन्न बहानामा थुप्रै ठाँउमा शिल्पी समुदायको आमनरसंहार गरिएको इतिहास पाइनु, क्षेत्रगत र ऐतिहासिक निरन्तरताको रुपमा अहिले पनि उनीहरुको देशैभरिमा कर्णालीमा पहिलो ठूलो जनसंख्या रहनु, ऐतिहासिक दस्तावेजहरु र स्थलगत अध्ययनका क्रममा स्थानीय बूढापाका र जानकारहरुका अनुसार शिल्पी समुदाय कर्णालीका अनादिकालीन मूलवासीको रुपमा रहेको प्रष्ट हुन्छ। यी तथ्य र वस्तुगत आधारहरुले लेखक, इतिहासकारहरुको लेखनमा सत्यता रहेको छ। जसलाई कर्णाली/भेरि नदीसँग जोडिएको कर्णाली/भेरि नदी सभ्यताको रुपमा पनि बुझन सकिन्छ।
जुन सभ्यता प्रकृतिपूजक, झाँङ्ग्री परम्परामा आधारित, वास्तुकला/शिल्पशास्त्रमा आधारित, प्रस्तर, मौलिक कलासंस्कृति र शिल्पसभ्यतासँग सम्बन्धित रहेको छ। आगोको आविष्कार र आधुनिक वैज्ञानिक कार्यशालाको पहिलो आधार आरनको सृजनाकार कामी जाति नै थिए। मन्दिरमा त्रिशुल, घण्टी बनाएर चढाउने, बजाउने, शक्ति माग्ने देविदेवतालाई धुप हाल्ने, पूज्ने सभ्यताको विकासकर्ता पनि कामी जाति नै थिए। आकर्षक मन्दिर, महल, दरवार, कुलोनहर, नगरवस्ती बसाउने, राजमुकुट, गरगहना आदि बनाउने उनीहरुनै थिए। तर, कामी तथा सबै उत्पीडितलाई मनुवादीले राम्रो घर बनाउन नदिने र मन्दिर प्रवेशमै रोक लगाइदिए।
यहाँसम्म कि वर्षको ३६४ दिन गाली गर्ने, हेप्ने, अपमान गर्ने, दुत्कार्ने, हत्यासम्म गर्न पछि नपर्ने। तर, वर्षको एकदिन विश्वकर्मा पूजा गरेर साखुल्य बन्ने ढोंगी समाजको बहुरंङ्गी चरित्र पनि उदेक लाग्दो छ।
जङ्गली युगबाट कृषि युगमा प्रवेश गरेपछि लामो यात्राको लागि खाली खुट्टाले यात्रा गर्न असहज भयो। यसलाई सहज बनाउन छाला प्रशोधनशाला चर्मशास्त्रको आविष्कार गरी छालाजन्य घरायसी (छालाको चाल्नो, डोको, डालो, डोरी, हँडुल, नाम्लो) सामग्री र जुत्ता चप्पल बनाउने मानव सभ्यतामा फड्को मार्ने सभ्यताको सिर्जनकार सार्की जातिको योगदान अतुलनीय रहिआएको छ। त्यति मात्रै होइन, अफन्त र प्रियजनको मृत्युपछि नदी वा जङ्गलमा दाहसंस्कार पश्चात् घर भन्दा ५ देखि ६ सय मिटर जति टाढा सार्वजनिक चौतारी, पाटीपौवा, विश्रामस्थल बनाई मृतकको नाममा वरपिपल, तुलसी रोप्ने चलनको शुरुवात् गर्ने सार्की जातिकै देन थियो। चौतारो, पाटीपौवा, विश्रामस्थल बनाउने र वरपिपल रोपेको देखेपछि सार्की समुदायमा मरौ परेको भन्ने जानकारी अन्य समुदायले जानकारी पाउँथे। मनुवादी धार्मिक विधानले जुन समुदायले मृतकको स्मृति, सम्झना र पर्यावरणीय सन्तुलनका लागि वरपिपल रोप्ने सभ्यताको विकास गर्यो, तिनै समुदायलाई वरपिपल र तुलसी रोप्न बन्देज लगाइयो।
