विष्णुले अर्घेलो गरिन्! (भिडियाे)

कोरोना भाइरस माहामारी (कोभिड-१९) को त्रास बढिरहँदा यसको रोकथाम र नियन्त्रणका लागि स्थानीय निकायहरू सबैभन्दा बढी खटेका छन्। भलै उनीहरूले बुझेको कम छ। अलमलहरू धेरै छन्। तमाम कठिनाइका बाबजुत जोखिम मोलेरै खटिरहेका छन्।

देश संघीयतामा गएसँगै स्थानीय तह जनताको सबैभन्दा नजिकको सरकार हो। देशले अवलम्बन गरेको संरचनाले लामो समय कटाइसक्दा स्थानीय तहले अझैसम्म ‘आफू पनि सरकार हौं र हामीले सेवा गर्छौं’ भनेर जनतालाई विश्वास दिलाउन सकेनन्। तर यो संकटमा उनीहरुको क्रियाशीलता जनताको सेवा गर्ने खालको भयो।

यसै क्रममा जुम्लाको तिला गाउँपालिकाको सक्रियतालाई जनताले नजिकबाट अनुभूत गर्ने मौका पाए ।

संविधानले हरेक स्थानीय तहको प्रमुख र उपप्रमुख मध्ये एक अनिवार्य महिला बन्ने प्रावधान बनायो। हेर्दा निकै सकारात्मक र समान हैसियतवाला देखाउने कानुनी प्रवधान भए पनि सदियौंदेखि सत्ताको स्वाद चाखेका दल र तीनमा हावी पुरुषसत्ताले महिलालाई प्रमुख पदमा उम्मेदवार बनाएनन्। औंलामा गनिनेबाहेक अन्य स्थानीय तहका प्रमुख भूमिकामा पुरूषनै पुगे।

परिणाम सत्ता र यसको चरित्र सतहमा आयो। हुन त यो अलगै बहसको विषय हो। सत्ताको लामो गोलचक्करबाट पनि जनताको सेवा गर्ने गरी नजिकको सरकार चलाउने दोस्रो तहको भूमिकामा पुगेकी थिइन्, विष्णु बुढा। उनी हाल तिला गाउँपालिकाको उपाध्याक्ष छन्।

माओवादी आन्दोलनमा लागेका तमाम कार्यकर्ता पाखा लाग्दै गर्दा उनी उपाध्यक्षको उम्मेदवार बनेकी थिइन्। समग्र माओवादीको पक्षमा जनमत घट्दै गर्दा उनले आफ्नो क्षेत्रमा बलियो पकट जमाइन्। संघर्षको भट्टिमा खारिएका नेता, कार्यकर्ताले रक्सी भट्टिमा लिलाम गरेको स्वाभिमान पखालेर अपार जनमत बटुल्न पक्कै पनि सजिलो थिएन ।

हुन त माओवादी आन्दोलन प्रारम्भदेखि विवादित र आलोचना रहित छैन। नेतृत्वलाई लागेका तमाम आरोप र उसले गरेका तमाम सम्झौता देशका लागि अनुकुल थिए वा प्रतिकुल गाउँ तहका माओवादी कार्यकर्तालाई थाहा हुने कुरै भएन। भुमिगत अवस्थामा जनताको घरघर पुग्ने माओवादी कार्यकर्ता जनताका सुखदुःखका सारथी थिए।

जनता डाँट्ने ठालुहरूका आँखाका कसिंगर। भूई तहका मान्छेहरु त्यसै प्रभावित हुन्थे। त्यसरी नै प्रभावित भएकी थिइन्, विष्णु।

नौ कक्षा पढ्दै गर्दा औधि प्रभावित भएपछि उनले त्यसबेला माओवादीले परिभाषित गरेको बुर्जुवा शिक्षाको भोकलाई तिलाञ्जली दिएर हिँडिन्। दिउँसो जंगल, राति जनताको घरमा, संगठन विस्तार र नेताहरुको प्रशिक्षणले खारिएकी उनले अठोट गरिन्, ‘जनताको सेवा गर्ने’।

यता विष्णुहरू बुर्जुवा शिक्षाका कक्षा छोड्दै गर्दा तत्कालिन माओवादी नेता बाबुराम भट्टराईलगायत नेताका छोरोछोरी गोप्य रूपमा भारतले दिएको छात्रवृत्तिमा भर्ना भइरहेका थिए।

विष्णुहरूलाई यी कुराको केही प्रवाह थिएन। उद्धेश्य केबल एक थियो, ‘जनताको सेवा गर्ने, जनताको जीवनस्तर उकास्ने। माओवादीले भने जस्तो न्याय र समानता सहितको समुन्नत राज्य निर्माण गर्ने।’ महान् पार्टीले लिएको लक्ष्य पुरा गर्नको लागि कसले के कति काम गर्‍यो? त्यो हिसाबकिताब जनताले नै राखेका होलान् । तर उनी भने आफूले पाएको जिम्मेवारी पुरा गर्ने धाउन्नमा छिन्।

