स्वास्थ्यकर्मी कोरोनाविरुद्धको युद्धका सिपाही हुन्: मुख्यमन्त्री शाही

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सबै कर्णालीबासी मिलेर कोराना भाइरसविरुद्धको युद्ध जित्नुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरानाविरुद्ध भइरहेको पूर्वतयारीको आइतबार अनुगमन गर्न जुम्ला पुगेका उनले लकडाउनको पूर्ण पालना गर्दै अभियानलाई सफल बनाउनुपर्ने पर्नेमा जोड दिए। 

हालसम्म कोरोना भाइरस (कोभिड –१९) को संक्रमण याे प्रदेशमा देखिएको छैन। नेपालमा कर्णाली मात्रै सेफ जोन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

‘यो एक प्रकारको युद्ध हो। जसमा स्वास्थ्यकर्मी अग्रमोर्चामा छन्। उनीहरु सिपाही हुन् । युद्धमा खटिने सिपाहीको मुल्यांकन उसको इमान्दारीता र बहादुरीतामा हुनेछ। यो युद्ध स्वास्थ्य सामग्री बिना लड्न सकिँदैन,’मुख्यमन्त्री शाहीले भने। 

उनले मुख्यमन्त्री मर्‍यो भने अर्को आउँछ, तर डाक्टर मर्नु हुदैन भन्दै डाक्टरको जीवनसँग धेरैको जीवन जोडिएको कुरामा जोड दिए। ‘स्वास्थ्य सामग्री लगायतको व्यवस्थापन कर्णाली सरकारले गर्छ। सबैभन्दा बढि सुरक्षित सिपाही मानिएका डाक्टर नै हुनुपर्छ,’मुख्यमन्त्री शाहीले भने। 

मजदुरहरुको अवस्थालाई ख्याल गरी प्रदेश सरकार केही लचिलो बनेको र भित्रिएका सबैको स्वास्थ्य परिक्षणमा जोड दिएको उनले बताए। ‘प्रदेश बाहिर कामका शिलशिलामा गएका मजदुरहरुले भौकै, नाङ्गै छौँ। आफ्नै घर अगाडि पुगेर मर्न चाहान्छौँ, भन्दै उद्धार गर्न आग्रह गरे,’ उनले भने, ‘त्यही अनुसार एक दुई दिन लचक बन्यौँ। कोही भारत देखि हिँडेर पनि गाउँमा पुगे। उनीहरुलाई घरघरमा होम क्वारेन्टाइनमा पठाइयो। त्यही भएर कर्णाली निकै जोखिम अवस्थाबाट गुज्रिरहेको छ।’ 

सरकारले प्रदेशका ७ सय १८ वडामा स्वास्थ्यकर्मी परिचालन भइसकेको, कम्तीमा एक वडाबाट १० जनाको स्वाब परिक्षण गर्नु भनेर निर्देशन दिएको, कर्णालीका २७ स्थानमा स्वास्थ्यकर्मी परिचालन गरिएको जानकारी दिएको छ।

कर्णालीमा स्वास्थ्यकर्मीले स्वाब संकलन गरेर परिक्षण गर्ने, जुन जिल्लामा देखियो त्यो जिल्ला सिल गर्ने, जुन पालिकामा देखियो त्यो पालिका लक गर्ने, जुन वडा तथा गाउँमा देखियो त्यो क्षेत्र पुर्णरुपमा बन्द गर्ने, कोराना संक्रमण नदेखिएको क्षेत्रमा लकडाउन खुकुलो गर्ने योजना प्रदेश सरकारको छ। योजना अनुरुप एक सातासम्म सबै जिल्लामा स्वास्थ्यकर्मी परिचालन गर्ने र स्वाब परिक्षणको काम सकाएर नतिजाका आधारमा लकडाउन खोल्ने या बन्द गर्ने जनाइएको छ।

मुख्यमन्त्रीसँगै जुम्ला पुगेका कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले कर्णालीलाई कोरानामुक्त बनाउन सामुहिक संकल्पको खाँचो भएको बताएका छन्। उनले हालसम्मको कोराना रोकथाम, नियन्त्रण र पूर्वतयारी निकै सन्तोषजनक रहेको बताए। मन्त्री रावलले कर्णाली प्रदेश सरकार, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्थानीय तह, स्थानीय प्रशासनले खेलेको भूमिका प्रशंसनीय रहेको बताए। 

‘कोराना भाइरस कर्णालीमा पनि अछुतो होस् भन्ने हो। यसका लागि सरकारले पुर्वतयारी गरिरहेको छ,’ उनले भने, ‘५० करोडको कोराना कोष स्थापना, क्वारेन्टाइन, आइसोलेसन र अस्पताल व्यवस्थापन कार्य गरिएको छ।’ 

प्रदेशले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली प्रदेश अस्पताल र सामुदायिक अस्पताल चौरजहारीलाई हबका रुपमा अघि बढाएको छ। यी अस्पतालाई आवश्यक बजेटको व्यवस्था यस अघि नै गरिसिएको छ।

‘पैसाले मात्रा कोराना जितिने रहेनछ। संरचना र उपकरणले मात्र पनि नियन्त्रण नहुँदो रहेछ कोराना संक्रमण फैलन नदिन त नागरिकमा अनुशासन चाँहिदोरहेछ,’ मन्त्री रावले भने, ‘प्रतिष्ठानको भूमिका महत्त्पूर्ण छ। चिकित्सकको भूमिका अविस्मरणीय हुनेछ। कर्णालीका १८ लाखको स्वास्थ्य सुरक्षाको जिम्मा स्वास्थ्यकर्मीको हातमा छ।’ 

प्रतिष्ठानका रेक्टर डा. निरेश थापाले प्रतिष्ठानले दश हजार जनाको कोरोना परिक्षण एक हप्तामा गर्ने बताए। ‘कोराना रोकथामका लागि ५ जनाको ‘कास कोभिड टास्कफोर्स’ निर्माण गरिएको छ,’ उनले भने, ‘साधन स्रोतको उपलब्धतामा हामी कर्णालीमा नमुना काम गर्न सक्नेछौं।’

प्रकाशित मिति: : 2020-05-10 18:05:48

प्रतिकृया दिनुहोस्