वैदिककाल भन्दा अघि प्रागैतिहासिक काल अर्थात् जंगली युगमा जनावर मार्ने, मासु कन्दमूल खाने र धोन्द्रो परेको रुखमा जनावरको छाला सुकाउने गर्दथे। छाला सुकि सकेपछि लठ्ठीले हिर्काउँदा दुङ्दुङ्ग आवाज आयो। पहिलोपटक यस्तो नौलो आवाजले कौतुहलता र जिज्ञासा बढाउनु स्वभाविकै थियो। त्यहि आवाज र मिठो धुनलाई पछ्याउँदै जाँदा धोन्द्रो परेको रुख, भ्याङ् परेको जमिनमा जानावरका छाला सुकाउँदै गए। यहि अभ्यासको क्रममा निश्चित आकार दिएर दमाई जातिको जातीय मौलिक बाजा पञ्चेबाजा समूहभित्रको दमाहा (दुन्दुभी, भेरी, नगरा) ढोलकी र ट्याम्को सहित दर्जनौ बाजाको आविष्कार गर्ने साङ्गीतिक जाति दमाई नै थिए। पञ्चेबाजा समूहभित्रको कर्णाली र भेरिबाजाबाट भेरि नदीसभ्यताको नामकरण गर्ने दमाई पूर्खाहरुकै देन हो। यी बाजा निर्माण भने कामी, सार्की र बादीको सहयोगले मात्रै पूर्णता पाउँछ। नेपालमा नेवारपछि सबै भन्दा बढी बाजागाजा भएको जाति दमाई नै हो। आदिमकालमा माटाकै दमाहा, ढोलकी र ट्याम्को समेत बनाउने कला दमाई जातिकै देन थियो। धातुको विकास र आविष्कारले निकै पछि मात्र माटोबाट धातुको बाजा बनाउन र बजाउन थालिएको हो (शिल्पी पहिचानः२०७६)।
त्यसैगरी कर्णालीका शिल्पी(दलित) समुदायको अनादिकालीन कर्णाली शिल्पसभ्यता(शिल्पशास्त्र) र संस्कृतिका विकासकर्ता मध्येका दमाई जातिको अर्को विशेष विशेषता पनि रहेको छ। गन्धर्व जस्तै आधिकारिक सुचनाबाहक दमाई नै थिए। जसलाई खूट हान्नु भनिन्छ। ठूला–ठूला पहाड र खोलानालाले भरिएको कर्णाली अञ्चलमा वारि गाउँबाट पारि जान पर्यो भने दिनभरि पनि लाग्न सक्छ। यस्तो अप्ठ्यारो कामलाई सजिलो तुल्याउनको निम्ति दमाईहरूले दमाहा (नगरा, भेरि) ठोकेर वारिबाट पारिको मान्छेलाई बोलाउने सांकेतिक धुन बजाउने गर्दछन्। यसलाई नै खूट हान्ने भनिन्छ। वारिबाट पारि सुनिने गरी खूट हानेपछि पारिको दमाईले खूटको अर्थ खुट्याउँछ। र, दमाहाद्वारा नै खूट हानेर त्यसको जवाफ दिन्छ। यस प्रकार दमाईहरूले वारिबाट पारि र पारिबाट वारि सूचनाको आदानप्रदान गरेको देखिन्छ। आपद परेको बेलामा पारि गएको कुनै व्यक्तिलाई तुरुन्त बोलाउन परेमा यहि खूट हान्ने कलाले ठूलो सहायता पुर्याउँछ। उदाहरणको लागि“बच्चा जन्मियो, झट्टै आऊ ! देउताको पूजा छ, चाँडै आओ ! तिमीलाई भेट्न मान्छे आएको छ, तुरुन्तै आऊ ! तिम्रो आफन्त बिरामी छन्, भेट्न आऊ !” आदि समाचारहरू खूट हानेर सजिलैसँग दमाईहरूले ठाँउमा पुर्याउँथे। त्यो बेलामा राष्ट्रको उच्च तहमा आसिन व्यक्तित्वहरूलाई सम्मान र सलामी पनि दमाईहरूले दमाहा बजाएर चढाउने गर्थे (कर्णालीका शिल्पी/दलित समुदायको सामाजिक–साँस्कृतिक सम्पदाः२०७६)।
