सेती प्रादेशिक अस्पतालको बहिरंग(ओपीडी) सेवा भोलिबाट फेरि सञ्चालनमा आउने भएको छ। लकडाउन र कोरोना भाइरसबाट संक्रमित बिरामीहरु देखिन थालेपछि ठप्प भएको ओपीडी सेवा मंगलबारबाट सञ्चालन आउने भएकाे हाे।
सबै संक्रमितहरु उपचारपछि निको भएर घर फर्किएका र नयाँ संक्रमितसमेत नदेखिएपछि अस्पतालले सेवा पुनःसञ्चालनको तयारी गरेकाे छ। यता सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैठकले ओपीडी सञ्चालन गर्न परिपत्र गरेको छ।
‘ओपीडी लगायतका नियमित स्वास्थ्य सेवा सेवाहरु मंगलबारबाट सुचारु हुनेछ,’ अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले भने,‘ ‘‘कोरोनाको त्रास कायमै रहेकाले आवश्यक सतर्कता र व्यवस्थापन मिलाउने तयारीमा कर्मचारीहरु खटिरहेका छन्।’
उनका अनुसार विगतमा ओपीडीमा दैनिक साढे ३ सय र आकस्मिकमा अढाई सय बिरामी आउने गरेका थिए। यस अस्पताललाई कोरोना उपचार केन्द्र बनाएदेखि आकस्मिक कक्षमा आउने बिरामीको संख्या पनि न्यून रहेको श्रेष्ठले बताए।