ज्यान मार्ने धम्की : स्वास्थ्यचौकी बन्द

खजुरा गाउँपालिका–७ सोनपुरस्थित स्वास्थ्यचौकीमा ताला लगाइएको छ। स्वास्थ्यकर्मी तथा कर्मचारीमाथि ज्यान मार्ने धम्कीपछि स्वास्थ्यचौकी बन्द गरिएको स्वास्थ्यचौकी इञ्चार्ज सुदीप पौडेलले जानकारी दिए।

स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई त्यहीँ जन्मेको प्रमाणीकरण गरिदिनुपर्ने माग अस्वीकार गर्दा ज्यान मार्ने धम्की आएपछि यसअघि स्वास्थ्यकर्मी र कर्मचारीले प्रहरीसँग सुरक्षा माग गरेको उनले बताए।

उनीहरुले कर्मचारीलाई कार्यालय बाहिर भेटे हातखुट्टा भांँच्नेसम्मको धम्की दिएको र कार्यालयमा आई कर्मचारीमाथि अभद्र व्यवहार गरेको इञ्चार्ज पौडेलको भनाइ छ। 

कार्यालय परिसरमै आएर स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई ज्यान मार्ने धम्की दिएपछि आजदेखि स्वास्थ्यचौकी बन्द गरिएको छ।

कार्यालय परिसरमै आएर ज्यान मार्ने धम्की दिएका कारण काम गर्ने वातावरण नभएकाले सुरक्षाको प्रत्याभूति दिलाउन धम्की दिनेमाथि कानूनी कारवाही गर्न यसअघि इलाका प्रहरी कार्यालय धनौलीमा लिखित निवेदन दिइएको थियो।

स्वास्थ्यचौकीमा नजन्मेको शिशुलाई स्वास्थ्यचौकी मै जन्मेको प्रमाणीकरण गरिदिन दवाब दिएपछि उक्त दवाब आफूले अस्वीकार गर्दा भाटसहितका व्यक्तिले ज्यान मार्ने धम्की दिएको चौकी इञ्चार्ज पौडेलले बताए।

वैशाख २६ गते स्वास्थ्यचौकीमा प्रसूति गराउन आएकी रफी भाटकी श्रीमतीलाई स्वास्थ्यचौकीका कर्मचारीले सुत्केरी व्यथा नलागेको भन्दै घर फर्काएका थिए। 

घरमै सुत्केरी भए पनि स्वास्थ्यचौकीमै शिशु जन्मिएको प्रमाणीकरण हुनुपर्ने भाटको माग अस्वीकार गर्दा उनको समूहले कार्यालयमा आएर कर्मचारीमाथि दुव्र्यवहार गर्नाका साथै ज्यान मार्ने धम्की दिएको थियो।
 
कोरोना भाइरसको संक्रमणका आशंकामा स्वास्थ्यकर्मीले धमाधम स्वाब संकलन गरिरहेका बेला धम्की आएपछि स्वास्थ्यचौकीको सेवा प्रभावित भएको छ। घटनाबारे अनुसन्धान भइरहेको इप्रका धनौलीका इञ्चार्ज प्रहरी निरीक्षक प्रहरी पोषणराज थपलियाले जानकारी दिए।

प्रकाशित मिति: : 2020-05-12 19:17:08

प्रतिकृया दिनुहोस्