दमाईहरूसँग अर्को कला र सञ्चार क्षमता भनेको युद्ध किल्लामा नगरामा खूट हानेर विरोधी वा शत्रुपक्षको अवस्थालाई आफ्नो किल्लाका सैनिकलाई जानकारी गराउनु थियो। यसबाट पनि थाहा हुन्छ, उनीहरूको सञ्चार सीप र नगरा निशानीको शक्ति कति रहेछ भन्ने कुरा ! दमाई जातिसँग विशेष तान्त्रिक शक्ति रहेको समेत प्रमाणित भइसकेकोे छ। उनीहरु झाँङ्ग्री परम्पराको समेत मूल हुन भन्ने तथ्य प्रा.डा. ग्रगोरी ग्र्याब्रियल मस्कारिनेकको सन् १९९८ मा प्रकाशित (The Ruling of the Night) पुस्तकको अनुसन्धानबाट पुष्टि भएको छ।
नालापानी युद्ध किल्लामा पाँच देखिआठ जना दमाई बानादार रहेको कुरा अनुमान गरिएको छ। उनीहरूले खुट हानेर (नगरामा विशेष प्रकारको कोड भाषामा बजाएर शत्रुको सम्पूर्ण जानकारी दिने सञ्चार प्रविधि) संकेत दिए पछि मात्रै गोर्खाली सेनाले अंग्रेज सेनामाथि आक्रमण गर्ने गर्दथे। पहिला लाश जलाउँदा दिप राग बजाएर आगो लगाउने र पानी नपर्दा पानी पार्ने राग बजाउने गर्दर्थे। भोटेशेलो राग बजाउँदा मानिसहरू काम्ने, पर्तुने (झाँक) गरेकोले यो राग सितिमिति बजाउने गरिदैन। वरिष्ठ इतिहास संस्कृतिविद् प्रा.डा.जगमान गुरुङका अनुसार किल्ला, गढी, कोतको प्रमुख पनि दमाईहरूनै हुने गर्दथे। कोत, गढीको सुरक्षा अधिकारी पनि उनीहरूनै हुन्थे। कोतको प्रमुख भएकोले कोतवाल, कोटवाल हुँदै कट्वाल भएको हो। जसले कोट, किल्ला, गढी आसपासमा बस्ने समुदायको लागि आधिकारिक सूचना यिनै कट्वालले नै दिने गर्दथे। आदिम सञ्चार सीप–प्रविधिको विकासकर्ता पनि दमाई जातिकै देन थियो। अहिलेसम्म कतिपय ग्रामीण भेगमा कटुवाल सञ्चार विद्यमान रहेको पाइन्छ।
जङ्गली र कृषियुगको समाप्ति पछि मानव सधै नाङ्गो बस्न, हिँड्न संभव थिएन। मानव विस्तारै सामाजिक बन्दै गर्यो। मानव पारिवारिक र सामाजिक दायराले लाज र अनुशासनको घेरामा कैद हुन् विवश भयो। सियो र धागोको आविष्कार गरी जनावरको छाला र ऊनलाई गुथेर, तगेर लाज ढाक्ने जुक्ति निकाल्ने दमाई जातिकै योगदान थियो। वैराग्यपनको निदान, मानसिक समस्यालाई साङ्गीतिक थेरापी र नाचले शारीरिक व्यायमको आविष्कारक, लाज ढाक्ने कपडाको विकासकर्ताहरु नै मनुको धार्मिक नीतिले सांस्कृतिक क्रियाकलापमा बन्देज लगायो। आफ्नो मौलिक चाडपर्व,जन्ममृत्यु, सामाजिक संस्कार, संस्कृतिमा समेत बाजा बजाउन, नाचगान गर्नमा रोक नै लागायो।
