तौलिहवा अस्पतालमा कार्यरत एक २५ बर्षीया स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ। कपिलवस्तुमा आज संक्रमण पुष्टि भएका आठ जनामध्ये एक जना जिल्ला अस्पताल तौलिहवामा कार्यरत स्टाफ नर्स भएको खुलेको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले संक्रमित एक जना स्टाफ नर्स भएको पुष्टि गरेका हुन्। उनका अनुसार अस्पतालमा उनीसहित ९ जनाको स्वाब संकलन गरिएको थियो। बाँकी ८ जनाको रिर्पोट नेगेटिभ छ।
कपिलवस्तु नगरपालिका वडा १ की उनलाई कसरी संक्रमण भएको हो भन्नेबारे खुलेको छैन। तर कपिलवस्तु नगरपालिकाभित्र क्वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन गर्ने क्रममा उनलाई कोरोना भाइरस सरेको अनुमान गरिएको छ।
उनी कार्यरत तौलिहवा अस्पतालमा स्थायी र करार गरी ६७ जना स्वास्थ्यकर्मीहरु काम गरिरहेका छन्। संक्रमित स्वास्थ्यकर्मी क्वारेन्टाइनमा नबसी आफ्नै घरमा जाने गरेकी थिइन्। संक्रमित स्वास्थ्यकर्मीसहित अरुको स्वाब संकलन गरिए पनि उनीहरुलाई क्वारेन्टाइन राखिएको थिएन।
स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणमा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का २ जना र वडा नम्बर १, ४, ५, ६ र ८ का १–१ जनामा संक्रमण रहेको पुष्टि भएको छ। उनीहरू १९ वर्षदेखि ३६ वर्षसम्मका छन्।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलका अनुसार संक्रमित स्वास्थ्यकर्मीसहित ७ जनालाई मंगलबार नै बुटवलस्थित प्रदेश कोरोना अस्पताल लगिएको छ।
उनीहरुसँग सम्पर्कमा अस्पताल सम्पर्कमा आएकाहरुलाई तत्काल क्वारेन्टाइनमा राखिने तयारी भइरहेको प्रजिअ पौडेलले जानकारी दिए।