‘राजनीति गुलाफ बिछ्याइको बाटोमा हिँड्नु होइन। खुकुरीको धारमा हिँड्नु हो। राजनीति गर्नु हिसाब राख्नु र पावरमा पुगिसकेपछि साँवा, व्याजसहित पोको पार्नु पनि होइन,’ पछिल्लो समय यस्ता भनाइ केवल खोक्रो आदर्श मात्र मानिन्छ। अब त राजनीति सबैभन्दा बढी मुनाफा लिन सकिने व्यवसाय हो। यही व्यवसायले चुडिएको चप्पल लगाएर शहर छिरेकालाई आलिसान महलमा बस्ने बनाइदियो। सुको रोटी खाएर चिल्ला कुरा गर्नेलाई पञ्चपरिकारयुक्त भोजन सेवन गरेर खस्रा कुरा गर्ने बनाइदियो। यस्तो अवस्थामा जनताले सरकार भएको अुनभूति गर्न पाउनु ‘आकासको फल आँखा तरि मर’ जस्तै हो।

जे होस् स्थानीय तहले सकेको गरे। जाने, बुझेको गरे। त्यसमा अर्घेलो गरिन्, विष्णुले। कोरोना भाइरसको माहामारीमा तमाम जोखिम मोलेर जनताको घर आँगनमा पुगी अस्ताएका आमा मनमा स्लाइन लगाइन्। हिउँदे सिरोटोले ओइलाएका पातसरि ओइलाएको गाउँले आशामा फनफनाउँदो बैंस आएसरी बसन्तको बहार ल्याउन घरघर पुगिन्। 

चीनको वुहानलाई इपीसेन्टर बनाएर संसारभर फैलिएको कोरोना भाइरस मानव संकटको इतिहासमा सबैभन्दा जटिलमध्येको एक हो। यसले निम्त्याएको संकट मानव जातिले कल्पना गरेभन्दा फरक छ। यसले मानवीय चक्रलाई उल्टो घुमाइदिएको छ। सुरूमा यो कसरी फैलन्छ भन्नेसम्म कसैलाई थाहा थिएन। जब वैज्ञानिले पत्ता लगाए त्यसबेला सत्य कुरा भन्दा बढी हल्ला फैलिरहेको थियो। हल्लाले नै त्रास सृर्जना गरेको थियो। यस्तो अवस्थामा सचेतना सबैभन्दा बढी जरूरी थियो। सत्य सूचनाको सम्प्रेषण नहुँदा फैलिएको हल्ला रोगभन्दा पनि खतरनाक हुन्थ्यो। त्यसैले सूचना संक्रमणबाट गाउँ बचाउन जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने नजिकका सरकारको ठूलो हात हुन्थ्यो। यो कुरालाई मध्यनगर गर्दै उनी गाउँगाउँमा हिँडेकी थिइन्।

भाइरसको प्रकृति, फैलावट, जोखिम, लकडाउनको समयमा घरबाहिर निस्कन नहुने, भीडभाड गर्न नहुने, घरबाहिर निस्कँदा मास्कको प्रयोग गर्नुपर्ने लगायतका सचेतना, भारत तथा तेस्रो मुलुक  र जिल्ला बाहिरबाट आएकालाई १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा बस्न राय दिनु उनको टोलीका मुख्य काम थियो।

 ‘निकै संवेदनशील अवस्था भएकोले कोराना बिरुद्धको सचेतना फैलाउन गाउँबस्तीमा पुग्यौं। हाम्रा बस्तीहरु यसै पनि असुरक्षित थिए। भारतसँगको खुला सीमाना र सम्पर्कले त्यहाँ रहेका दाजुभाइ यता आउने क्रम बढेको थियो,’ उनले बिएल नेपाली सेवासँगको कुराकानीमा भनिन्, ‘हाम्रो टोली उच्च सतर्कता अपनाउँदै गाउँ पुगेको थियो। जति सक्यो चाँडो गाउँलेलाई बुझाउनु र सुरक्षित बनाउनु थियो। जनताको घरदैलोमा पुगेर कोराना बिरुद्धको लडाइँमा अनुशासन काउम राख्दै साथ दिन आग्रह गर्नुथियो।’

 ‘गाउँलेमा बढेको त्रास र मुर्खता दुबै निस्तेज पार्ने गरि चलाइएको अभियान हरेक बिहानीले ल्याउने उज्यालोझैं आशाको दियो बाल्यो। शहर भन्दा गाउँमा कोरानाको जोखिम बढेको थियो। गाउँ बचेन भने शहर बाँच्न मुस्किल छ,’ उनले अभियानको सार्थकतालाई प्रष्ट पारिन्।