सबै सीमान्तकृत उत्पीडित, शिल्पी(दलित) समुदायलाई राम्रो लत्ताकपडा लगाउनमा निषेध गर्यो। मरेको मान्छेको वस्त्र लगाउन बाध्य र अनिवार्य गरियो। अनार्य किराँतेश्वर शिवले चेलोको रुपमा गन्धर्व देवता(मानिएको)लाई सारङ्गी दिएको कथा थुप्रै धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ। नेपाली सङ्गीत र सांस्कृतिक सम्पदाका मूलश्रोत गन्धर्व जाति नै हुन्। हिजो बाजा र जातिलाई घृणा गर्नेहरु चाँहि आज कलाकार भए। तर, आज पनि गन्धर्व जाति चाँहि गाइनेको गाइने मात्रै देख्ने समाज मनुवादी मनोग्रन्थीकै उपज नभनेर के भन्ने ? युद्धको घोषणा, विजयको गाथा गाउने र सुचना संकलक, सुचनाबाहक गन्धर्व पहिलो सञ्चारकर्मी हुन्। दमाई र गन्धर्वलाई ऐतिहासिक कामको सम्मान गर्दै राज्यले आजीन निवृत्त भत्ताको व्यवस्था गरिनुपर्ने हो। त्यसैगरी अरु समुदायको योगदानलाई आजसम्म राज्यले अवमूल्यन गर्दे आएको छ। जसले यो देशको मानवसभ्यता तथा सांस्कृतिक सम्पदाको जर्गेनामा ठूलो योगदान दिँदै आएका छन्।
माटोका हस्तकलाका सामग्री बनाउने, माछा मार्ने, जाल बुन्ने, मादल बनाउने, सारङ्गी बनाउने पेशेवर साङ्गीतिक जाति बादी नै हुन्। गोप्य रुपमा राजदरबार भित्र राजमहाराजा, भाइभारदार, स्यारे, सुसारे, हुक्के, ढोकेमा मात्रै सीमित रहेको यौन क्रियाकलापलाई वैधानिक र पेशेवर बनाई सडकमै ल्याई पुर्याउने सामन्ती राजामहराजहरु मनुवादबाटै निर्देशित रहेको देखिन्छ।
मरेको पशुवस्तुलाई व्यवस्थापन गरी पर्यावरण सफा राख्ने, छालालाई आवश्यक प्रशोधन गरी मानवीय प्रयोजनका लागि तयार गर्ने चर्मशास्त्री चमार, राम जाति नै थिए। यसलाई आधुनिक सीप, प्रविधि र पूँजीको प्रयोग गरी औद्योगिकरण गरी राष्ट्रलाई बलियो बनाउन सकिन्थ्यो। उल्टै अहिले पनि यी समुदायलाई फोहोरी, घृणा र अवहेलनाकै नजरले हेर्ने मनुवादी नीति नभएर के हो त ?
खेतीपाती र कृषि सभ्यताको विकासकर्ता मुसहर, डोम लगायत कृर्षकहरु आज पनि किन एकपेट खान, एक आंङ लाउनमै तड्पिरहनु परेको छ ? मनुकै नीति अनुसार शासककै जुठोपुरो, भुँइमा खसेको मात्रै खानुपर्ने बाध्यतामै आजसम्म राख्न खोजेको हो ? मनुको नीतिले भन्छ–शुद्रहरुको सम्पति भनेकै गधा र कुकुर मात्रै हो। फलामको भाँडामा खानु, पराल ओछ्याएर सुत्नु आदि–आदि।
वर्तमान अवस्थासम्म पनि ठूलो संख्यामा रहेको सीमान्तकृत शिल्पी(दलित)समुदायको जीवनशैली मनुबाट प्रतिपादित र निर्देशित धार्मिक कानूनबाटै ब्राम्हणवादमा आधारित राज्यसत्ताको उपज हो। किनकी नेपालको समृद्धि र औद्योगिकरणका मूलश्रोत नै सीमान्तकृत उत्पीडित शिल्पी(दलित) समुदाय हुन्। तहगत जातीय विभेदले गर्दा यी समुदाय सँधै राज्यबाट किनाराकृत भैरहेका छन्। अझै हुनेक्रम जारी छ। श्रम र कर्ममा विश्वास गर्ने समुदायले राज्यको नेतृत्व नगर्दासम्म यो देशले प्रगति गर्नै सक्दैन। सायद, यदि गर्ने