चीनको वुहानबाट विश्वव्यापी रूपमा फैलिएको कोभिड-१९ को सम्भावित संक्रमण रोक्न नेपाल सरकारले चैत ११ गतेदेखि मुलुक लकडाउन गरेको छ।
लकडाउका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउने मजदुर सबैभन्दा बढी पीडित छन्।
यस्तै म्यान्मारबाट विस्थापित भएका रोहिङ्ग्या शरणार्थीले थप पीडा भोग्नुपरिरहेको छ।
काठमाडौंको बूढानिलकण्ठ नगरपालिकास्थित लसुनटार र राममन्दिर क्षेत्रमा बसोबास गरिरहेका रोहिङ्ग्या मुस्लिम शरणार्थी अफिक आलमलाई लकडाउनपछि दैनिक गुजारा चलाउन समस्या परिरहेको छ।
विगतका दिनमा मित्री काम गरेर श्रीमतीसहित दुई सन्तानको छाक टार्दै आएका उनी अहिले बेरोजगार भएर घरमै बस्न बाध्य छन्।
गत चैत ११ गतेदेखि सरकारले गरेको लकडाउन ५० दिन पुगिसक्दा पनि खुल्ने कुनै छाटकाट छैन। महिनौंसम्म लकडाउन भएपछि उनी काम गर्न जान पाएका छैनन्। यस बिचमा नगरपालिकाले उनको परिवारलाई २ पटक राहत दिएको छ। पहिलो पटक १० केजी चामल पाएका उनले दोस्रो पटक एक बोरा चामल पाए।
तर दुई पटक वितरण गरेको राहतले यतिका दिनसम्म कसरी धान्ने भन्दै उनले चिन्ता व्यक्त गरे। ‘वडाले दिएको यति राहतले कति दिन खानु होला? तर वडा अध्यक्ष राजु अधिकारीले खाद्यान चाहिएमा सम्पर्क गर्नु भन्नु भएको छ,' उनले बिएल नेपाली सेवासँग भने।
लकडाउनले आफूलाई बेरोजगार बनाएपछि अहिले अरूसँग निर्भर रहन बाध्य भएको उनले बताए।
साधारण दिनहरूमा आत्मनिर्भर रहने उनी अहिले छर छिमेकीसँग सरसापट गरेर छाक टार्दै आएका छन्। ‘आफूसँग हुँदा अरूलाई दिइन्छ, अरूसँग हुँदा आफू लिइन्छ। हाम्रो समाजको वातावरण राम्रो रहेकै कारण अहिलेसम्म भोको पेट बस्नु परेको छैन’, उनले भने।
जस्तापाता र कपडाले बेरेर बनेको टहरामा बसिरहेका उनीसहितका रोहिङ्ग्या परिवारले यसपालीको रमदान केही खल्लो भयो। अघिल्लो साल खुसीयाली साटासाट गर्दै प्रार्थना गरेर मीठा परिकार खाएका उनीहरूले यसपाली राहतमा पाएको खानेकुराले रमदान मनाए।
'हामी समस्या पर्दा एकले अर्कोलाई हेर्दै आएका छौं। एकले अर्काको समस्या बुझ्दै आएका छौ। जारी लकडाउनका कारण भव्य रूपमा मनाउने रमदान पनि खल्लो भयो’, उनले भने।
विगतका दिनहरूमा पनि नेपाल सरकारले आफूहरूलाई हेर्दै आएको भन्दै उनले अहिलेको अवस्थामा पनि हेर्छ भन्ने आशा लिएको बताए। ‘नेपाल सरकारले अहिलेसम्म हामीलाई निराश बनाएको छैन्। आशा छ आउँदो दिनहरूमा पनि बनाउदैन्,’ उनले भने।
कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले लकडाउन गरे पनि आफूहरू अत्यान्त सचेत रहेको उनले जानकारी गराए।
'लकडाउनको समयमा समाजका कोही पनि मान्छेलाई जथाभावी हिँड्न दिएका छैनौं। सरकारले बनाएको नियमको पूर्ण पालना गरेर बसेका छौं। भाइरसबाट बच्न आफैं सतर्क हुनुपर्छ,' उनले भने।
चाँडै नै यसको रोकथाम भएर पहिलेजस्तै काममा जान पाइनेमा उनी विश्वस्त छन्।
म्यानमारको राकिने राज्यमा सन् २०१२ मा भड्किएको हिंसापछि रोहिङ्ग्या मुस्लिम शरणार्थीले देश छाडेका थिए। उनीहरु बङ्गलादेशको बाटो हुँदै भारतको जोगवनी नाका हुँदै विराटनगरबाट काठमाडौं प्रवेश गरेका हुन्।
भारतको बाटो हुँदै सन् २०१२ बाट नेपाल आइपुगेका रोहिङ्ग्या शरणार्थी कुनै सरकारी जमिनमा झुप्रो बनाएर बसेका भने छैनन् । उनीहरु व्यक्तिको जमिन भाडामा लिएर बसेका छन् । शिविरमा कतिपय पूर्वाधार पनि निर्माण भएका छन् ।
रोहिङ्ग्या मुस्लिम समुदायका मानिसहरुको बसोबास लगायत शिक्षा, स्वास्थ्य, खानेपानी आदि दैनिक जीवनयापनका लागि नेपालस्थित संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च स्तरीय आयोगले सहयोग गरी रहेको छ । यसका लागि आयोगले मासिक रुपमा केही रकम सहयोग उपलब्ध गराउने उनीहरु बताउछन् । आयोगबाट प्राप्त सहयोग बापतको रकमबाट उनीहरुले बालबच्चाको शिक्षा, स्वास्थ्य लगायत दैनिक उपभोग्य सामानहरुको खरिदमा खर्च गर्दछन् । अन्य कुनै निकायबाट नियमित सहयोग र्छन । कहिलेकाही नेपालमा रहेका विभिन्न मुस्लिम समुदायका संघ संस्थाहरुले खाद्य सामाग्रीहरु सहयोग स्वरुप उपलब्ध गराउछन् ।
लसुनटार र राममन्दिर क्षेत्रमा गरी रोहिङ्ग्या शरणार्थीका ३ शिविर छन् । शिविरमा १ सय १३ परिवारका झण्डै साढे ३ सय जनाको बसोबास छ । प्रत्येक शिविरमा कमाण्डरहरु छन् । जाफर मिया, मोहम्मद रफिक, नुर हाफिज, दिल मोहम्मद, मोहम्मद ऐहस, मलाजना जुवाई, रबिक आलम, जागिर हुसेन र सयोब हुसेन लसुनटार र राममन्दिर शिविरका नाइके हुन् ।