अमेरिकामा काेराेनाबाट ज्यान गुमाउनेको संख्या ८० हजार नाघ्याे, रुसमा संक्रमितको संख्या बढ्दै

बिएल संवाददाता

वासिङ्टन डीसी

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा ज्यान गुमाउनेको संख्या ८० हजार नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा हालसम्म कोभिभड–१९ बाट ८० हजार ३५२ जना भन्दा बढीको मृत्यु भएको छ। त्यहाँ कुल संक्रमितको संख्या १३ लाख ४६ हजार भन्दा बढी पुगेको छ।

सबैभन्दा बढी प्रभावित भएको न्युर्योकमा २६ हजार सात सय भन्दा बढीको मृत्यु भएको छ। यता न्यू जर्सीमा ९ हजार तीन सय भन्दा बढीको मृत्यु भएको जनाइएको छ।

महामारीबाट प्रभावित हुने देशको सूचिमा दोस्रो स्थानमा बेलायत रहेको छ।  हालसम्म ३२ हजार १४१ जनाको ज्यान गएको छ। त्यहाँ संक्रमितको संख्या दुई लाख २४ हजार भन्दा बढी पुगेको छ। इटालीमा ३० हजार ७३९ को मृत्यु भएको भने कुल संक्रमितको संख्या दुई लाख १९ हजार भन्दा बढी रहेको छ।

यस्तै २६ हजार ७४४ जनाको मृत्यु हुँदा कुल संक्रमितको संख्या दुई लाख २७ हजार भन्दा बढी तथा फ्रान्समा एक लाख ७७ हजार भन्दा बढी संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या २६ हजार ६४६ रहेको छ।

पछिल्लो समय रुसमा संक्रमितको संख्या अति तीव्र गतिमा बढेको छ। त्यहाँ दुई लाख २१ हजार भन्दा बढीमा संक्रमण पुष्टि भइसकेको छ र अहिलेसम्म दुई हजार भन्दा बढीको ज्यान गएको छ।

दक्षिण अमेरिकी देश ब्राजिलमा ११ हजार पाँच सय भन्दा बढीको ज्यान गएको छ भने कुल संक्रमितको संख्या एक लाख ६८ हजार भन्दा बढी पुगेको छ।

विश्वमा अहिलेसम्म दुई लाख ८५ हजार भन्दा बढीको कोभिड–१९ बाट मृत्यु भएको छ भने संक्रमितको कुल संख्या ४१ लाख ७१ हजार भन्दा माथि पुगेको छ।

प्रकाशित मिति: : 2020-05-12 07:38:32

प्रतिकृया दिनुहोस्