भए विगत झन्डै ७० वर्षको समय यसै खेर जाँदैनथ्यो होला। श्रमपसिना र कर्ममा विश्वास नगर्ने, बरु घृणा, अपमान र तिरष्कारले राष्ट्रमाथि उक्लिनु भन्दा झनै तल झर्ने निश्चित छ। मेहनत र श्रमलाई घृणा गर्दै पढिनस् भने हलो जोत्छस् भन्दै जीवनको मूल कृषिकर्मलाई उपेक्षा गर्ने चिन्तनले कसरी राष्ट्र उँभो लागोस ? यस्तो प्रवृत्ति र दर्शनमा आधारित शिक्षाप्रणाली र राज्यशासनका कारण नेपाल भन्दा निकै पछि विकास गर्न थालेका विश्वका कैयौं देशहरुले हामीलाई निकै पछि पारिसकेका छन्।
गौरवशाली मौलिक सांस्कृतिक सम्पदा,पहिचान र विश्वकै अनादिकालीन शिल्प(मानव) सभ्यताका मूलश्रोत शिल्पी(दलित) समुदाय नै हुन्। जसले मन्दिर बनायो, दर्जनौ देविदेवता प्राप्त गर्यो,उहि मन्दिरमा जान नपाउने ? जसले बाजाको आविष्कार गर्यो, उसैले बाजा बजाउन नपाउने ? जसले वस्त्रको आविष्कार गर्यो, उसैले मरेको मान्छेको कपडा लगाउनुपर्ने ? जसले पर्यावरणीय सन्तुलन, प्रियजन/आफन्तको सम्झनामा वरपिपल र तुलसी रोप्ने सभ्यताको शुरुवात् गर्यो,उसले नै वरपिपल र तुलसी रोप्न नपाउने ? जसले खेतीपाती र कृर्षिकर्म गर्यो, उसले राम्रो एकपेट खान पनि नपाउने ? जो, यो देशको भूमिपुत्र मूलवासी हो, उसले एउटा घर बनाउने जमिन नपाउने ? जो आदिम सञ्चारकर्मी, सङ्गीत, कला, सस्कृति र अनादिकालीन शिल्पसभ्यताका सिर्जनाकार, आविष्कारक, इन्जिनियर र वैज्ञानिक हुन्, उनीहरु नै आज विस्थापित हुनुपर्ने ?
उत्पीडित समुदाय विश्वको सबै सभ्यता भन्दा अनादिकालीन शिल्पसभ्यताका धनी र मूर्त, अमूर्त र अभिलेखात्मक सांस्कृतिक सम्पदाका जग र मूलश्रोत भएर पनि किन पछि पर्यौं ? किन यस्तो विकलाङ्क र आजसम्म उठ्नै नसक्ने गरी थलै परिरहेका छौं ? यसको एउटै कारण छ। त्यो हो, ब्राम्हणवाद र मनुवादमा आधारित राज्यव्यवस्थाले गर्दा यो हदसम्मको किनाराकृत र पाखा पारिएको छर्लङ्गै छ। तसर्थ, धार्मिक कानूनमा आधारित राज्य व्यवस्थालाई नउल्टाइकन उत्पीडित समुदायले निर्धक्कसँग सास फेर्ने दिन आउन सक्ला जस्तो छैन।
या त धार्मिक कानूनमा समयानुकूल संशोधन/परिमार्जन र सुधार नगरी यी समुदायलाई हेर्ने दृष्टिकोणमा बद्लाव आउन संभव छैन। राज्यको नीति तथा सामाजिक दृष्टिकोणमा आमूल परिवर्तन नआइकन, उत्पीडित समुदायको जीवनशैलीमा परिवर्तन आउन सक्ने अवस्था छैन। इतिहास लेखनमा उपेक्षा गरिएका, लुटिएका, ठगिएका, नष्ट गरिएका, मानवीयता गुमाएका यी समुदायको इतिहास पुर्नलेखन जरुरी छ। यसो नगरीकन राष्ट्र र राष्ट्रियताको वकालत अपुरो, अधुरो र एकपक्षीय हुनसक्छ। चर्चामा रहेका दिग्गज विद्धानहरुले बेलैमा बुझ्नु जरुरी छ।