कोरोना माहामारीको सचेतना पछि उनले बनाएको ‘सुनौलो हजार दिनभित्रका महिलासँग उपाध्यक्ष’ कार्यक्रमलाई गाउँमा लिएर गइन्। मातृशिशु मृत्युदर घटाउन नेपालले ऐतिहासिक सफलता हासिल गरेपछि यो कार्यक्रमलाई निरन्तरता दिइएको हो। सन्तान जन्माउन लागेका महिलालाई खुसी दिलायो। सबै वडाका महिलाहरुलाई भेटेर उनले भरोसा दिइन्। त्यसबेला महिलाहरुमा देखिएको असिम सुखानुभुति उनले आफ्ना शब्दमा सुनाइन्।

‘हाम्रो ९ नम्बर वडाकी पम्फा बुढा नौ महिनाकी गर्भवती हुनुहुन्छ। उहाँ सुत्केरी हुने समय नजिकिँदै गर्दा पोषिलो खानेकुराको जोहो गर्न थाल्नुभएको थियो। नियमित स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गर्दै आउनुभएका उहाँ र अरू गर्भवतीहरुलाई गाउँपालिकाले पोषण प्याकेज दियो। उहाँले ‘गाउँमै बच्चा र आमालाई न्यानो कपडा दिने आउँदा साह्रै खुसी लागेको छ। अब सुत्केरी हुने सबैलाई स्वास्थ्य संस्थामा पुग्नको लागि भन्छु’ भन्दा अनुहार, गहना सिउरिएको जस्तो उज्यालो र हँसिलो थियो।’

‘लकडाउनको समयमा गाउँमा खाद्यान्न अभाव भइरहेको छ। त्यसमाथि गर्भवती महिलाले पोषिलो खानेकुरा पाउँदैनन्। प्रति गर्भवती १ क्यारेट अण्डा, ५ किलो चामल, १ लिटर तोरीको तेल, बच्चालाई न्यानो कपडा र ब्लांकेटको प्याकेज बनाइएको छ। नियमित स्वास्थ्य संस्थामा गर्भजाँच गर्ने, स्वास्थ्यकर्मीको सुझाव ग्रहण गर्ने र आफ्नो बच्चा र आफ्नो ज्यानको ख्याल राख्ने गर्भवती महिलालाई पहिलो चरणमा पोषिलो खानेकुरा प्रदान गरिएको हो,’ उनले थपिन्, ‘यतिबेला गाउँपालिकाका ५० जना गर्भवतीलाई कोसेली प्रदान गरियो। आगामी दिनमा पनि  गर्भवतीलाई स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गराउने वातावरण बनाउने उद्धेश्य हो। लकडाउनको समयमा सामाजिक ऐक्यवद्धता कायम गर्दै व्यक्तिगत दुरी बढाएर गर्भवतीलाई कोशेली दिन घरघर गएका थियौं।’

 ‘गर्भवती आमाका पिरमर्का, दुःख र बेदना आफ्नो ठाउँमा राखेर हेर्दा हरकोही भावकु बन्छ। चेतनाको अभाव र उपलब्ध खानपानलाई व्यवस्थित गर्न नसक्दा केही अलमल आएका छन्। पछिल्लो समय एनजिओ र आइएनजिओले गाउँले मेहिनत गरेर अन्न उत्पादन गर्ने ठाउँमा चामल पुगाएका छन्। सबैभन्दा ठूलो समस्या यही हो। यसले खानपान नै बिग्रिएको छ। परिणाम आमाहरु र भविष्यमाथि नै चुनौती आइलागेको छ। यसले पनि गाउँपालिकालाई यस्ता योजना बनाउन बाध्य पारेको हो,’ उनले भनिन्।  

जान्नैपर्ने अर्को मत्वपूर्ण पक्ष गर्भवती अवस्थामा कोरोना भाइरसबाट कसरी बच्न सकिन्छ भन्ने हो। यो विषयको सचेतना उत्तिकै आवश्यक रहेकाले स्वास्थ्य टोली पनि सँगै गएको थियो विष्णुले बताइन्। स्वास्थ्य सहजकर्ता थिइन् गाउँपालिकाकी स्वास्थ्य सहसंयोजक जानकी हितान। ‘गाउँपालिकाका घरमा सुत्केरी हुने दर शुन्यमा झार्न ‘सुनौलो हजार दिनभित्रका गर्भवतीसँग उपाध्यक्ष’ कार्यक्रम सञ्चालन गएिको हो । यसले जोखिम कम गर्ने र मातृ शिशुदर घटाउन टेवा पुग्नेछ ।’ उनले भनिन्।

प्रकाशित मिति: : 2020-05-12 14:15:00

प्रतिकृया दिनुहोस्