नेपालमा एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए।
उनका अनुसार संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ९१ पुगेको छ।
तीमध्ये ३३ जना उपचार गरी घर फर्किएका छन्। उपचार गरेर घर गएका तीन जनामा फेरि कोरोना भाइरसको संक्रमण देखिएपछि उनीहरू अहिले विभिन्न अस्पतालमा उपचार गरिरहेका छन्।